आजदेखि अवैध मोबाइल बन्द गर्ने सफ्टवेयर लागू

आजदेखि अवैध मोबाइल बन्द गर्ने सफ्टवेयर लागू

  • शुक्रबार, साउन १, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

साउन १, काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि नेपालमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गरेको छ ।
अवैध मोबाइल डिभाइस नियन्त्रण गर्ने उद्देश्यसहित जडित प्रणाली लागू भएपछि नेपालमा भित्रिएका अवैध मोबाइल बन्द हुनेछन् । भने वैध मोबाइल मात्रै सञ्चालनमा आउने अवस्था रहने छ ।
तर आईएमईआई शुक्रबारदेखि सुरु भए पनि आईएमईआई दर्ता नभएका मोबाइल तत्काल बन्द हुँदैनन् । नेपालमा भन्सारबाट भित्रिएका मोबाइलको आईएमईआई नम्बर र प्रयोगकर्ता आफैंले दर्ता गराएको आईएमईआई नम्बर एमडीएमएस प्रणालीमा सूचीकरण गर्ने काम भइरहेको छ । यो प्रणाली लागू भए पनि नेपालमा चलिरहेका कुनै पनि मोबाइल बन्द नहुने प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । प्राधिकरणले नेपालबाहिर किनिएका वा उपहार पाएका मोबाइल दर्ता गराउन निश्चित समय दिनेछ । उक्त अवधिमा पनि दर्ता नभएका मोबाइललाई वर्गीकरण गरी प्रयोगकर्तालाई चेतावनी दिने वा बन्द गर्ने काम हुनेछ ।

६ महिनाभित्र काम सक्ने गरी प्राधिकरणले २०७६ असारमा ७६ करोड लागतमा ठेक्का दिए पनि लकडाउनका कारण भन्दै ढिला गरी यो प्रणाली सञ्चालनमा आएको हो । साउन १ देखि सुरु गर्ने घोषणा भएदेखि नै यो प्रणाली कस्तो हो, यसले कसरी काम गर्छ, कस्ता मोबाइल बन्द हुन्छन् भन्ने जनचासो रहँदै आएको छ ।

विदेशमा चोरी भएका वा कर नतिरी नेपाल भित्रिएका मोबाइल सेटको प्रयोग निरुत्साहित गर्न यो प्रणाली लागू गरिएको हो । वैध रूपमा आयात हुने मोबाइलमा भ्याट र भन्सार शुल्क पनि लाग्छ । तर भन्सार छलेर ल्याइएका मोबाइलमा भन्सार र भ्याट पनि नतिर्दा त्यस्ता मोबाइल बजारमा सस्तोमा पनि पाइन्छ । कर नतिरिएको मोबाइल सस्तोमा पाइने भएकाले यस्ता मोबाइलको बिक्री बढी हुन्छ । यसबाट सरकारले राजस्व पनि गुमाउँछ ।

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम मोबाइल डिभाइसको तथ्यांकका लागि प्रयोग गरिने प्रणाली हो । यसमा राखिएको मोबाइल तथ्यांक प्रणालीले कुन मोबाइल वैध र कुन अवैध भन्ने छुट्याउँछ । हरेक मोबाइल डिभाइसमा हुने इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी (आईएमईआई) नम्बरका आधारमा मोबाइल वैध–अवैध भन्ने छुट्याइन्छ । यस्तो नम्बर सामान्यतः १५ अंकको हुन्छ । मोबाइल किन्दा सिम राख्ने स्लट वा ब्याट्रीमा यस्ता नम्बर लेखिएको हुन्छ ।

नेपालमा भन्सार तिरेर भित्रिएका हरेक मोबाइलको आईएमईआई नम्बर प्राधिकरणले एमडीएमएस प्रणालीमा राखिरहेको छ । नेपालमा भन्सार महसुल तिरेर भित्रिएका हरेक मोबाइल वैध मोबाइलका रूपमा यो प्रणालीमा सूचीकृत भएका हुन्छन् । यसबाहेक विदेशबाट उपहारमा वा किनेर ल्याइएका मोबाइलको आईएमईआई नम्बर प्रयोगकर्ता आफैंले दर्ता गराउन सक्छन् ।

एमडीएमएसको प्रणाली हरेक सेवा प्रदायकको सर्भरमा पनि एकीकृत गरिएको हुन्छ । यो प्रणाली नेपाल टेलिकम, एनसेल, स्मार्ट टेलिकमको सर्भरमा पनि जोडिएको छ । यस्ता सेवा प्रदायकले वितरण गरेको सिम कुनै मोबाइलमा प्रयोग भइरहेको छ र ती मोबाइलको आईएमईआई दर्ता भएको रहेनछ अथवा चोरी भएको वा हराएको भनेर उजुरी परेको छ भने तिनमा सिम चल्दैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी