विश्व दूध दिवश र रोगप्रतिरोधात्मक क्षमता बढाउन दूधको महत्व

विश्व दूध दिवश र रोगप्रतिरोधात्मक क्षमता बढाउन दूधको महत्व

  • मङ्लबार, जेष्ठ १८, २०७८
  • बासुदेव नाथ

  • 23K
    SHARES

दूध र दुग्धजन्य पदार्थ मानव जीवनकोलागि अपरिहार्य भागको रुपमा रहेको छ । विश्वमा करिब ६ अर्व मानिसले दुग्धजन्य पदार्थको उपभोग गर्दछन ।दूध स्वस्थ्य र सन्तुलित आहारा हो । अझै पनि दूध तथा दुग्ध पदार्थहरुको नियमित सेवनको लागि व्यापक प्रचार प्रसार हुनु आवश्यक छ । सन २००१ देखि जुन १ तारिखमा विश्व दूध दिवश मनाउदै आएको छ ।यस वर्ष World milk day theme for 2021 well focus on ” sustainability in the dairy sector with massages around the environment, nutrition and socio-economics.” नारा साथ मनाइदैछ ।

यस वर्ष २०७८ जेठ १८गते (1st June 2021) का दिनविश्वमा २१औं र नेपालमा ११औं विश्व दूध दिवस मनाइदै छ ।नेपालमायस वर्ष २०७८ जेठ १८ (1st June 2021) मा विश्व दूध दिवसको नारा दूध तथा दुग्धपदार्थको नियमितसेवन,कोरोना भाइरस विरुद्ध दीर्घ जीवन” “Regular consumption of milk and Milk products, longevityagainst corona virus”रहेको छ ।गत वर्ष २०७७ जेठ १९ गते ( 1st June 2020 ) विश्व दूध दिवशको नारानियमित दूध सेवन गरौं, रोग प्रतिरोधात्मक क्षमता बढाऔं”“ Drink milk regularly to increase immunity”भन्ने थियो यसबाट के स्पष्ट हुन्छ भने गत वर्ष देखि कोरना कहर सुरु भएको र यससंग प्रतिरोधात्मक क्षमता बढाउनको लागि दूध तथा दुग्धपदार्थको सेवनमा जोड दिनु पर्ने अपरिहार्यता देखियो ।

संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (FAO) ले दूध र यसको खाद्य सुरक्षा एवं पोषणको महत्व साथै आयआर्जन र ग्रामिण रोजगारीका लागि महत्वपूर्ण भएकोले विश्व दूध दिवश सन २००१ देखि जुन १ तारेखका दिन मनाउन शुरु गरिएको हो । विश्वमा करिव ७२ वटा देशले यस दिवशलाई विभिन्न कृयाकलाप गरी मनाउने गरेको पाइन्छ । यस दिनमा कृषक, कर्मचारी, परिवार, राजनीतिज्ञ, पोषण विद, प्रमुख, डाक्टरहरुले डेरीको महत्व, योगदान, स्थायित्व, आर्थिक विकास, जनजीवन र पोषण लगायत आदि बिषयहरुका बारेमा बहस तथा छलफल   गरी मनाउछन; भने  बच्चा, बृद्ध, विरामीहरुलाई दूध तथा दूधका परिकारहरु सेवन तथा वितरण  गरिन्छ ।

गत वर्षदेखि विश्व महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (COVID-19) को कारणले विश्वव्यापी बन्दाबन्दी (Lock Down)ले गर्दा गत विगतका वर्षहरुमा जस्तै: र्‍याली निकाल्ने,कार्यशाला गोष्ठी सञ्चालन गर्ने आदि विभिन्न कृयाकलापहरु सञ्चालन गर्न सम्भव नभए तापनि दूधको महत्व एवम् डेरीको फाइदा तथा दूधले स्वास्थ्य तथा पोषणमा पुर्‍याएको योगदान बारे विभिन्न मिडियाहरुको माध्यमबाट व्यापकरुपमा प्रचार प्रसार गर्नुका साथै अस्पताल तथा कोभिड क्वारेन्टइनहरुमा दूध तथा दुग्धजन्य पदार्थ वितरण गरी मनाउन सकिन्छ ।

विभिन्न प्रतिवेदन अनुसार विश्वको अर्थतन्त्रमा डेरी क्षेत्रको योगदान ठूलो रहेकोछ । यसले आयआर्जन र रोजगारीमा ठूलो योगदान पुर्‍याएको छ । विश्वको जनसंख्या करिव ७.९ अर्व (२०२१) मध्ये करिव १ अर्व जनसंख्या डेरी उद्योग र व्यवसायबाट जिवीका चलाउछन । विश्वको करिव १०% जनसंख्या दूध उत्पादन व्यवसायमा आश्रित छन । विश्वभरी करिव ८१ करोड ६० लाख टन दूध उत्पादन हुने गरेको छ । जसमा गाईको दूध मात्र ६९ करोड ६० लाख टन र बाँकी दूध भैंसी र अन्य चौपायाबाट हुन्छ । विश्वका प्रमुख पाँच कृषि उत्पादनमा दूध पनि एक हो । अतः दूध पोषण, अर्थतन्त्र, उद्योग, व्यवसाय,रोजगारी र आयआर्जन आदि कारणले विश्वव्यापी रुपमै महत्वपूर्ण कृषि पशु उपजमा पर्दछ ।

विश्वमा सबैभन्दा बढी दूध उत्पादन गर्ने १० वटा देशहरुमा अमेरिका ९३.३ विलियन किलो ग्राम, भारत ६०.६ विलियन किलो ग्राम, चीन ३५.७ विलियन किलो ग्राम, ब्राजिल ३४.३ विलियन किलो ग्राम, जर्मनी ३१.१ विलियन किलो ग्राम, रसिया ३०.३ विलियन किलो ग्राम, फ्रान्स २३.७ विलियन किलो ग्राम, न्यूजिल्याण्ड १८.९ विलियन किलो ग्राम, टर्की १६.७ विलियन किलो ग्राम, बेलायत १३.९ विलियन किलो ग्राम वार्षीक दूध उत्पादन रहेको छ ।

विश्वमा प्रति व्यक्ति प्रति वर्ष सबैभन्दा बढी दूध  खपत गर्ने १० वटा देशहरुमा फिनल्याण्ड ३६१.९० के.जी, स्वीडेन ३५५.८६के.जी., नेदरल्याण्ड ३२०.१५ के.जी., स्वीजरल्याण्ड ३१५.७८ के.जी., ग्रिस ३१४.६९ के.जी, मोन्टेनेग्रो ३०५.८७ के.जी., लिथुनिया ३०३ के.जी, डेनमार्क २९५.६२ केजी., अल्वानिया २८१.१७ के.जी, र रोमानिया २६६.१९ केजी.प्रति व्यक्ति प्रति वर्ष दूध खपत हुने गर्दछ ।

संयुक्त राष्ट्रको खाद्य तथा कृषि संगठनको सिफारिस  अनुसार प्रति व्यक्ति प्रतिदिन करिव २५० मिलि लिटर दूध उपभोग हुनु पर्नेमा प्रति व्यक्ति प्रतिवर्ष ९१ लिटर दूध उपभोग गर्नु आवश्यक पर्दछ । नेपालमा“दूध” भन्नाले स्वस्थ गाई वा भैंसीको थुनबाट दुहेको र स्वभाविक अवस्थाको स्वच्छ ताजा श्रावलाई सम्झनुपर्छ । “गाईको दूध” भन्नाले ३.५ प्रतिशत दूधको चिल्लो (Milk Fat) र सो चिल्लो बाहेक दूधको ठोस पदार्थ (Solid Not Fat-SNF) ७.५ प्रतिशत भन्दा घटि नभएको दूध सम्झनु पर्छ । “भैंसीको दूध” भन्नाले ५.० प्रतिशत दूधको चिल्लो (Milk Fat) र सो चिल्लो बाहेक दूधको ठोस पदार्थ (Solid Not Fat-SNF) ८.० प्रतिशत भन्दा घटी नभएको दूध सम्झनु पर्छ । “प्रशोधित दूध” भन्नाले ३.० प्रतिशत दूधको चिल्लो (Fat) र सो चिल्लो बाहेक दूधको ठोस पदार्थ (SNF) ८.० प्रतिशत भन्दा घटी नभएको दूध सम्झनु पर्छ ।

उपर्युक्त उल्लिखित दूध वा क्रिमको निरोगन प्रक्रिया (Pasteurization) गर्दा दूध वा क्रिमलाई कम्तीमा ६३ डिग्री सेन्टिग्रेडमा ३० मिनेटको समयभन्दा कम नहुने गरी तताई वा अन्य कुनै बढी तापक्रममा निरोगन क्रिया पुग्ने समयसम्म राखी त्यसपछि तुरुन्त १० डिग्री सेन्टिग्रेड वा त्यो भन्दा कम तापक्रम सम्म चिस्याईएको हुनुपर्छ । फोस्फाटेज टेस्ट नेगेटिभ र निरोगन गरिएको दूध तथा अन्य दुग्ध तरल पदार्थ बिक्रीमा राखिएको भए वा तयार गरिएको भएमा प्रति मिलिलिटरमा कोलीफर्म  गणना शुन्य हुनुपर्छ ।

दूध एक महत्वपूर्ण खाद्य पदार्थ हो । दूधमा पानी, चिल्लो पदार्थ (फ्याट), प्रोटिन, ल्याक्टोज, खनिज पदार्थहरु(Calcium,Phosphorus, Potassium, Magnesium, Strontium), भिटामिनहरु (A, B2, B3, B12, C, D, E, K) र पाचन रसहरु(Enzymes) तत्वहरु रहने भएकोले आदर्श एवं पूर्ण आहारको रुपमा लिइन्छ । सम्पूर्ण पौष्टिक तत्वले भरिपूर्ण  दूध र दुग्ध पदार्थको उत्पादन र उपभोग स्वच्छ र स्वस्थ हुन सकेमा मात्र मानवको लागि उपयोगी हुनसक्छ । दूधमा भएको चिल्लोले शक्ति सञ्चय गरी विरामी मानिस वा शारीरिक कमजोर भएका मानिसलाई आन्तरिक रुपमा यही सञ्चित शक्तिको प्रयोग गर्दछ । ल्याक्टोजले तुरुन्त शक्ति प्रदान गरी शरीरलाई स्फूर्ति दिलाउछ । प्रोटिनले शारीरिक बृद्धि विकास गर्दछ । भिटामिन A ले रतन्धो हुनबाट जोगाउने र प्रजनन् क्षमताको विकास गर्ने र शारीरिक विकासमा सहयोग पुर्‍याउछ । भिटामिन D ले हड्डी मजबुत बनाउने, भिटामिन E ले मांसपेशी मजवुत बनाई पक्षघातबाट जोगाउछ । भिटामिन K ले चोटपटक लागेको बेला रगत जमाउन मद्दत गरी रगत खेर जानबाट बचाउछ । भिटामिन C ले गिजा सुन्निबाट जोगाउछ । भिटामिन B Complex ले शारीरिक बृद्धि हुने तथा खाना रुची बढाउछ । शरीर बृद्धिको लागि आवश्यक पर्ने खनिज लवणहरु क्यालसियम, म्यागनेसियम,क्लोरिन, पोटासियम,सोडियम आदि ले शरीर सन्तुलन राख्नुका साथै शारीरिक विकासमा सहयोग पुर्‍याउछ ।यसरी शरीरको लागि आवश्यक पर्ने महत्वपूर्ण तत्वहरु पाइने भएकोले यसको सेवनले शरीरमा रोगसंग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास भई विभिन्न रोगहरुबाट बचाउन मद्दत पुग्छ ।दूध तथा दुग्धजन्य पदार्थमा स्वच्छता कायम राख्न सकेन भने यो शरीरको लागि हानिकारक समेत हुन सक्छ । स्वच्छ तथा स्वस्थ दूध र यसबाट बनेका परिकार धेरै समय राख्न सकिन्छ, भने यिनको मूल्य समेत धेरै पर्दछ ।

सामान्यतया स्वस्थ पशुको कल्चौडोमा दूध स्वच्छ नै रहेको हुन्छ । पशुको आहारा, औषधी उपचार लगायत वातावरणबाट दूधमा आउने रसायन, दूध उत्पादन, प्रशोधन तथा बजारीकरणको प्रकृयामा हानिकारक जिवाणुको प्रवेश र बृद्धि हुनसक्ने जोखीमका कारण दूध तथा दुग्धजन्य पदार्थहरु प्रदुषित हुन जान्छन् । सामान्यतया कोठाको तापक्रममा आधा घण्टा भित्र दूधमा रहेका जिवाणुको संख्या दोब्बरले वृद्धि हुदै जान्छ र दूध छिट्टै बिग्रन्छ । बालकदेखि वृद्धसम्मले सेवन गर्ने असुरक्षित दूध तथा दुग्ध पदार्थहरुबाट ब्रुसेल्लोसीस, ट्युवरकुलोसीस, डिप्थेरीया, खाद्य विषपान लगायतका रोगहरुको जोखीम वढ्न सक्ने भएकोले सचेत रहन पनि त्यतिकै आवश्यक छ ।

सामान्यतया गाईको दूधमा करिव ८७%  र भैंसीको दूधमा करिव ८२% पानीको मात्रा हुन्छ । दूधको पानीमा ठोस पदार्थहरु  घुलित, कोलाईडल  वा इमल्सन अवस्था रहेका हुन्छन । घुलित अवस्थामा ल्याक्टोज, केही अंश खनिज तत्वहरु र भिटामिन पाइन्छ । प्रोटिन, भिटामिन र खनिजतत्वहरु कोलाईडल अवस्थामा र चिल्लो पदार्थहरु ईमल्सन अवस्थामा रहेका हुन्छन । दूध धेरै परिमाणमा अपारदर्शी सेतो रंग हुन्छ । दूधको सेतो रंग कोलाईडल अवस्थामा रहेको क्याल्सियम क्याजिनेटका कारणले भएको हो । दूधको पहेंलो रंग क्यारोटिनको कारणले रह्वेको हरियोपन ल्याक्टो फ्लेविनका कारणले भएको हो । दूधको स्वाद केही गुलियो हुन्छ । ल्याक्टोज (दूधको चिनी) का कारणले दूध गुलियो भएको हो । गोठको गोबरको गन्ध दूधले सोस्ने भएकाले गौ गन्ध आउन सक्छ  । बकेर्नो, थुनेलो रोगले संक्रमण गरेको अवस्थामा क्लोराईडको वढ्दो परिमाणले गर्दा दूधको स्वाद नुनिलो हुन सक्दछ । दूधमा भएको पाचन रस लाईपेजले चिल्लो पदार्थहरुलाई खण्डिकृत गर्ने भएकाले वकेर्नो भैंसीको दूध केही तितो हुन सक्दछ । बढी गन्ध आउने वस्तुहरु जस्तै प्याज, लसुन र अन्य उडनसिल गन्ध आउने घांस विरुवाहरु खाएका पशुहरुबाट उत्पादित दूधमा सोहि अनुसार गन्ध आउन सक्छ । दूधको वनावटलाई फरक पार्ने तत्वहरुमा प्राणी वा जातिय विशेष, पशुको नश्ल, वंशज गुण, वेतको चरण, पशुको उमेर, मौसमको प्रभाव, रोग तथा स्तन संक्रमण, आहारा, प्रथम तथा अन्तिम सिर्कोको दूध , दूध दुहुने समय, पशु कल्याण अवलम्बनको अवस्था आदि हुन ।

स्वच्छ दूध उत्पादनको लागि दूहुनो पशु स्वस्थ हुनु पर्ने, दुध दुहुने व्यक्ति स्वच्छ र सफा हुनु पर्ने, दुध दुहुने र राख्ने भाँडाकुँडाहरु तथा उपकरणहरु स्वच्छ र सफा हुनु पर्ने, दुध दुहुने तथा ढुवानी गर्ने भाँडा स्टेनलेस स्टीलवा आल्मुनियमबाट बनेका हुनु पर्ने, विरामी पशुको उपचार पशु चिकित्सकको सिफारिसमा गर्नु पर्ने र संक्रामक रोग लागेका पशुको दूध उचित ढंगले नष्ट गर्नु पर्ने, विक्री गर्ने दूध दुहेको लगत्तै वा २ घण्टा भित्र संकलन केन्द्रमा पुर्‍याउनु पर्ने, दूधमा पानी लगायत कुनै पनि पदार्थ मिसावट गर्न नहुने, संकलित दूधलाई कम्तिमा ४ डिग्री सेन्टिग्रेड तापक्रममा चिस्याउने गर्नु पर्दछ ।

करिव १० देखि २० लिटर दूध प्रशोधनमा गयो भने १ जनाको लागि  रोजगार सृजना हुन्छ । नेपालमा दैनिक १००० जना भन्दा बढी युवाहरु रोजगारीको लागि विदेशीने गरेको, ओैपचारिक तथा अनौपचारिक समेत गरी करिब ५० लाख भन्दा बढी उत्पादनशील जनशक्ति देश बाहिर रहेको अवस्था छ ।हाल नेपालमा दैनिक करिब ६२लाख लिटर दूध उत्पादन हुने गरेको मध्ये ५० प्रतिशत कृषकले स्वयम् उपभोग गर्ने, करिब २० प्रतिशत औपचारिक क्षेत्रमा र ३० प्रतिशत अनौपचारिक क्षेत्रमा खपत हुने गरेको छ । पशुपालन क्षेत्रको माध्यमबाट पनि युवा स्वरोजगार प्रवर्द्धन गर्न सकिन्छ । शहरको पैसा गाउँमा जाने राम्रो माध्यम नै डेरी व्यवसाय हो । यो व्यवसाय सबै खालका धार्मिक तथा सामाजिक समूहहरुको लागि स्वीकार्य पनि छ ।  नेपालमा सबै भन्दा बढी संभावना बोकेको क्षेत्र पनि डेरी क्षेत्र नै हो यसको माध्यमबाट युवाहरुलाई स्वदेशमा नै स्वरोजगार गरी आयआर्जन गर्न सक्नुको साथै खाद्य सुरक्षामा समेत सुनिश्चित गर्न सकिने प्रवल संभावना रहेको छ ।

डेरी उद्योगहरुले प्रशोधित दूध, नौनी, घ्यू, दही, चिज, आइसक्रिम, पनिर, पाउडर दूध, फ्रेस मिल्क, लालमोहन, रसवरी, पेडा आदि दूधका परिकारहरु बनाएर बिक्री वितरण गरिन्छ ।

दूधमा भएको प्रोटिनले इम्यून सिस्टमलाई बलियो बनाउने भएकोले दूध तथा दुग्धजन्य पदार्थको सेवनलाई नियमित गर्न सकिएमा हाल विश्व व्यापी महामारीको रुफमा फैलिएको कोरोना भाइरसको विरुद्ध प्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ । खवर हाउस डटकममा बैशाख २४ २०७८मा प्रकाशितकोरोना हटाउन गाईको दूध बन्यो चिनीयाँ हतियार शिर्षकको लेखबाट थप पुष्ट्याइ भएको छ ।

