काठमाडौं, २ चैत । बैंक अफ काठमाण्डू लिमिटेडले निष्कासन गर्न लागेको १ अर्ब १० करोड रुपैयाँको ‘बीओके डिबेन्चर २०८६ (क)’ ऋणपत्रको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड नियुक्त गरेको छ।
यससम्बन्धी सम्झौतापत्रमा बैंक अफ काठमाण्डूका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रवणलाल मास्के र एनआईबिएल एस क्यापिटलका तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुंगानाले आज हस्ताक्षर गरेका छन्।
बैंकले १ हजार अंकित दरको कुल ११ लाख इकाइ भएको उक्त ऋणपत्र बिक्री गदैछ । उक्त ऋणपत्रको अवधि ७ वर्ष रहेको र ब्याजदर १०.५० प्रतिशत रहेको छ।
काठमाण्डौको कमलपोखरीस्थित मुख्य कार्यालय रहेका बैंक अफ काठमाण्डू कम्पनी ऐन बमोजिम नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीका रुपमा दर्ता भएको हो।
बैंक तत्कालीन बैंक अफ काठमाण्डू तथा लुम्बिनी बैंक एकआपसमा गाभिई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ अनुसार २०७३ असार २४ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न स्वीकृति प्राप्त गरी “क” वर्गको वित्तीय संस्थाको हैसियतले बैंकिङ कारोवार सञ्चालन गर्दै आएको छ।
बैंकले ९९ शाखा, ८७ एटीएम र १० एक्सटेन्सन काउन्टरमार्फत ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको छ।