वैशाख ६, काठमाडौँ । अमेरिकी अन्तरिक्ष संस्था नासाले मंगल ग्रहमा पठाएको मानवनिर्मित इन्ज्युनिटी हेलिकप्टरको पहिलो टेस्ट फ्लाइट सफल भएको छ । आज नेपाली समय अनुसार अपराह्न ४ बजे इन्ज्युनिटीले मंगल ग्रहमा ३० सेकेन्डको उडान गरेको थियो ।
नासाले पृथ्वीबाट कमान्ड दिएर अन्य ग्रहमा मानवनिर्मित यान पहिलो पटक उडाएको हो । मार्स हेलिकप्टर मिसनकी प्रोजेक्ट म्यानेजर मिमि युङले पहिलो टेस्ट फ्लाइट सफल भएको जानकारी दिएका छन् । उनले नासाको जेट प्रोपुल्सन ल्याबोरेटरीलाई धन्यवाद दिदैँ पृथ्वीमा पहिलो पटक राइट दाजुभाइले विमान उडाउँदाको क्षणजस्तै अनुभूती भएको बताए ।
नासाले हेलिकप्टर उडेको तस्बिर पनि सार्वजनिक गरेको छ । एक केजी ८ सय ग्रामको यो हेलिकप्टर तयार गर्नका लागि नासाले ८५ मिलियन अमेरिकी डलर खर्च गरेको थियो ।
प्राचीन इतिहास अध्ययन गर्नका लागि पर्सिभरेन्स रोभरसँगै यो हेलिकप्टरलाई सन् २०२० को जुलाई ३० तारिखका दिन त्यसतर्फ पठाइएको थियो । पर्सिभरेन्स रोभरसँगै यो हेलिकप्टर मंगल ग्रहको जेजिरो क्रेटरमा १८ फेब्रुअरीको २०२१मा अवतरण भएको थियो ।
नासाको ुमार्स २०२० पर्सिभरेन्स रोभरु मिसनका अन्तर्गतकै ुइन्ज्युनिटी मिसनुले मंगल ग्रहको पातलो वायुमण्डलमा पहिलो उडान गरेको हो । कार्बन फाइबरका ४ वटा ब्लेड रहेका यो हेलिकप्टरको पंखा साधारण हेलिकप्टभन्दा धेरै बढीले घुम्ने नासाले जनाएको छ ।
मंगल ग्रहमा पर्सिभरेन्स रोभर अवतरण भएपछि यो हेलिकप्टरको रोभरबाट केही साताअघि सफ्ट ल्यान्डिङ गरेर मंगल ग्रहको सतहलाई छोएको थियो । अघिल्लो साता नै यसको टेस्ट फ्लाइट गर्ने भनिए पनि प्राविधिक कारणले केही ढिलाइ भएको थियो । अल्बना राज्यको एक हाइस्कुलकी विद्यार्थीले यो हेलिकप्टरको नाम दिएकी हुन् ।
मंगल ग्रहमा यो हेलिकप्टरको मिसन ३० दिनको छ । नासाले यसअघि जारी गरेको विज्ञप्ति अनुसार यसले ५ वटा पावर फ्लाइट गर्ने जनाएको थियो । प्रत्येक फ्लाइट ३ मिनेट अवधिको हुनेछ । भविष्यको मंगल ग्रहको अध्ययनका लागि र अन्य रोबोटिक उडान हुने वस्तु निर्माण गर्नका लागि इन्ज्युनिटी मिसनले सहयोग गर्ने नासाले जनाएको छ ।
It happened. Today our #MarsHelicopter proved that powered, controlled flight from the surface of another planet is possible. It takes a little ingenuity, perseverance, and spirit to make that opportunity a reality: https://t.co/oT3rrBm6wj pic.twitter.com/u63GKshp0G
— NASA (@NASA) April 19, 2021
यो हेलिकप्टरमा दुई वटा क्यामेराबाहेक अन्य उपकरण छैनन् । यो हेलिकप्टरले पृथ्वीबाट कमान्ड दिएपछि मंगल ग्रहमा आफैं उड्ने र अवतरण गर्नेछ । सौर्य ऊर्जाबाट अटोमेटिक रुपमा चार्ज हुने यो यानले रोभर र फ्लाइट ओपरेटरहरसँग सञ्चार गरेर पृथ्वीमा तथ्यांक पठाउने नासाले बताएको छ ।
मंगल ग्रहमा इन्ज्युनिटीले न्यूनतम १५ फिट र अधिकतम् १६० फिटको उचाइसम्म उड्न सक्नेछ । अटोमेटिक रुपमा चल्ने यो हेलिकप्टरमा ऊर्जा खपत गर्ने र मंगल ग्रहको तापक्रम र वातावरणमा पनि अनुकुल हुन सक्ने बताइएको छ ।