नेपालमा विश्व दूध दिवश वि.सं. २०६८ साल ( सन् २०११)  देखि केन्द्रीय दुग्ध सहकारी संघ लि. ले मनाउन शुरु गरिएको हो ।हरेक वर्ष नेपालमा पनि नारा तय गरी दिवस मनाउने गरिन्छ । २०७५ जेठ १८ गते (1st June 2018) मा विश्व दूध दिवशको नारा “दुग्ध क्षेत्रको प्रवर्द्धन: आर्थिक र सामाजिक रुपान्तरण ”” Promoting Dairy Sector for Economic and Social Transformation”रहेको थियो भने २०७६ जेठ १८ (1st June 2019) मा विश्व दूध दिवशको नारा “प्रशोधित दूध पिऔं,स्वस्थ र खुशी रहौं ””Processed Milk for Good Health and Happiness“रहेको थियो ।हरेक वर्ष दूधमा अखाद्य पदार्थको मिसावट गरेको वा गणुस्तरहिन  दूधको  बारेमा मिडियामा व्यापक चर्चा भै रहन्छ । वास्तवमा हो पनि हाम्रो दूध जति उत्पादन हुन्छ, त्यो सबै गुणस्तरीय छैन भने अर्कोतिर गुणस्तरीय दूध उत्पादन गरी उपभोक्ताहरुलाई खाद्य तथा पोषण सुरक्षाको प्रत्याभूति गराउन पनि त्यतिकै महत्वपूर्ण छ । यसकारण राष्ट्रिय कृषि नीति,२०६१, दुग्ध विकास नीति, २०६४, दुग्ध विकास रणनीति,२०७० तथा असल पशुपालन अभ्यास (Good Husbandry Practice – GHP),असल स्वच्छता अभ्यास(Good Hygienic Practice-GHyP), असल भेटेरिनरी अभ्यास(Good Veterinary Practice-GVP), र असल उत्पादन अभ्यास(Good Manufacturing  Practice-GMP) दूध तथा दुग्ध पदार्थको स्वच्छता एवम् गुणस्तर निर्देशिका,२०७५ र दुध संकलन केन्द्र, दूध चिस्यान केन्द्रको मापदण्ड, डेरी पसलको मापदण्ड, २०७५ को सफल कार्यान्वयनको साथै पशुपालक कृषकहरुलाई गोठमा नै गुणस्तरीय एवम् प्रभावकारी प्राविधिक सेवाउपलब्ध गराईगोठदेखि ओठसम्म स्वच्छ र स्वस्थ्य दूध उत्पादन अभियानलाई साकार पार्न सकिन्छ ।यसको लागि नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार, कृषक, समूह, समिति, सहकारी,दूध संकलन केन्द्रहरु, दुग्धजन्य उद्योगहरु र अन्य सरोकारवाला सबैको ध्यान पुग्नु जरुरी देखिन्छ ।

समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय नारा साकार पार्नको लागि दिनमा दुई पटक पैसा आउने व्यवसाय डेरी क्षेत्रमा संलग्न गराउन सकेमा हालको वेरोजगारीलाई रोजगार दिने चुनौतिलाई अवसरमा परिणत गर्न अवसर आएको छ ।हाल नेपालमा खानेबानीमा आएको परिवर्तनलाई नियन्त्रण गरी पत्रु खाना (Junk Food ) को सट्टामा नियमित दूध सेवन गर्ने बानी विकास गरी शरीरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्नु पनि त्यतिकै आवश्यक छ ।यसको लागि सरकारी तथा निजी कार्यालयका क्यान्टिनहरु, अस्पतालहरु, नेपाल प्रहरी,सशस्त्र प्रहरीबल नेपाल, नेपाली सेना, स्कुल, कलेजमा दूध तथा दुग्ध जन्यपदार्थको सेवन बढाउन सकेमा दूध तथा दुग्धजन्य पदार्थको खपत बढाउन सकिन्छ ।

कोरोना कहर(COVID 19) ले मुलुक आक्रान्त भएको बेलामा सबैले दूध तथा दुग्ध पदार्थको सेवनलाई नियमित गरी स्वस्थ्य र सुखी जीवनयापन गर्न सकिन्छ ।अहिले होम आइसोलेसन वा क्वारेन्टाइन वा अस्पतालमा उपचार गराइ रहनु भएका विरामी तथा विरामी कुरुवा समेतलाई होस वा उपचारमा संलग्न चिकित्सक एवम् स्वास्थ्य कर्मीहरुको सेवनको लागि समेत प्रयाप्त मात्रामा दूध तथा दुग्ध पदार्थको नियमित आपूर्तिमा सहयोग गर्नु अपरिहार्य छ ।

अतः नागरिकहरुको रोग प्रतिरोधात्मक क्षमता विकासको साथै आयआर्जन, रोजगारी र खाद्य सुरक्षाको लागि डेरी क्षेत्रले महत्वपूर्ण योगदानको लागि भूमिका खेल्ने हुंदा सरकारले विशेष प्रथमिकता दिनुपर्ने देखिन्छ; अनि मात्र विश्व दूध दिवशको सान्दर्भिकता सार्थक हुनजानेछ ।

विश्व दूध दिवश, २०७८को हार्दिक शुभकामना ! जय पशुधन ! जय किसान !

(लेखक भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, बागमती प्रदेश, हेटौंडा मकवानपुरमा अधिकृतस्तर आठौं, पशु विकास अधिकृत पदमा कार्यरत हुनुहन्छ।)

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी