सुरु भयो खोले सागको व्यावसायिक खेती

सुरु भयो खोले सागको व्यावसायिक खेती

  • बुधबार, पुस २८, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

बागलुङ, २८ पुस ।  गाउँघरका भान्छामा छिटपुट पाक्ने खोले साग हिजोआज बजारमा किनमेल हुनथालेको छ । खोला र पानीको मूलछेउछाउ पाइने सागलाई किसानले पछिल्लो सयम खेतमा नै उब्जाउन थालेका छन् ।
बागलुङ नगरपालिका–३ रातामाटाका छ किसान अहिले खोले सागका उत्पादनमा जुटेका छन् । झण्डै डेढ रोपनीमा साग लगाइएको बैकुण्ठ सापकोटाले जानकारीदिनुभयो । उहाँले भन्नुभयो “अहिले साग बेच्नलाई ठिक्क भएको छ । किसान बजार पठाउने सुरमा छन् ।”

छिपछिपे खेत र मूल वरिपरि खोले साग पहिलेदेखि नै उम्रेपनि रातामाटावासीलाई उती वास्ता थिएन । कतिलाई त यो खाने साग हो भन्नेसमेत पत्तो पाउँथेनन् । अलिअलि गर्दै टिप्ने, खाने चलन बस्यो । त्यसको मिठोमसिनो स्वाद सबैले रुचाए । खोले सागले विस्तारै महत्व पायो ।

शहरछेउको बस्ती भएर पनि होला त्यहाँका लागि खोले साग नौलो थियो । “खेतका मूलमा अलिअलि हुन्थ्यो, पहिले त यत्तिकै खेर जान्थ्यो, खान हुन्छ भन्ने पनि थाहा थिएन, अहिले बजार पाउन थालेपछि व्यावसायिक खेती थालेका हौँ”, उहाँले भन्नुभयो ।

उहाँले पानीको मूल र खेतको सिममा उक्त साग फस्टाउने गरेको बताउनुभयो । “एकपटक निकालेपछि २०÷२५ दिनमा फेरि तयार भइसक्छ, छिपछिपे पानी हुने ठाउँमा खोले साग बाह्रैमास हुन्छ”, उहाँले भन्नुभयो । सापकोटासँगै प्रेम केसी, सरोज पौडेल, मनोज शर्मा, देवेन्द्र किसानलगायत खोले सो सागका खेतीमा लागेका छन् ।

भर्खर खेती सुरु गरेका किसान व्यावसायिक रुपमा सफल हुनेमा ढुक्क छन् । प्रतिकिलो सागको रु. एक सय र आधा किलाको रु. ५० मूल्य राखेका छन् । ग्राहक आएमा खेत या घरबाटै साग उपलब्ध गराउँछन् । उत्पादन बढ्दै गएमा बजार पठाइने किसान सापकोटाले जानकारी दिनुभयो ।

सागको खेती गरेको थाहा पाएपछि बजारबाट माग आउन थालेको उहाँको भनाइ छ । बागलुङ बजार नजिकै भएकाले बेच्नलाई समस्या छैन । तरकारी पसलले पनि किसानबाट साग उठाउन सक्छन् । तरकारी तथा फलफूल व्यवसायी विजय आलेले अहिले कास्कीको लुम्ले र नयाँपुल क्षेत्रबाट खोल साग बागलुङ बजार आउने गरेको जानकारीदिनुभयो । जिल्लामा खोले सागको व्यावसायिक खेती खासै नभएकाले बाहिरबाट ल्याउनुपरेको उहाँले भनाइ छ ।

“केहीकेही ठाउँमा अहिले खेती हुन थालेको छ, किसानले व्यावसायिक उत्पादन बढाए बजारको समस्या हुँदैन”, उहाँले भन्नुभयो, “उपभोक्ताले खोले साग खोजीखोजी किन्छन्, सर्दीको गुण भएकाले जाडो याममा बढी खोजी हुन्छ ।”

व्यवसायी आलेको अनुभवमा केही वर्षअघिसम्म खोले साग बजारको चल्तीमा थिएन । पछिमात्रै यसले व्यावसायिक प्रवेश पाएको हो । अहिले त रोज्जा सागमा खोले साग पर्न थालेको छ । फागुन–चैततिर यसको माग उच्च हुने गरेको छ । पसलले पनि एक मुठ्ठा सागलाई रु. सयमा बेच्ने गरेका छन् । किसानबाट केही कममा ल्याएर व्यावसायीले नाफा निकाल्छन् ।

शहरिया उपभोक्तामाझ पनि रोजाइमा परेको खोले साग खासमा के हो त ? कृषि ज्ञान केन्द्रका बागवानी अधिकृत कुमार पुन भन्नुभयो–“खोले साग, रायो, तोरीलगायतको परिवार एउटै हो, खोला र सिमसार क्षेत्रमा पाइने भएकाले खोले साग भनिएको हो ।”

कतै खोले सागलाई ‘सिम साग’ पनि भनेर चिन्ने गरिएको उहाँको भनाइ छ । परम्परागत रुपमा टिप्ने, खाने चलन रहेपनि खोले सागको व्यावसायिक खेती पछि आएर मात्र भएको बागवानी अधिकृत पुनले बताउनुभयो । “बजार माग बढेपछि खोले सागको व्यावसायिक उत्पादन विस्तारै बढ्दो छ”, उहाँले भन्नुभयो, “खोला आसपास र सिमसिम पानी हुने खेतमा यसको खेती हुन्छ, धेरै लगानी र मेहनत पनि चाहिँदैन ।” खोले साग विषादीरहित हुने भएकाले स्वादिष्ट र स्वास्थ्यबद्र्धक पनि हुने उहाँको भनाइ छ । खोले सागको सेवन कब्जियत, कुपोषण, आँखाको समस्या भएकालाई लाभदायक हुने ठानिन्छ । खोले सागमा रोगव्याधि लाग्ने खतरा पनि ज्यादै न्यून हुन्छ । कुनैताका पहिचान र महत्व नपाएर त्यसै नास भइरहेको खोले सागले बजार पाउँदा किसान खुसी छन् । खोले साग कमाइको स्रोत बनेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी