हेटौंडा, ८ असार । युरिया मल उत्पादनको सम्भाव्यता अध्ययन गर्न बागमती प्रदेश सरकार र काठमाडौँ विश्वविद्यालयबीच सम्झौता भएको छ ।
प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मल कारखाना स्थापनाको सम्भाव्यता अध्ययन गर्न बुधबार काठमाडौं विश्वविद्यालयसँग सम्झौता गरेको हो।
प्रदेशको कृषि तथा पशुपन्छी विकासमन्त्री बसुन्धरा हुमागाईं र विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले सम्झौतामा हस्ताक्षर गरेका छन्।
पशुपन्छी विकास मन्त्री वसुन्धरा हुमागाईं र विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले युरिया मल उत्पादनसम्बन्धी सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन निर्माण गर्ने सम्झौतामा हस्ताक्षर गर्नुभएको सो मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले छ महिनाभित्र सम्भाव्यता अध्ययन सकिने गरी भएको सो सम्झौताका आधारमा युरिया मल कारखाना खोल्ने प्रक्रिया अगाडि बढाउने मन्त्री हुमागाईंले जानकरी दिनुभयो ।

त्यस्तै, ग्रीन हाइट्रोजन उपयोग गर्दै रासायनिक युरिया मल उत्पादन गरिने उपकुलपति थापाले बताउनुभयो । कारखाना सञ्चालन गर्न सके प्रतिवर्ष २ लाख मेट्रिक टन मल उत्पादन हुने जनाइएको छ ।
प्रदेश सरकारले यसअघि पनि मल कारखाना स्थापनाका लागि पहल गर्दै आएको थियो। मल कारखाना स्थापना गर्न थाइल्याण्डको निजी कम्पनीको टोलीले प्रदेशका विभिन्न स्थानको स्थलगत अनुगमनसमेत गरेको थियो। उक्त कम्पनीले कारखाना स्थापना गर्न प्रदेश सरकारले निःशुल्क विद्युत उपलब्ध गराउनुपर्ने लगायत माग राखेको थियो।
तर उक्त कार्य अगाडि बढ्न नसकेपछि प्रदेश सरकारले आफैँले मल कारखाना स्थापना गर्न सम्भाव्यता अध्ययन गर्न लागेको हो।
कारखाना निर्माणका लागि ६० देखि ८० अर्ब लाग्ने अनुमान गरिएको छ ।
