ढलेको सीमास्तम्भमा लुगा धुन्छन् भारतीय !

ढलेको सीमास्तम्भमा लुगा धुन्छन् भारतीय !

  • शनिबार, पुस १०, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

झापा, १० पुस । गौरीगञ्जमा भारतसँग सिमाना जोडिएको गौरिया खोलामा बाढीले पुरिएको एउटा सीमास्तम्भ दुई वर्ष बितिसक्दासमेत यथास्थितिमा उठाउन पहल भएको छैन । यसबाट सीमाकै अस्तित्व सङ्कटमा परेको छ ।
गौरीगञ्ज गाउँपालिका–४ बाह्रसुदीमा रहेको १४९ शृङ्खलाको २४ नम्बर सीमास्तम्भ २०७६ सालको बर्खा याममा गौरिया खोलाको बाढीले ढलेको थियो । बाढीले ढलेको सीमास्तम्भ गत वर्षा यामको बाढीले झन् पुरिएको छ ।
पानीको सतहमाथि सीमास्तम्भको अलिकति मात्र भाग देखिन्छ । त्यसमाथि बसेर भारतीय नागरिकले लुगा धुने काम गर्दै आएका छन् । ढलेको सीमास्तम्भ बालुवाले पुरिँदै गएको हुँदा यसको तत्काल मर्मतसम्भार गर्न आवश्यक देखिएको छ । सो स्थानको नजिक नेपालतिर मुसहर बस्तीका रुपमा चिनिएको बाह्रसुदी गाउँ छ भने भारततिर किशनगञ्ज जिल्लाको खनियावाद छ । एक किलोमिटर उत्तरमा नेपाल र भारत दुवैतर्फका सुरक्षा पोस्ट छन् ।
बाढीले सीमास्तम्भ ढालेका बेला नै स्थानीय सञ्चारमाध्यमले यसको समाचार प्रकाशित गरेका थिए । त्यसबेला दुवै देशका सीमा सुरक्षा हेर्ने सुरक्षाकर्मी र प्रशासनका अधिकारी ढलेको सीमास्तम्भको निरीक्षणमा आएको स्थानीय कोचिला न्यूज अनलाइनका सम्पादक आत्माराम राजबंशी बताउनुहुन्छ ।
“सीमा जस्तो संवेदनशील विषयमा दुवै देशको प्रशासनिक निकायले बेलैमा ध्यान नपु¥याएको देख्दा आश्चर्य लाग्छ”, गौरीगञ्जका बासिन्दासमेत रहेका सम्पादक राजवंशीेले भन्नुभयो, “ढलेको सीमा पिलर तत्काल उठाउनु पर्छ, पुरानै अवस्थामा राख्न मर्मतसम्भार गरिनुपर्छ, नत्र आउँदो बाढीले बगायो भने विवाद निम्तिन सक्छ ।”

एक वर्षअघि आउँदा ढलेको सीमास्तम्भको केही भाग पानीको सतहभन्दा निकै माथि देखेको जनाउँदै उहाँले अहिले बाढीले झन् क्षति पु¥याएका कारण सीमास्तम्भ बालुवाभित्र पुरिन थालेको बताउनुभयो । नेपाली सुरक्षा अधिकारी बेलाबेला ढलेको सीमास्तम्भको निरीक्षणमा आउने गरेको उहाँले जानकारी दिनुभयो ।

नेपाल तथा भारतबीचको सीमा खुला र सहज छ । दुवै देशका बासिन्दाको आवतजावत निर्वाध चल्ने गरेको छ । किनमेलका लागि नेपाली भारततिर जाने गरेका छन् । तथापि सीमास्तम्भमा बसेर लुगा धुने कार्यले भने सीमाको संवेदनशीलतालाई बेवास्ता गरेको जस्तो भान हुने गरेको स्थानीयवासीको भनाइ छ ।

नेपाली नागरिकसमेत लुगा धुन र नुहाउन सीमा नदी गौरियामा जाने गर्छन् । भारतीय नागरिकले जसरी सीमास्तम्भमा लुगा धुने कार्य गर्दैनन् । ढलेको सीमास्तम्भदेखि करिब ५० मिटर उत्तरतिर ३३ पीपी लेखिएको जङ्गे सीमास्तम्भ छ । छ फिटभन्दा अग्लो जङ्गे सीमास्तम्भको वरिपरि दलित मुसहर समुदायलगायत ४० परिवार बसोबास गर्छन् । उनीहरुको बसोबासले जङ्गे सीमास्तम्भको सुरक्षा भएको छ । स्तम्भ वरिपरिका घर हटाउन भारतीय सीमा सुरक्षा बलले बारम्बार दबाब दिए पनि आफूहरुले नटेरेको स्थानीय ७० वर्षीय सुन्दर ऋषिदेव बताउनुहुन्छ । उहाँले खोलाले पुरेको १४९-२४ नम्बरको सीमास्तम्भ छिटो मर्मत गरेर पहिलाको जस्तै उभ्याउने पहल गर्न नेपाल सरकारलाई सुझाउनुभयो ।

सीमाको रक्षक बनेर वर्षौंदेखि बसोबास गर्दै आएका अधिकांश स्थानीय नेपाली बासिन्दाले जग्गाको धनीपूर्जा र नागरिकता पाउन सकेका छैनन् । सीमा रक्षाका लागि डटेर बसेका सीमा क्षेत्रका नेपालीलाई सम्मान गर्नुको साटो नागरिकतासमेत नदिएर अनागरिकको जस्तो व्यवहार गरिएकामा स्थानीयवासीको गुनासो छ ।

सरकारी तथ्याङ्कअनुसार झापामा ९८८ सीमास्तम्भ रहेका छन् । तीमध्ये ६० वटा विभिन्न कारणले ढलेका छन् । दुई सयभन्दा बढी मर्मत गर्नुपर्ने अवस्थामा रहेका छन् । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले कोरोनाका कारण दुई वर्षदेखि सीमामा ढलेका तथा नदीले बगाएका पिलरको मर्मतसम्भार हुन नसकेको बताउनुभयो ।

उहाँले यसको मर्मतसम्भारका लागि ‘फिल्ड सर्भे टिम’ रहे पनि कोभिडका कारण काम गर्न नसकेको जनाउँदै भन्नुभयो, “गृह मन्त्रालयको ध्यानाकर्षण गराएको छु ।” भारत र नेपालका उच्च अधिकारीको बैठक र छलफलपछि मात्र ढलेका सीमा पिलरको मर्मतसम्भार गर्ने कार्य अघि बढाउन सकिने हुँदा सोको पहल भइरहेको उहाँको भनाइ छ । उहाँले गत वर्ष वर्षाका कारण १९ र यस वर्ष १२ वटा स्तम्भ ढलेको जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी