काठमाडौँ । कानुनविपरीतका सामग्री २४ घण्टाभित्र हटाउनुपर्ने व्यवस्था समेटेर सरकारले सामाजिक सञ्जाल निर्देशिका पारित गरेको छ । फेसबुक, एक्स, टिकटक, इन्स्टाग्राम, युट्युबलगायतका सामाजिक सञ्जाल प्लाटफर्म र प्रयोगकर्तासँग सम्बन्धित विभिन्न पक्षलाई सम्बोधन गर्दै मन्त्रिपरिषद्ले बिहीबार सामाजिक सञ्जालसम्बन्धी निर्देशिका, २०८० पारित गरेको हो ।
निर्देशिकाअनुसार सञ्जाल सञ्चालकले कानुनविपरीत सामग्री प्रकाशन वा प्रसारण भएको गुनासो प्राप्त भएमा त्यसको पहिचान र यकिन गरी उक्त सामग्री २४ घण्टाभित्र हटाउने व्यवस्था गर्नुपर्ने प्रावधान राखिएको छ ।
त्यसैगरी, नेपालमा सञ्चालन हुने सामाजिक सञ्जाल प्लाटफर्महरू सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण हुनुपर्ने व्यवस्था पनि राखिएको छ । सूचीकृत नभएका प्लाटफर्मलाई जुनसुकै बेला बन्द गरिने, सामाजिक सञ्जाल व्यवस्थापन इकाइले निर्देशन दिएका सामग्री तत्काल हटाउनुपर्नेजस्ता प्रावधान निर्देशिकामा छन् ।
‘निर्देशिका जारी भएको ३ महिनाभित्र नेपालमा कार्यालय नभएका प्लाटफर्म सञ्चालकले नेपालभित्र सम्पर्क बिन्दुको व्यवस्था गर्नुपर्ने,’ निर्देशिकमा भनिएको छ, ‘सामाजिक सञ्जाल प्रयोगका क्रममा आएका गुनासाको सम्बोधनको यथोचित व्यवस्था गर्ने ।’
सामाजिक सञ्जाल प्लाटफर्मबाट हुने कारोबारको भुक्तानी बैंकिङ प्रणालीबाट गर्नुपर्ने पनि निर्देशिकामा भनिएको छ । सूचीकृत सामाजिक सञ्जाल प्लाटफर्म सञ्चालन गर्ने व्यक्ति वा संस्थाले प्रत्येक तीन वर्षमा इजाजतपत्रको नवीकरण गराउनुपर्ने व्यवस्थासमेत निर्देशिकामा छ । त्यस्तै, सामाजिक सञ्जालका विषयमा प्राप्त गुनासोका सम्बन्धमा कार्य गर्न सञ्चार मन्त्रालयमा सामाजिक सञ्जाल व्यवस्थापन इकाइ स्थापना गर्ने, निर्देशिकाविपरीत प्रकाशित वा प्रसारित सामग्री हटाउन सम्बन्धित प्लाटफर्म सञ्चालक वा सोको सम्पर्क बिन्दुलाई ४८ घण्टाभित्र लेखी पठाउनेजस्ता प्रावधान पनि निर्देशिकामा समेटिएका छन् ।
नेपालभित्र सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लाटफर्मलाई प्रयोगकर्ता संख्याका आधारमा दुई वर्गमा बाँडिएको छ । एक लाखभन्दा बढी प्रयोगकर्ता भएकालाई ठूला सामाजिक सञ्जाल प्लाटफर्म र सोभन्दा कम प्रयोगकर्ता भएका सामाजिक सञ्जाल प्लाटफर्मलाई साना सामाजिक सञ्जाल प्लाटफर्म मानिने निर्देशिकामा उल्लेख छ ।
निर्देशिकाले सामाजिक सञ्जाल प्रयोगकर्तालाई समेत नियमनको दायरामा ल्याएको छ । निर्देशिकाअनुसार फेक आईडी सिर्जना गर्न पाइने छैन । फेक आईडीमार्फत कन्टेन्ट उत्पादन गरी सेयर वा अरूको विषयवस्तु सेयर वा अरूको पोस्टमा कमेन्ट समेत गर्न मिल्दैन ।
सार्वजनिक प्रकृतिकाबाहेक निजी मामिलाका फोटो, भिडियो अनुमतिबिना खिचेर प्रकाशन र प्रसारण गर्न नमिल्ने, अश्लील शब्द, तस्बिर, भिडियो एनिमेसन प्रसारण, प्रकाशन र टिप्पणी गर्न नमिल्ने व्यवस्था पनि गरिएको छ ।