कृषिको अनुदानमा “उल्फाको धन फूपुको सराद्ध” नबनाउनुः प्रधानमन्त्री ओली

कृषिको अनुदानमा “उल्फाको धन फूपुको सराद्ध” नबनाउनुः प्रधानमन्त्री ओली

  • बिहिबार, चैत्र १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

काठमाडौँ, १२ चैत ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिमा उपलब्ध अनुदान सदुपयोग गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ । उहाँले आज ललितपुरमा आयोजना गरिएको पशुजन्य उत्पादनमा आत्मनिर्भरता घोषणा समारोहलाई सम्बोधन गर्दै दिगो कृषि विकासका लागि अनुदानको सदुयोग अनिवार्य सर्त रहेको उल्लेख गर्नुभयो । सरकारले कृषिमा सस्तो ब्याज, यान्त्रीकीकरण, साना सिँचाइ आयोजना, रासायनिक मल, ढुवानी, बीमामा प्रिमियमलगायतका क्षेत्रमा अनुदान उपलब्ध गराउँदै आएको छ ।

प्रधानमन्त्री ओलीले किसानको आम्दानीलाई बचतको स्तरमा पु¥याउन कृषि बिमा कार्यक्रमलाई जनस्तरसम्म पु¥याउने र बीमाको किस्ता रकम (प्रिमियम) घटाउनमा जोड दिनुभयो । संयुक्त राष्ट्रसङ्घअन्तर्गत विश्व खाद्य सङ्गठनको मापदण्डानुसार नेपाल केही पशुजन्य उत्पादनमा आत्मनिर्भर भएको घोषण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कृषिको अनुदानमा कतै “उल्फाको धन फूपुको सराद्ध” नबनाउन किसान, व्यवसायी तथा सम्बद्ध निकायलाई आग्रह गर्नुभयो ।

विश्व खाद्य सङ्गठनका अनुसार प्रतिव्यक्ति प्रतिवर्ष ९१ लिटर दूध, ४८ अण्डा र १४ किलो मासु आवश्यक पर्ने उल्लेख छ । प्रधानमन्त्री ओलीले आज नेपाल मासु र अण्डामा आत्मानिर्भर भएको घोषण गर्नुभयो । नेपालीका भान्सामा प्रतिव्यक्ति प्रतिवर्ष ५५ अण्डा र २२ किलो माछा÷मासु खपत भएका कारण सरकारले आज मासु तथा अण्डामा आत्मनिर्भर भएको घोषण गरेको हो ।

नेपालमा प्रतिवर्ष एक अर्ब ६० करोड अण्डा र दुई लाख ५५ हजार मेट्रिक टन माछा÷मासु उत्पादन हुने गरेको भए पनि नेपाल दुधमा आत्मनिर्भर हुन अझै प्रतिव्यत्तिः प्रतिवर्ष १२ लिटर दूधको उत्पादन बढाउनुपर्ने छ ।

सरकारले कृषि क्षेत्रमा अनुदान बढाउँदै लगेको भए पनि उत्पादन भने सन्तोषजनक रुपमा बढ्न नसकेकामा प्रधानमन्त्री ओलीले चिन्ता व्यक्त गर्दै शिक्षा र सीप विकासमा युवा जनशक्तिलाई आर्कषक कार्यक्रम चलाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनुभयो । उहाँले मकैको उत्पादन घटेकामा सम्बन्धित मन्त्रालयलाई मकैको समर्थन मूल्य तोक्न र उत्पादन बढाउन तथा वनलाई कृषि वन बनाउने कार्यक्रम ल्याउन आग्रह गर्नुभयो ।

कूल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २७ प्रतिशत छ भने पशु तथा पशुजन्य उत्पादनमा १४ प्रतिशत छ । झन्डै ६८ प्रतिशत जनता कृषि पेशामा संलग्न भए पनि कृषि क्षेत्रको परनिर्भरता घट्न नसकेपछि सरकार कृषिमा वैदेशिक लगानी भित्र्याउने तरखरमा रहेको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले प्रधानमन्त्री कृषि आधुनकिकीकरण परियोजनमार्फत लागुभएका पकेट क्षेत्र कार्यक्रम व्यक्तिका पकेट क्षेत्र नबनोस भन्नेमा जोड दिनुभयो ।

उहाँले एकिकृत कृषि शिक्षा, विषमुक्त खानेकुरा र अनिकालमुक्त परिवार सरकारका प्राथमिक क्षेत्र रहेको बताउनुभयो । पशुपक्षी सचिव डा पेम नारायण कँडेल र कृषि सचिव डा योगेन्द्रकुमार कार्कीले कृषिको आधुनिकीकरण, यान्त्रीकीकरण र बजारीकरणबाट मात्र दिगो कृषि विकास हासिल हुनेमा जोड दिनुभयो । समारोहमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल सरकारका पूर्वमन्त्री, नेपाल सरकारका मुख्य सचिव, प्रमुख सल्लाहकार तथा नेपाल सरकारका उच्चपदस्थ कर्मचारी, किसान एवं व्यवसायीको उपस्थिति रहेको थियो । प्रधानमन्त्री ओलीले आज विभिन्नि सहकारी, कृषि फर्म तथा उत्पादक कम्पनीलाई सम्मान गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी