बूढीगङ्गा नदीको कटानका कारण दर्जन बस्ती जोखिममा

बूढीगङ्गा नदीको कटानका कारण दर्जन बस्ती जोखिममा

  • मङ्लबार, असार १, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

बाजुरा, १ असार ।  आइतबारदेखि परेको अविरल वर्षाका कारण बूढीगङ्गा नदीमा आएको बाढीका कारण सयौँ बिघा खेतीयोग्य जमीन बगरमा परिणत हँुदै गएको छ । गत वर्ष साउन २५ गते बूढीगङ्गामा आएको बाढीले खेतीयोग्य जमीन बगाउनुका साथै बगरमा परिणत गरेको थियो । यस वर्ष पनि वर्षात्को समयमा नदीले निरन्तर कटान गर्दै जाँदा बाजुरा र अछामका दर्जनौँ बस्ती र खेतीयोग्य जमीन नदीले कटान गरेको छ ।

बडिमालिका नगरपालिका–२ को भौनेरा, ८ को रापक र सोही नगरपालिका–६ को बीरेखोलाको सयौँ मुरी फल्ने खेतीयोग्य जमीन कटान शुरु गरेको त्यहाँका स्थानीयवासीले बताएका छन् । त्यस्तै बूढीगङ्गा गाउँपालिका–१ अमकोटमा १०७ परिवारको खेतीयोग्य जमीन बूढीगङ्गा नदीले कटान गरेको छ । त्यस्तै घागरमा गत वर्ष कटान भएको खेतीयोग्य जमीन यस वर्ष वर्षात् शुरुआतसँगै पुनः नदीले कटान गर्न शुरु गरेको छ । आफ्नो १९ मुरी धान फल्ने खेत बगाएको र घर पनि पूर्णरूपमा बगाएकाले बासका लागि निकै समस्या भएको घागरका अम्मर महतले बताउनुभयो ।

यस्तै नदीका कारण बडिमालिका–६ पानीनाउलामा २५ परिवारको जग्गा नदीले पूरै कटान गरेको स्थानीयवासी धन बढुवालले बताउनुभयो । “प्रत्येक वर्ष कटान गर्दै आएको थियो, यस वर्षदेखि पूर्णरूपमा खेतीयोग्य जमीन बगाएको छ”, उहाँले भन्नुभयो । त्यस्तै त्रिवेणी नगरपालिका–३ र बूढीगङ्गा–३ को खेतीयोग्य जमीन नदीले कटान गर्दै आएको बूढीगङ्गा नगरप्रमुख दीपकविक्रम शाहले बताउनुभयो ।

नदीको छेउमै रहेका ताप्रीसेरा, राप्का, घागर, बार्जुगाडा, मौरलगायतका गाउँ तथा बजार उच्च जोखिममा रहेको शाहको भनाइ छ । तलबाट नदीले कटान गर्दै आएपछि बाम्काबजार जोखिममा रहेको र केही विस्थापित भइसकेको प्रमुखले बताउनुभयो । त्यस्तै बूढीगङ्गाले छिमेकी जिल्ला अछाममा पनि खेतीयोग्य जमीन कटान गर्दै आएको साँफेबगर नगरपालिका–२ बस्ने कमल साउदले बताउनुभयो । साँफेबगरको बुढाबगर, ठाँटी बजार, साँफेबगर र कालिमाटीमा खेतीयोग्य जमीन कटान गर्दै आएको छ ।

जग्गा कटान गर्दै आएपछि बस्तीसमेत जोखिममा परेको स्थानीयवासीले बताएका छन् । बूढीगङ्गाले अछाममा रहेको धार्मिकस्थल बैजनाथ क्षेत्रको केही भागसमेत कटान गरेको छ । मन्दिर पनि नदीको चपेटामा परेको छ । नदीको मारमा साँफे–मार्तडी सडकखण्ड पनि परेको छ । अछामको साँफेबगरबाट बाजुराको मार्तडीसम्म ५७ किलोमिटरमध्ये अधिकांश सडकखण्ड नदी किनारमै रहेका कारण नदीले कटान गर्दा महिनौँसम्म सडक अवरुद्ध हुने गरेको छ । साँफे–मार्तडी सडकखण्डको ताप्रिसेराबाट पानीनाउँलासम्म २० ठाउँभन्दा बढी क्षेत्रमा पहिरो गएको छ ।

यता वर्षा शुरु भएसँगै जिल्लाको गौैमुल, बडिमालिका, बूढीगङ्गा र त्रिवेणीका तटीय क्षेत्रका बस्तीमा जोखिम व्यवस्थापनमा कसैको ध्यान गएको देखिँदैन । बूढीगङ्गा नदीको बढ्दै गएको बहावका कारण तटीय क्षेत्रमा कटान गर्दा दर्जनौँ बस्ती बगाएको छ तर तीनै तहका सकारबाट अहिलेसम्म नदी नियन्त्रणमा कुनै पहल नभएको बडिमालिका–२ का करवीर नाथले बताउनुभयो । “अघिल्लो वर्षामा घागरमा बूढीगङ्गाले सयौँ बिघा खेतीयोग्य जमीन बगायो, दर्जनभन्दा बढी घर बगायो तर एक वर्ष भइसक्दासमेत कुनै तहको सरकारले व्यवस्थापनका लागि केही पहल गरेका छैनन्”, उहाँले भन्नुभयो ।

अघिल्लो वर्ष बाढी आएको केही दिनमै सुदूरपश्चिम प्रदेशका अर्थमन्त्री प्रकाश शा तथा पूर्व गृहमन्त्री रामबहादुर थापा हेलिकोप्टरमा घागर पुगेर नदी नियन्त्रणका लागि घरविहीन भएकालाई घर बनाइदिने आश्वासन दिनुभएको तर त्यो नारामै सीमित भएको अर्का स्थानीयवासी प्रकाश महतले बताउनुभयो ।

गत साउन २५ गते गएको बाढीले एक गाउँपालिका र तीन नगरपालिकाका गरी दर्जनभन्दा बढी बस्ती जोखिममा परेका भए पनि स्थानीयवासीले सरकारबाट कुनै सहुलियत नभएको गुनासो गरेका छन् । बडिमालिका–२ र ८ जोड्ने घागरको पुलमाथिबाट नदी बग्दासमेत सम्बन्धित सरोकारवाला मौनजस्तै बनेका छन् ।

घागरका ५० भन्दा बढी परिवारलाई बिरामी भएको बेला सदरमुकामसम्म आउने कुनै विकल्प छैन । थुवाकाँधको निर्माणाधीन झुलङ्गे पुलमा लठ्ठा तान्ने कामबाहेक अरु केही भएको छैन । घागरका जनतालाई सबै तहले सौतेनी व्यवहार देखाएको स्थानीयवासी अम्मराज पण्डितले गुनासो गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी