हालको समयमा बागमती प्रदेशका केही जिल्लाहरुमा बर्ड फ्लु रोगको प्रकोप देखिएको छ । यस रोग लागेमा पन्छीहरुमा निम्नानुसारका लक्षणहरु देखिन्छ ।
बर्ड फ्लु रोगका लक्षणहरुः
- एक्कासी धेरै पन्छी (कुखुरा / टर्की / हाँस लगायत अन्य) विरामी हुने र मर्ने,
- दानापानी नखाने र बढि तिर्खाउने,
- श्वास प्रश्वासमा समस्या आउने (छिँक्ने, घ्यार घ्यार गर्ने, सिंगान निकाल्ने)
- आँखा, नाक र मुखबाट बाक्लो तरल पदार्थ बग्ने,
- हरियो रंगको छेर्ने, पक्षघात हुने,
- टाउको सुन्निने र सिउर तथा लोती निलो हुने,
- खुट्टा सुन्निने र खुट्टाको छाला मुनि, तिघ्रा तथा छातीको मासुमा रगतका टाटा देखिने,
- अण्डा उत्पादन घट्ने तथा बोक्रा पातलो हुने आदि ।
यस रोग लागेमा निम्नानुसारका जैविक सुरक्षाका उपायहरु अपनाउनु पर्छ ।
जैविक सुरक्षाका उपायहरुः
- घरमा पालेको कुखुरा, हाँस, टर्की तथा अन्य पन्छीहरुलाई जङ्गली चराहरुबाट हुने लसपस देखि जोगाउने तथा हाँस र कुखुराहरुलाई छुट्टाछुट्टै खोरमा पाल्ने साथै एकै ठाँउमा चर्न नदिने ।
- बिरामी पन्छीहरुलाई तुरुन्त अलग राखी अन्य पन्छीहरुसँग लसपस हुन नदिने।
- खोर तथा फार्मको नियमित रुपमा सफाई र निःसंक्रमण गर्ने ।
- पन्छी तथा पन्छीजन्य पदार्थको ढुवानी साधनहरु निःसंक्रमण गर्ने ।
- पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपोसार गर्दा अनिर्वाय रुपमा स्वास्थ्य परीक्षण गराई स्वस्थ पन्छी तथा पन्छीजन्य पदार्थको भेटेरिनरी प्रमाणपत्र लिई मात्र ओसारपोसार गर्ने ।
- बजारमा बेच्न लागिएका पन्छी सकेसम्म फिर्ता नल्याउने र ल्याउनै परेमा बथानमा नमिसाई अलग राख्ने ।
- पन्छीफार्महरुमा बाह्य आगन्तुकहरुको अनावश्यक आवतजावतलाई कम गर्ने ।
- खोरभित्र पस्दा र निस्किँदा साबुन पानीले राम्ररी हात/गोडा धुने।
- मरेका पन्छीहरु, सुली र प्वाँख आदि सुरक्षित रुपमा गहिरो खाल्टो खनी गाड्ने।
- बर्ड फ्लु सङ्क्रमित क्षेत्रहरुबाट जीवित पन्छी र पन्छीजन्य पदार्थ जस्तैः अप्रशोधित मासु, अण्डा, प्वाँख जस्ता बर्ड फ्लु सार्न सक्ने वस्तुहरु आयात गर्नु नहुने ।
- भरपर्दो र सुरक्षित स्रोतबाट मात्र चल्ला, दाना र अन्य उत्पादन सामाग्रीहरु भित्र्याउने ।
आफ्नो टोल छिमेकमा कुखुरा तथा अन्य पन्छीहरु अस्वभाविक रुपमा मरेमा वा कुनै पन्छीपालन फार्म वा बिक्रिस्थलमा अस्वाभाविक रुपमा पन्छी बिरामी परेमा रोग सम्बन्धी प्राविधिक सर सल्लाह लिन र थप कुनै जानकारी आवश्यक परेमा सम्बन्धित स्थानीय तहको पशु सेवा शाखा, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र(ललितपुर, सिन्धुली, धादिङ्ग, मकवानपुर, चितवन, काभ्रे, दोलखा र नुवाकोट), पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, हेटौंडा वा यस मन्त्रालयमा सम्पर्क गर्नु हुन अनुरोध छ ।

बागमती प्रदेश सरकार
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
हेटौंडा, नेपाल