मुस्ताङी स्वादिलो स्याउ बजारमा आँउदै

मुस्ताङी स्वादिलो स्याउ बजारमा आँउदै

  • बिहिबार, भदौ १६, २०७९
  • मिर्मिरे अनलाइन

  • 13.8K
    SHARES

गण्डकी, १६ भदौ । पोखराको बजारमा मुस्ताङी स्याउ बेग्लै पहिचानजस्तै बनेको छ । बजारमा आएसँगै मुस्ताङको स्याउ अधिकांशको रोजाइमा पर्दछ । मुस्ताङी स्याउको मुख्य बजार पोखरा नै भएको लामो समयदेखि मुस्ताङमा स्याउको व्यावसायिक खेती गर्दै आउनुभएका दीपक लालचनले जानकारी दिनुभयो ।

उहाँका अनुसार मुस्ताङमा उत्पादित स्याउमध्ये झण्डै ९० प्रतिशत पोखरामा नै खपत हुने गरेको छ । पोखराका अतिरिक्त काठमाडौँसहित देशका अन्य मुख्य बजारमा पनि यहाँको स्याउ पुग्ने गरेको उहाँले बताउनुभयो ।

पछिल्ला वर्षमा मुस्ताङमा स्याउको व्यावसायिक खेतीतर्फ कृषक आकर्षित हुँदै गएका छन् । परम्परागत हुँदै आएको स्याउखेतीसँगै नवीनतम प्रविधिमा आधारित हाइडेन्सिटी स्याउ बगैँचा कार्यक्रमले पनि यसतर्फ आकर्षण बढाएको हो ।

मुस्ताङ जिल्लाको मुख्य फलफूल खेतीका रूपमा स्याउ रहे पनि यसको व्यावसायिक खेती भने विसं २०२२ पछि मात्र सुरु भएकोे पाइन्छ । विसं २०२२ मा तत्कालीन कृषि मन्त्रालय, फल उद्यान विभागले भारतीय राजदूतावासको सहयोगमा भारतको काश्मीरबाट स्याउका बिरुवा ल्याएर मुस्ताङमा वितरण गरिएको थियो । स्थानीयवासीका अनुसार तत्कालीन समयमा प्रत्येक घरमा स्याउका तीन÷तीन बेर्ना बाँडिएको थियो ।

त्यसयता बढ्दै गएको स्याउको व्यावसायिक खेतीको विस्तारले गति लिएको थियो । क्रमशः यसतर्फ आकर्षित बन्दै गएका स्थानीयवासीले स्याउको व्यापारसँगै २०३६ सालयता स्याउको रक्सीसमेत बनाउन थालेका थिए । पछिल्ला वर्षमा मुक्तिनाथको दर्शन भ्रमण तथा कोरोला नाकासम्मको यात्रामा निस्कने जो कोहीले मुस्ताङको कोसेलीका रूपमा स्याउ लिएर फर्कने गरेका छन् ।

पछिल्लो समयमा बढ्दै गएको तापक्रमले मुस्ताङका उपल्ला भूभागतर्फ यसको खेती बढ्दै गएको यहाँका स्थानीयवासी बताउँछन् । मुस्ताङको स्याउ खेतीलाई राज्यले पनि प्राथमिकतामा राखेको छ । जिल्लामा अघिल्लो वर्ष कूल एक हजार दुई सय हेक्टर क्षेत्रफलमा पाँच हजार पाँच मेट्रिक टन स्याउ फलेको कृषि ज्ञानकेन्द्र मुस्ताङका प्राविधिक सहायक दिलीप नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार मुख्यतः यहाँका टुकुचे, मार्फा, जोमसोम, ठिनी, खिङ्गा, छुसाङ, कागबेनीलगायतका स्थानमा स्याउको व्यावसायिक खेती भइरहेको छ । विशेषतः मुस्ताङमा स्थानीय प्रजातिका साथै फुजी, गाला, गोल्डेन आदि स्याउ लगाउने गरिएको छ ।

नेपालीका अनुसार स्थानीय जातको स्याउले लगाएको सातरआठ वर्षमा मात्र फल दिने गर्दछ भने हाइडेन्सिटी प्रविधिबाट लगाइएको बिरुवाले दुई तीन वर्षपछि नै फल दिने गर्दछ । सामान्यतः स्याउ चैतरवैशाखमा फुल्ने, जेठमा बतिला लाग्ने गर्दछ भने भदौको दोस्रो सातापछि पाक्ने र बजारमा जाने क्रम सुरु हुन्छ । यस वर्ष बजारमा लैजानका लागि केन्द्रले भदौ २५ पछिको समय निर्धारण गरेको उहाँले जानकारी दिनुभयो ।

मुस्ताङको स्याउको बढ्दो मागसँगै सुरुमा नै बगैँचा नै ठेक्का लिने प्रचलन बढ्दै गएको यहाँका स्थानीयवासी बताउँछन् । पछिल्ला वर्षमा स्याउको व्यावसायिक खेतीमा स्थानीयवासीको सामूहिक प्रयास पनि रहेको छ । पुरानो मार्फामा धमाङ कृषक समूहमार्फत सङ्गठित बन्दै १७ घरकुरियाले सामूहिकरूपमा स्याउखेती गर्दै आएको समूहका सचिव दीपक लालचनले जानकारी दिनुभयो । उक्त समूहले बर्सेनि रु डेढदेखि दुई करोडसम्मको स्याउको व्यापार गर्ने गरेको उहाँले बताउनुभयो ।

यस वर्ष स्याउको उत्पादन विगतको भन्दा राम्रो भएको भन्दै उहाँले भदौ २५ पछि पोखरासहित देशका मुख्य बजार क्षेत्रमा यहाँको स्याउ पुग्ने बताउनुभयो । लगत्तै आउने सोह्र श्राद्ध, दशैँ आदिका चाडपर्वका कारण मुस्ताङमा पर्यटकको आगमन बढ्ने भएकाले यहीँबाट पनि स्याउको राम्रो व्यापार हुने स्थानीयवासी बताउँछन् ।

तापमान वृद्धिका कारण स्याउमा विभिन्न रोग लाग्ने क्रम बढे पनि कृषक पनि उत्तिकै सचेत बन्न थालेको लालचनले बताउनुभयो । बढ्दै गएको प्रविधिको प्रयोगका कारण घरमा नै बसेर लाग्न सक्ने रोग, रोकथामका उपाय आदिबारे मोबाइलबाटै पनि धेरैले जानकारी लिने गरेको उहाँले बताउनुभयो ।

समयको परिवर्तनसँगै करिब डेढ दशकअघिसम्म समुद्री सतहबाट तीन हजार मिटर उचाइभन्दा माथि स्याउ नफल्ने गरेकामा अहिले भने झण्डै तीन हजार आठ सय मिटर उचाइको क्षेत्रसम्म स्याउ फल्न थालेपछि उपल्ला भूभागमा स्याउ खेतीतर्फ आकर्षण बढ्दै गएको छ ।

मुस्ताङमा स्याउको थोक मूल्य प्रतिकेजी रु ८०- ९० सम्म पर्ने गरे पनि पोखरामा एक सय ५० भन्दा माथि पर्ने गरेको छ । मुस्ताङको स्याउ अन्यभन्दा स्वादिलो हुने भएकाले पनि पोखरामा यसको माग बढ्दो रहेको पोखरामा स्याउको व्यापार गर्दै आउनुभएका रविचन्द्र घिमिरेले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी