भोजपुर, १ असार । वंगुरका पाठाहरु आमाको दुध खान तछाडमछमड गरिरहदाँ भोजपुरकी अनीता राई भने तीनै पाठाका माउलाई चारो तयार गर्न व्यस्त थिईन् । उनलाई कखुराका लागि पनि चारो तयार गर्नु थियो ।
बिहान उठेदेखि ओछ्यानमा जानुअघिसम्म उनलाई आफुले पालेका वंगुर र कुखुराको रेखदेखमै भ्याईनभ्याई हुन्छ । त्यसमाथि धन कमाएर ल्याउने आसामा बिदेशिएका श्रीमान अस्वस्थ भएर फर्किएपछि उनको रेखदेखको जिम्मा पनि अनिताकै काधमा छ । केहि वर्षअघि सम्म खेतिपाती र मेलापातमा ब्यस्त हुने उनी अहिले सफल व्यावसायीका रुपमा चिनिन्छिन् । त्यसमा सहयोगि बन्यो युवा तथा साना व्यवशायी स्वरोजगार कोष ।
भोजपुर जिल्लाको टेम्केमैयूङ ५, खावामा आमा जीतकुमारी राई र बुबा कालुमान राईको कोखबाट २०३८ सालमा जन्मिएकी अनीताको बाल्यकाल पनि दुःखमै बितेको थियो । बुबा आमाले मेलापात र मजदुरी गरेर दुई छाक खाना खुवाउन पनि कहिलेकाहि सकस परेको नजिकबाट नियालेकी थिईन् उनले । आमाले अभाव टार्न छिमेकीकोमा पैचो, सापटी लिएर दुखः गरेर खुवाउदा गाँउ छिमेकमै अलि हुने खानेका छोराछोरी सँगैका सहपाठीहरु नयाँ सुकिला लुगा र मिठो खाना खाएको बयान गर्दै उनलाई चिडाउने गर्थे ।
तर अनिता राई सानै देखि मेहनती र संघर्षशिल भएकै कारण आज उनको जिवनस्तर माथि उठेको छ । अहिले उमरले उनी ४० वर्षकी भईन् । सानो छँदा उनलाई घरपरिवारमा लाउन खान धौ धौ थियो भन्ने कुराले अझै पनि मन झस्किने गर्छ । स्थानीय विद्यालयमा सामान्य पढाई लिएकी अनिता बाल्यकाल दुःखमा नै वित्यो । वाल्यकालमा राम्रो शिक्षा विना नै दुखःमा हुर्किएकी अनिता १७÷१८ वर्षकै उमेरमा २०५६ सालमा विवाह गरेर भोजपुर नगरपालिका वडा नं. ११ आम्तेकमा आइन् । एक त शिक्षाको अभाव र आर्थिक अभावका बीच बिबाह गरेर आएको श्रीमान् पटिको घरपरिवार तिर पनि त्यति सुख थिए । बर्षभरी अन्नबाली लगाएर श्रम गर्दा बल्ल तल्ल ६ महिना जति मात्रै खान पुग्ने स्थिति थियो ।
यसरी समय वित्दै जाँदा यसरी मात्रै जीवन चलाउन गाह्रो हुने ठानेर परिवारको सल्लाहमा अनिताका श्रीमान् विदेशतिर कमाई गर्न लागे । कतार र साउदी १० वर्षसम्म धाउदा पनि श्रीमान्ले राम्रो काम नपाउनु र बिरामी परेका कराण विदेश गएको ऋण तिर्न र छोरा छोरी पढाउन अझै धौ धौ नै परिरहेको थियो । जति खेति गरेपनि, विदेशबाट श्रीमान्ले कमाए पनि सानै देखिको दुखः जीवनमा परिवर्तनको किरण अनिताले देखिनन् । विदेशमा कमाउन गएका श्रीमान् उतै थला परे । झन् आर्थिक संकटले घेर्न थाल्यो । गाँउ घरमा पैसा सरसापट पनि त्यति नपाईने, पाईहाले पनि महंगो ब्याज तिर्नु पर्ने बाध्यता थियो । ऋणले जीवन कहिले सम्म चल्छ ? अनिताको मनमा यीनै कुराहरु खेल्दै गए ।
त्यसपछि उनले अब आफै केही नयाँ काम गर्ने निधो गरिन् । यसै क्रममा उनले भोजपुर नगरपालिकामा आएर ऋण लिई विभिन्न व्यवसायहरु होटल, खुद्रा पसल, तरकारी पसल सुरु गरिन् । त्यसै सिलसिलामा उनले सानो लगानीमा बंगुर पालन सुरु गरिन् ।
उता श्रीमान विदेशमा विरामी भएर थला पर्दा समेत उनले खर्च जुटाउन, बालबच्चालाई पालनपोषण गर्न ऋण लिएर भए पनि धानिरहेकी थिइन् । उनी के गर्ने कसो गर्ने भन्ने अवस्थामै दुखः जिलो गरेर जीवन चलाईरहेकी थिईन् ।
आर्थिक अभावमा परेर समस्या झेलिरहेकी अनिताले युवा तथा साना व्यवशायी स्वरोजगार कोषको स्थापना गरी युवाहरुलाई स्वरोजगार बनाउने कार्यक्रम ल्याएको सूचना पाईन् । स्वरोजगार कोषको कार्यक्रम अन्तर्गत भोजपुर जिल्लामा रहेको श्री प्रगतिशिल महिला कृषि सहकारी संस्था लि.ले ऋण लगानीका लागि स्वीकृति पाएको र रकम पाएको खबर पाए पछि त्यसै सहकारीमा सदस्य समेत रहेकी अनिताले पनि ऋणका लागि निवेदन दिईन् । त्यसै सहकारीबाट बाट रु. १५००००।– (रु एक लाख पचास हजार) ऋण लिएर अनिताले एकसाथ बंगुर र कुखुरा पालन शुरु गरिन् । शुरुमा जग्गा लिजमा लिन, फर्म बनाउदा नै केही खर्च भयो । बाँकी पैसाले बंगुरका पाठा र कुखुराहरु अलग अलग खोरमा उनले लगाईन् र उनीहरुको चारो दाना, पानी सबैथोक आफैले मेहेनत गर्न थालिन् ।
त्यसबाट करीब ६ महिना देखि भने अनिताले मनग्गे आम्दानी पाउन थालिन् । उनले स्वरोजगारको ऋण पनि सबै चुक्ता गरिसकेकी छन् । उनले उत्पादन गरेको बंगुर र कुखुरा भोजपुर बजारमै खपत हुने गरेको छ ।
अहिले पनि अनिताका श्रीमान् बलराम राई विरामी नै छन् । विदेशमा नै हुँदा कलेजोको रोग, मानसिक समस्याबाट पिडित श्रीमानलाई औषधी उपचारमा समेत अनिताले आफ्नो मेहेनतबाट स्वरोजगार कोषको रकमबाट शुरु गरेर अहिले अझ ठूलो हुँदै गएको व्यवशायबाटै हुने आमदानीले पुर्याउने गरेकी छन् । श्रीमान् को औषधी उपचार बाहेक, घरको खर्च, छोराछोरीको स्कुल फि सबै तिरो भरो गर्न अनिताले अन्त सापटी माग्नु पर्ने अवस्थाको अन्त्य भयो ।
मिर्मिरे अनलाईनका पत्रकार उनको घर पुग्दा खुखुरालाई चारो दिईरहेको अवस्थामा भेटिएकी अनिताले खुखुरा र वंगुर पालनपछि नै आफ्नो जीवनस्तर माथि उठेको बताईन् । उनले भनिन्, ‘म पहिले पनि खेतिपाती, मेलापात, घरधन्दामा दिन बिताउथे तर दुई छाक टार्न नै धौधौ पर्यो । तर अहिले यो व्यावसाय सन्चाल गरेपछि त्यस्तो दुःख छैन ।’
अहिले प्रति महिना उनको सबै व्यवशायबाट गरेर १ लाख हाराहारी कमाई हुने गरेको उनले सुनाईन् । उनी कुखुरा, बंगुरको हेरचाह मात्रै हैन, आफैले मासु पसल समेत खोलेर आमदानीको स्रोत बढाएकी छन् । अनिताले भनिन्, ‘कुखरा र वंगुर त पाले, बिक्रि पनि भईरहेकै थियो तर आफैले पालेको वंगुर र कुखुरा काटेर बेच्दा झन फाईदा हुने देखेपछि मासु पसल पनि सन्चालन गरेकी हुँ ।’
चम्किलो अनुहार पार्दै अनिताले आफ्नो केही बर्षको यो कठोर दुखः र मेहेनतबाट भोजपुर बजारमा ६ आना जग्गा खरीद गरी घर समेत निर्माण गरेको बताईन् । अनिता भन्छिन्, ’मान्छे दुखः पर्यो भनेर कहिले पनि आत्तिनु हुँदैन, मेहेनत गरे सफल अवस्य भईन्छ ।’
अहिले अनिताको फर्ममा जम्मा ९ वटा माउ वंगुर, १० वटा मझौला र साना पाठा ५९ गरेर ७८ वटा वंगर रहेका छन् भने दुई सय बोइलर कुखुरा, साना चल्ला २०० गरेर ४०० कुखुरा र लोकल कुखुरा ५० भन्दा माथि रहेका छन् ।
बार्षिक १४०,०००।– मा जग्गा लिजमा लिएर र आफ्नै थोरै जग्गामा ४ वटा परम्परागत खोर र ५ वटा आधुनिक खोरमा वंगुर पालन गरिरहेकी छन् । वंगुर, कुखुराले राम्रै आम्दानी लिन थालेपनि उनले थोरै जग्गा पनि लिएकी छन् । जम्मा ६ आना जग्गा र एउटा सानो राम्रो घर जोहो गर्न सफल भएकी अनिताले अझै स्वरोजगारबाट ऋण लिन पाए व्यवसायलाई बढाउने उनको लक्ष्य छ ।
आफु एक्लैले सबै घरपरिवार देखि व्यावसाय समेत सफल रुपमा सन्चालन गरिरहेकी अनिताले विगत कोट्याउदा आँखाभरी आशु पारिन् । उनले भनिन् ’हामी जस्ता गरिबलाई कसैले हेर्दाे रहेनछ । धन्न ऋण चै पाइयो र गरिखाइदैछ ।’ उनको यो संघर्ष निरन्तर रहने र थप सफलता लिने आँट छ । उनले स्वरोजगार कोषबाट सस्तो व्याजमा डेढ लाख रुपैया लिएको कुराले दिएको खुसी अझै कहिल्यै विर्सन नसक्ने बताउछिन् । सहज रुपमा सस्तो व्याजमा रिण पाए आफुजस्तै धेरैको जीवनस्तर माथि उठ्ने उनको बुझाई छ ।







