नारायणीमा नयाँ पम्प जडानले सिँचाइ गर्न सहज

नारायणीमा नयाँ पम्प जडानले सिँचाइ गर्न सहज

  • शुक्रबार, साउन ५, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

चितवनको भरतपुर महानगरपालिका–१ स्थित नारायणी लिफ्ट सिँचाइ प्रणालीको पम्पहाउस ‘ए’ मा नयाँ पम्प जडान भएसँगै बिहीबारदेखि नहरमा पानी छाडिएको छ । साउन लागिसक्दा पनि धान रोप्न नपाएर किसान पानी छाडेपछि हर्षित भएका छन् ।

बिहीबार बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले नयाँ पम्पको उद्घाटन र पानी छाड्ने कार्यक्रमको शुभारम्भ गर्नुभयो । सो अवसरमा बोल्दै मन्त्री जोशीले किसानलाई समयमै पानी उपलब्ध गराउन ढिलाइ भएको बताउनुभयो । उहाँले सरकारी काममा ढिलासुस्ती हुने गरेको भन्दै अब कुनै पनि बाहानामा ढिलासुस्तीलाई छुट नहुने बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका सांसद जेएन थपलियाले सांसद नारायणी लिफ्ट सिँचाइ प्रणाली पुरानो र खर्चिलो भएको भन्दै यसको विकल्प खोज्नुपर्ने बताउनुभयो । उहाँले सबै तहका सरकारको समन्वयमा नारायणी लिफ्ट सिँचाइ नयाँ पम्प जडान गरिएको जानकारी दिनुभयो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले निर्माण कम्पनीको ढिलासुस्तीका कारण पम्प फेर्न चार वर्ष लागेको बताउनुभयो । उहाँले नारायणी लिफ्टलाई बाह्रै महिना सञ्चालनका लागि तयारी गरिएको जानकारी दिनुभयो । “नारायणी नदी र राप्ती नदीमा यति धेरै पानी बगेर खेर गएको छ”, प्रमुख दाहालले भन्नुभयो, “यसको उपयोग गर्न हिउँदमा पनि सञ्चालन गर्ने तयारी गरेका छौँ ।”

महानगरपालिकाले पश्चिम चितवनको सात हजार बिघामा सिँचाइ उपलब्ध गराएको भन्दै भूमिगत जलस्रोत सिँचाइ कार्यालयमार्फत सयौँ स्यालो र डिप बोरिङ जडान गरिएको उहाँले जानकारी दिनुभयो । महानगरपालिकाले सङ्घ र प्रदेश सरकारसँग समन्वय गरेर सिँचाइका काम गरिरहेको बताउनुभयो ।

नारायणी लिफ्टमा रु २६ करोड ३२ लाख ४३ हजार एक सय ५१ को लागतमा यहाँ दुईवटा नयाँ पम्प जडान गरिएको हो । पम्पहाउस ‘ए’ मा रहेका ४० वर्ष पुराना पम्प फेरिएको छ । यो सिँचाइमार्फत भरतपुरको फूलबारी, केसरबाग, तोरीखेत, शिवनगर, लङ्कु, लक्ष्मीपुर, कल्याणपुर, शरदपुर, गौरीगन्ज, बसेनीलगायतका क्षेत्रमा सिँचाइका लागि लिफ्टबाट पानी वितरण गर्ने गरिन्छ ।

भारतीय निर्माण कम्पनी डब्लुपीआइएल लिमिटेड कोलकाताले पम्प निर्माणको काम गरेको हो । नारायणी लिफ्ट सिँचाइ प्रणालीका अध्यक्ष पूर्णबहादुर रानाभाटले ढिलै भए पनि पानी छाडेपछि किसानले राहत महसुस गरेको बताउनुभयो । विगतमा करिब पाँच हजार हेक्टर जमिनलाई सिँचाइ गर्दै आएको नारायणी लिफ्ट सिँचाइ प्रणालीले अहिले करिब ५० प्रतिशत क्षेत्रमात्रै सिँचाइ गर्ने गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी