बर्ड फ्लु नियन्त्रणको लागि सर्वोत्तम उपाय जैविक सुरक्षा

बर्ड फ्लु नियन्त्रणको लागि सर्वोत्तम उपाय जैविक सुरक्षा

  • सोमवार, फाल्गुन ९, २०७८
  • -बासुदेव नाथ

  • 27.7K
    SHARES

. वर्ड फ्लु (Bird Flu ) : यसलाई Avian Influenza ,  Avian Flu तथा Highly Pathogenic Avian Influenza – HPAIको नामले चिनिन्छ । यो रोगका विभिन्न प्रजातिहरु मध्ये H5N1/ H7N7 बढी संक्रामक मानिन्छ । यो रोग कुखुरा, हांस, टर्की र जंगली चराचुरुङ्गीमा भाईरसबाट लाग्ने अति संक्रामक जुनोटिक रोग हो । यो रोग नेपालमा पहिलो पटक २०६५ साल माघ २गते झापा जिल्लाको मेचीनगर नगरपालिका वडा नं १० मा आउटब्रेक भएको पुष्टि भएको थियो । यो रोग ततपश्चात पटक पटक देखा परेको र हालसालै  ( मिति २०७८/१०/२५ गते ) मोरङ जिल्लाको ग्रामथान गाउँपालिका वडा नं. १ र बुढीगंगा गाउपालिका वडा नं. ५ मा फैलिएको पुष्टि भएको छ, भने मिति २०७८/११/१ गतेको नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रेस विज्ञप्ति अनुसार बागमती प्रदेशको काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं. ३ बालुवा र चितवन जिल्लाको राप्ती नगरपालिका वडा नं. ६ का कृषकहरुले पालेका कुखुराहरुको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा  रियल टाइम पिसिआर विधिबाट परीक्षण गर्दा बर्ड फ्लु (HPAI, H5N1) पुष्टि भएको जनाएको छ ।

सबैभन्दा पहिला यो रोग सन १९७८ मा पन्छीमा र सन १९९७मा मानिसमा देखापरेको थियो । नेपालमा यस रोगबाट मिति २०७५/१२/१५ गते श्वासप्रस्वासमा समस्या देखापरी एक जना २१ वर्षीय किसोरको मृत्यु भएको थियो ।

. पन्छीमा देखापर्ने मुख्य लक्षणहरु :

  • धेरै कुखुरा एकै पटक मर्ने ।
  • स्वास प्रस्वास सम्बन्धी गम्भीर लक्षण देखा पर्ने ।
  • टाउको सुनिनु ।
  • सिउर र लोती निलो हनु ।
  • हरियो छेर्ने ।
  • खुट्टाको भुत्ला नभएको भागमा रक्तश्राव भै रातो वा वैजनी रंगको देखिनु ।
  • लेयर्स कुखुराको फूल उत्पादन एक्कासी घट्ने ।
  • गिलो र पातलो बोक्रा भएको फूल पार्ने।
  • पानी धेरै पिउन खोज्ने ।
  • नाक मुखबाट सिगान र र्‍याल बग्ने ।

. मानिसमा देखापर्ने मुख्य लक्षणहरु :

  • ज्वरो आउने,टाउको दुख्ने, घांटी दुख्ने, सुख्खा खोकी लाग्ने, जीउ दुख्ने, थकाई लाग्ने, श्वसाप्रश्वासमा कठिनाई हुने, दिसा पातलो हुने, निमोनिया हुने ।

. उपचार : यसको उपचार प्रभावकारी छैन ।

.  रोग नियन्त्रणमा जैविक सुरक्षा  :

जैविक सुरक्षा (Biosecurity) भन्नाले जीवनको रक्षा गर्नुलाई जनाउदछ । जैविक सुरक्षामा रोगका कारक तत्वहरुलाई पन्छीबाट र पन्छीहरुलाई रोगका कारक तत्वहरुबाट टाढा राख्न गरिने व्यवस्थापनलाई जनाउदछ ।पशुपन्छीहरुलाई रोगबाट जोगाउने तथा नियन्त्रण गर्नको लागि अपनाइने सर्वोत्तम उपाय नै जैविक सुरक्षा हो ।जैविक सुरक्षामा पन्छीलाई अलग राख्ने, ओसार पसार तथा आवतजावतमा नियन्त्रण गर्ने र सरसफाईमा ध्यान दिनु नै मुख्य कार्य हुन । यसको लागि शुन्य लगानीमा कार्य गर्न सकिन्छ ।यसको लागि निम्न लिखित कुराहरु अवलम्वन गर्नु पर्दछ ।जस्तै:

  • कुखुरा फार्ममा खोप तालिका राख्ने र सोही अनुसार नियमित रुपमा खोप लगाउने र अभिलेख राख्ने।
  • फार्म भौगोलिक दृष्टिकोणबाट उपयुक्त हुने ठाउँ रोग निवारण गर्न सकिने गरी घनावस्ति भन्दा टाढा हुनु पर्छ ।खोरमा हावाको वहने दिशालाई समेत दृष्टिगत गरिएको हुनु पर्छ । वातावरणीय हिसाबबाट उपयुक्त हुने स्थानमा खोर बनाउनु पर्छ ।
  • फार्म फेन्सिङ भएको हुनु पर्ने र भित्र जाने गेटमा “भित्र पस्न सख्त मनाही छ” भनी लेखिएको हुनु पर्छ ।
  • फार्म परिसरको मुख्य प्रवेशद्वार एउटा मात्रै हुनु पर्नेछ र बाहिर निस्कन अर्को ढोका पछाडि राख्ने व्यवस्था मिलाउनु पर्छ ।
  • फार्मको गेटमा पालेको व्यवस्था हुनु पर्छ ।
  • फार्म परिसर भित्र मुसा र किरा नियन्त्रण सम्बन्धी व्यवस्था गरिएको हुनु पर्नेछ । पोल्ट्री दाना र अण्डा राख्ने कोठामा जंगली जनावर, चरा तथा अन्य जनावर पस्न नसक्ने हुनु पर्छ ।
  • फार्ममा चल्ला उत्पादन गर्ने माउ स्वीकृति लिएको जातको मात्र राख्नु पर्छ ।
  • एउटा पोल्ट्री समूहलाई (Age Group) अर्को समूहसंग मिसाउनु हुदैन ।
  • दाना र अण्डा राख्ने घर सफा र नि:संक्रमण गर्न सकिने खालको हुनु पर्छ ।
  • आगन्तुकले फार्म भित्र जानु पर्दा अनुमति लिएर मात्र जान पाउने व्यवस्था मिलाउनु पर्छ ।
  • प्रत्येक पोल्ट्री फार्म भित्र आगन्तुक र कर्मचारीलाई कपडा बदल्ने कोठा र स्नान कक्षको व्यवस्था हुनु पर्छ ।
  • फार्ममा आगन्तुकहरुको पूर्ण विवरण सहितको अभिलेख राख्ने गर्नु पर्छ।
  • प्रत्येक खोरमा रोग नियन्त्रणकालागि All – in ,all –out को सिद्धान्त अपनाउनु पर्छ ।
  • एक पटक राखिएका कुखुरा हटाएपछि कुखुराको सोत्तर पूर्णरुपले हटाउनु पर्छ ।तत्पश्चात सफा गरी नि:संक्रमण गर्ने व्यवस्था गर्नु पर्छ। जिवाणु विषाणु ढुसी भए नभएको बारे समय समयमा अधिकारिक प्रयोगशालाबाट प्रमाणित गर्नु पर्छ ।
  • फार्ममा पूर्ण स्वस्थ्य तथा रोग प्रतिरोधात्मक उपाय अपनाएको ह्याचरीबाट उत्पादित चल्ला मात्र राख्नु पर्नेछ ।साथै उक्त ह्याचरी साल्मोनेला रोगबाट मुक्त भएको आधिकारिक निकायबाट प्रमाणित गरिएको हुनु पर्छ ।
  • दाना सफा र सुरक्षित ठाउँमा भण्डारण गरिएको हुनु पर्छ ।दानामा पनि साल्मोनेला भए नभएको समय समयमा आधिकारिक निकायबाट परीक्षण गरी राखेको प्रमाण राख्नु पर्छ ।
  • फार्ममा प्रयोग गरिने पानी पिउन योग्य हुनु पर्छ ।
  • बिरामी र मरेको कुखुरालाई खोरबाट तुरुन्तै हटाउने र रोग नफैलिने किसिमले नष्ट गरेको हुनु पर्छ ।
  • फार्मबाट निस्केको फोहरलाई सुरक्षित साथ नष्ट गर्नु पर्छ ।
  • खोप तालिका रोग निदान र उपचारको विवरण तथा अभिलेख कुखुराको समूह अनुसार राखेको हुनु पर्छ र उक्त अभिलेख माग गरेको अवस्थामा भेटेरिनरी निरीक्षकलाई उपलब्ध गराउनु पर्छ ।
  • फार्ममा दैनिक अभिलेख राख्ने व्यवस्था मिलाउनु पर्छ ।फार्म अभिलेखमा उल्लेखित तालिकाहरु अनिवार्य रुपमा अभिलेख राख्नु पर्नेछ ।
  • फार्म भित्र Wheel dip गरेर मात्र फार्मको गाडी प्रवेश गराउनु पर्छ ।
  • खोर र अन्य व्यवस्थापन इकाईको दूरी कम्तिमा ३० फिट फरकमा हुनु पर्छ ।
  • फार्ममा चेन्ज रुम, फुटवाथ, रबर बुट, एप्रोनको व्यवस्था मिलाउनु पर्छ ।
  • फुट डिप हरेक खोरको अगाडि राख्ने व्यवस्था मिलाउनु पर्छ ।
  • फार्मको ढोका सधैं बन्द राखी नियमित रुपमा नि:संक्रमण गर्नु पर्छ ।
  • खोरको वरिपरि पानी जम्ने ठाउँ हुनु हुदैन ।
  • कुखुराको खोर घुलो धुवा तथा प्रदुषण मुक्त हुनु पर्छ ।
  • फार्मबाट निस्किएको फोहर पानी पुन: प्रयोग गर्नु हुदैन ।
  • फार्ममा राम्रो ढलको व्यवस्था मिलाउनु पर्छ ।
  • डिपलिटर प्रणालीमा कुखुरा पालन गर्दा ४-५ इन्च बाक्लो सोत्तर राख्ने व्यवस्था मिलाउनु पर्छ ।
  • बसाई सराई गर्ने पन्छीबाट टाढा राख्नकालागि ताल तलैया तथा सिमसार क्षेत्र नजिक फार्म स्थापना गर्नु हुदैन ।
  • फार्ममा कार्यरत व्यक्तिहरुले आवश्यकता अनुसार पटक पटक साबुन पानीले हात धुनु पर्छ ।
  • आगन्तुकहरुलाई कुखुरा तथा कुखुराबाट उत्पादित वस्तुसंग सोझै सम्पर्क आउन दिनु हुदैन ।
  • फार्ममा कार्यरत व्यक्तिहरुलाई तालिम पश्चात मात्र काममा लगाउने व्यवस्था मिलाउनु पर्छ।
  • फार्ममा कार्यरत व्यक्तिहरुको लागि शौचालय तथा पटक पटक हात धुने पानीको उचित व्यवस्था मिलाउनु पर्छ ।
  • फार्ममा आगन्तुको अनावश्य प्रवेशमा रोक लगाउनु पर्नेछ ।

अन्त्यमा,

नेपालमा पन्छीपालनले कुल गार्हस्थ्य उत्पादनमा ४ प्रतिशत योगदान पुर्‍याएको छ । पन्छीपालन क्षेत्रलाई बर्ड फ्लु रोगले निकै तहस नहस गर्नुको साथै धरासायी बनाएको छ ।हरेक वर्ष देखा परिरहने यो रोग नियन्त्रणको जैविक सुरक्षा अपनाउनु आज अपरिहार्य भएको छ ।जैविक सुरक्षा अपनाउदा रोग फार्ममा भित्रिन पाउदैन ।रोगको फैलावट कम हुन्छ ।उपचार खर्च कम हुने भएकोले कृषकहरुलाई आर्थिक फाइदा हुन्छ ।जुनोटिक रोगको खतरा कम हुनुको साथै रोगबाट जनस्वास्थ्यमा पर्ने असरलाई कम गर्दछ । यसकारण रोगको संक्रमणबाट आफ्ना पन्छीलाई बचाउने क्रियाकलापहरुको एकिकृत व्यवस्थापन नै जैविक सुरक्षा (Biosecurity) हो । जैविक सुरक्षामा पन्छीलाई अलग राख्ने, ओसार पसार तथा आवतजावतमा नियन्त्रण गर्ने र सरसफाईमा ध्यान दिनु नै मुख्य कार्य हुन ।जैविक सुरक्षा विना कुनै पनि रोग नियन्त्रण गर्न सकिदैन कतिपय क्रियाकलापहरु शुन्य लगानीमा सम्पादन गर्न सकिन्छ ।ठुलाठुला महामारी नियन्त्रणमा जैविक सुरक्षा नै रोग नियन्त्रणको लागि उत्तम विकल्प रहेको कुरामा दुईमत छैन । यो रोग नियन्त्रणको लागि सस्तो र प्रभावकारी विधि भएकोले बर्ड फ्लु रोग नियन्त्रणको लागि सर्वोतम उपाय मान्न सकिन्छ।

 

सन्दर्भ ग्रन्थहरु

  • नाथ, बासुदेव (२०७८) पन्छीपालन आधारभूत ज्ञान, गुडविल प्रकाशक तथा वितरक कलंकी, काठमाडौं, नेपाल
  • कृषि तथा पशुपन्छी डायरी २०७८, कृषि सूचना तथा प्रशिक्षण केन्द्र हरिहरभवन, ललितपुर
  • पशुपन्छी डायरी २०७६, कृषि सूचना तथा प्रशिक्षण केन्द्र हरिहरभवन, ललितपुर
  • झा, डा. विजयकान्त (असार २०७०) बर्ड फ्लु, भेटनरी चौमासिक जुनोसिस विशेषाङ्क भाग १, वर्ष १२, अंक १, पृष्ठ३८ – ५३

( लेखक बासुदेव नाथ, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, बागमती प्रदेश हेटौंडामा अधिकृतस्तर आठौं पशु विकास अधिकृत पदमा कार्यरत हुनुहुन्छ ।)

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी