आँगनमै सडक पुगे पनि पछाडी छ माझीटार

आँगनमै सडक पुगे पनि पछाडी छ माझीटार

  • शनिबार, अशोज ३०, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

पाँचथर, ३० असोज।  जसबहादुर माझी ६२ वर्षका भए । उमेरमा उनले औलो नियन्त्रण, हुलाकदेखि मौसम विज्ञान विभागसम्म रोजगारी गरे । अहिले पनि उनी काम नगरी बस्न सक्दैनन् । जति नै मेहनत गरे पनि हिलिहाङ गाउँपालिका–७ को माझीटारमा खासै परिवर्तन नआएको उनको अनुभव छ ।

जसबहादुरका छोराहरू आआफैं गरिखान थालेका छन् । नाति–नातिनीहरूलाई सदरमुकाम फिदिममा राखेर पढाउन उनको परिवार सक्षम पनि भएको छ । माझी समुदायका घर आँगनमा पक्की सडक पनि छ । यही सडकले माझीहरूको परम्पराग पेशा नै बदलिँयो । आयआर्जनका माध्यम र आकार बढेका छन् । तैपनि माझी समुदाय पछाडी नै रहेको जसबहादुर बताउँछन् ।

बदलियो पेशा, बदलिएन अवस्था
फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ मा हेंवा र तमोर नदीको आसपासमा बसोबास गर्ने माझी समुदायलाई विकास र अवसरहरूले तानेर नयाँ अवस्थामा पुर्याएको छ । उनीहरूको जीविकोपार्जनका माध्यमहरू बदलिँदै गएका छन् । माछा मार्ने, डुंगा चलाउने तथा परम्परागत खेतीपाती गर्ने माझी समुदाय अहिले नयाँ नयाँ पेशा तथा स्वरोजगारमूलक व्यवसायमा जोडिँदै गएको छ । माझीटारका माझी समुदायले अहिले माछा मार्नुको साथसाथै माछामा आधारित व्यवसाय पनि थालेका छन् । विकास निर्माणसम्बन्धी काममा पनि उनीहरू जोडिन थालेका छन् ।

माझीटारमा ४१ घर माझी परिवार छन् । यी परिवारका अधिकांशले माछा मार्ने गर्छन् । तर माछा मारेर मात्रै जिविका नचल्ने भएपछि उनीहरुले विकल्पहरु खोज्दै गए । माझीटार हुँदै पुष्पलाल (मध्यपहाडी) लोकमार्ग विस्तार भएको छ भने तमोर कोरिडोर सडक निर्माणको क्रममा छ । दशकअघि माझीटारमै पक्की पुल निर्माण पूरा भएको थियो । धमाधम पूर्वाधारका संरचना बन्न थालेपछि माझी समुदायले पेशालाई अन्य जातिले जस्तै बदल्दै लगेका छन् । पेशा बदलिए पनि त्यसले समुदायको आर्थिक अवस्थामा ठूलो बद्लाव ल्याउन भने सकेको छैन् । माझी समुदायका अगुवा जसबहादुरका अनुसार यहाँका युवा निर्माण कार्यमा कामदार तथा मिस्त्री छन् । ‘कसैले कामदारका रुपमा काम गर्छन्, कसैले गाडी चलाउँछन्’, जसबहादुरले भने, ‘युवाहरू नयाँनयाँ पेशा आबद्ध हुन थालेका छन् ।’ माझीटारमै निर्माण कम्पनीहरूले कार्यालय र क्वाटर बनाएका छन् । क्रसर उद्योग पनि सञ्चालनमा छ । यसले माझी समुदायलाई आयआर्जन तथा शीपमूलक काममा जोडिन मद्दत गरेको छ ।

सडक र पूर्वाधार आँगनमा पुगे पनि त्यसको सदुपयोग गर्ने सक्षमतामा माझी समुदाय पुगेको छैन् । अधिकांश घरपरिवारको आर्थिक अवस्था सामान्य छ । सडकको सदुपयोग गरेर ठूला होटेल, रेस्टुरेण्ट, पसललगायत यात्रुलक्षित व्यवसाय गर्न माझी समुदाय आर्थिक रुपले सक्षम छैन् । ससाना होटेल तथा पसलहरू मारेको माछालाई विभिन्न परिकार बनाई बिक्री गर्ने माध्यममै सिमित छ । यसले माझी समुदायको जिविकोपार्जन त भएको छ, तर यसबाट आर्थिक अवस्थामा गुणात्मक सुधार आउन कठिन छ ।

फिदिम–४ र हिलिहाङ–७ मा गरी दुई सय ५० बढीको बसोबास रहे पनि सेवा सुविधाका दृष्टिले माझी समुदाय अझै उपेक्षा मै छन् । यहाँ हिलिहाङतर्फ ठूलो बस्ती छ । कक्षा आठभन्दा माथि अध्ययनका लागि सुखबोध माध्यमिक विद्यालय जोरसाल वा सिमखर्क माध्यमिक विद्यालय सिमखर्क पुग्नुपर्छ । पैदल यात्रा गरेर यहाँ पुग्न डेढ घण्टाभन्दा लामो समय लाग्छ । आधारभूत तह अध्ययन गर्न पनि जागृति आवि सालघारी पुग्नुपर्छ । ‘मेरा नातिनीहरू पढ्नकै लागि फिदिममा डेरा गरेर बसेका छन्,’ जसबहादुरले भने, ‘नानीहरूलाई स्कुल पठाउन गाह्रो छ यहाँ ।’ विद्यालय टाढा हुनाले बीचैमा पढाई छाड्ने, शैक्षिकस्तर कमजोर हुनेजस्ता समस्या विद्यमान छन् ।

नजिकै स्वास्थ्य संस्था पनि छैन् । एक सय भाडा तिरेर फिदिम पुग्दा मात्रै सामान्य स्वास्थ्य परीक्षणको सेवा उपलब्ध हुन्छ । प्रशासनिक निकाय पनि निकै टाढा हुँदा उनीहरू समस्यामा छन् । हिलिहाङतर्फ वडा कार्यालय सल्लेरीमा तथा फिदिमतर्फ फिदिममा छन् । हिँडेर जान लामो समय लाग्ने, गाडीमा धेरै भाडा तिर्नुपर्ने उनीहरुको बाध्यता छ । ‘अझ गाउँपालिका पुग्न त धेरै टाढा पर्यो ,’ जसबहादुरले भने, ‘काम परिहाले धेरै दुःख हुन्छ ।’ खेतीपाती गर्न समेत सबै माझी समुदायसँग प्रशस्त आफ्नै खेतबारी छैन् । धेरैसँग अलिअलि पाखो बारी छ ।

माझीटारको सघन बसोबास भएको माझी बस्ती ऐलानी जग्गामा छ । यसअघि गठित भूमिसम्बन्धी समस्या समाधान आयोगले अव्यवस्थित बसोबासका रुपमा यहाँ बसेका माझी परिवारलाई जग्गा उपलब्ध लगत संकलन गरे पनि आयोग नै विघटन भएपछि माझी समुदाय झनै अन्यौलमा परेका छन् ।

माछा पाइनै छाड्यो
अहिले माछाको मूल्य निकै बढेको छ । प्रतिकिलो एक हजारसम्म पर्ने गरेको स्थानीय प्रकाश माझीले बताए । उनले भने, ‘अहिले माछा मारेर फाइदै छैन् । जालमा माछा पार्नै सकिन्न ।’ करेण्ट लगाएर माछा मार्ने क्रमले माछा पाइन छाडेको उनीहरुको भनाइ छ । यहाँको हेंवा र तमोर नदी माझीहरूले माछा मार्ने ठाउँ हो । सङ्लो पानीमा पाइने यहाँको माछा निकै स्वादिलो हुने हुँदा आन्तरिक पर्यटकहरू तथा जिल्लाबासी समेत माछाको स्वाद लिन पुग्ने गर्छन् ।

डुंगाको प्रबन्ध मिलाइ दिन आग्रह
माझी समुदायको आयआर्जन वृद्धि, पर्यटन विकास तथा परम्पराको संरक्षणका लागि तमोर नदीमा डुंगाको व्यवस्था गरिदिन माग गरेका छन् । ‘हामीले एउटा नाउँ (डुंगा) पाए रमाइलो गर्न आउनेहरूलाई घुमाएर आय आर्जन गर्न सक्थ्यौं,’ जसबहादुरले भने, ‘हाम्रा युवाहरूले समेत परम्परागत शीप बिर्सदैनन थिए ।’ २०५६ सालमा माझीटारबाट तेह्रथुमको आठराई तर्ने झोलुङ्गे पुल निर्माण भएपछि डुङ्गा चलाउने पेशा मासिएको जसबहादुरको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी