काठमाडौं, ४ जेठ । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले बजेट ल्याउँदा संविधानमा उल्लेख भएको राज्यको निर्देशक सिद्धान्त तथा दायित्वलाई अवलम्बन गरेर बजेट ल्याउनुपर्नेमा जोड दिएका छन् ।
संसदमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिँदै खनालले गठबन्धनको सरकारले बजेट ल्याउँदा निर्देशक सिद्धान्तलाई ध्यान दिन जरुरी रहेको बताए ।
भूमि सुधार र कृषिको विकासका विषयलाई पनि प्राथमिकता दिनुपर्नेमा खनालको जोड थियो ।
कृषि उपजको समर्थन मूल्य तोक्न र हरेक पालिकामा कृषि बजार निर्माण गर्न माग गर्दै उनले भने, ‘कृषि अनुसन्धानका कुरा पनि समेट्नुपर्छ।’ कृषकले उत्पादन गरेका कृषि उपजको समर्थन मूल्य तोक्नुपर्ने उनले माग गरे। हरेक पालिकामा कृषि बजार निर्माण हुनुपर्ने उनको भनाइ छ।
राज्यले भूमिका नखेल्दासम्म देशले विकास नगर्ने नेता खनालले दुइ छिमेकी देशको सन्तुलन राम्रो बनाउनुपर्ने बताए ।