काठमाडौं । सरकारले तीन वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा उपकुलपति नियुक्तिको प्रक्रिया अगाडी बढाएसँगै राजनीतिक लविङ गर्नेहरुको सक्रियता बढेको छ ।
कर्णाली, पाटन, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति खाली भएसँगै स्वास्थ्य मन्त्रालयले फागुन २४ गते सार्वजनिक सुचना प्रकाशित गर्दै पदाधिकारी नियुक्ति गर्ने प्रक्रिया बढाएको छ । तर, क्षमता र योग्यता भन्दापनि शक्ति केन्द्रको वरीपरी रहेर सरकारी नियुक्ति खानेहरु स्वास्थ्य मन्त्रालय र बालुवाटार धाउँदा दक्ष युवा शक्ति पछि परेको छ ।
ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कास्कीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र जुम्लाको कर्णाली स्वास्थ्य प्रतिष्ठानको उपकुलपति हुन आजसम्म एक दर्जन बढिले आवेदन हालेको स्वास्थ्य मन्त्रालय श्रोतले जानकारी दिएको छ ।
मन्त्रालयका श्रोतका अनुसार उपकुलपति हुनका लागि केही बर्तमान पदाधिकारी सहित प्राध्यापक डाक्टरहरु राजनीतिक लविङमा तिब्रताका साथ लागेका छन् । ‘पार्टीगत रुपमा नजिक भएकाहरुले चाहना राख्नु गलत त हैन, तथापि, गुणस्तरीय जनशक्ति उत्पादन गर्ने, स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाहरुमा राजनीतिक गन्ध आउनु चैं राम्रो होइन, सक्षम, योग्य त्यसमाथि काम गर्छु भन्ने जुनुन भएकालाई पालो दिनु पर्दछ ।’ स्वास्थ्य मन्त्रालयका एक सचिबले भने ।
कर्णाली, पाटन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु मध्ये कर्णालीको उपकुलपति हुन खोज्नेहरुको सक्रियता बढ्ता छ । पदमा रहँदा सिन्को नभाँच्ने, पदीय दुरुपयोग गर्ने, चार वर्षमा आधा समयपनि जुम्ला नजाने प्राध्यापक डाक्टरहरु यतिबेला अनुभव र विद्धताको ‘राग’ अलाप्दै राजनीतिक शक्ति केन्द्रको ढोका चहारिरहेका छन् । श्रोतका अनुसार कर्णालीको उपकुलपति हुन निवर्तमान उपकुलपतिसँगै त्यहाँ कार्यरत प्राध्यापक डाक्टरहरु सक्रिय छन् । केही प्राध्यापक डाक्टरहरु उच्च राजनीतिक भेटघाटमा सक्रिय रहेको पाइएको छ ।
स्वास्थ्यमन्त्री ह्दयेश त्रिपाठीले केहि दिन अगाडी तीन वटै प्रतिष्ठानमा कार्यवाहक उपकुलपतिको जिम्मेवारी दिइसकेका छन् । कर्णालीको कार्यवाहक उपकुलपति सह–प्राध्यापक डाक्टर मंगल रावललाई दिइएको छ । डा. रावलले कोभिड–१९ को स्वास्थ्यपचारमा कर्णाली प्रतिष्ठानलाई मुलुककै उदाहरणीय सरकारी संस्थाका रुपमा दर्ज गराएको पाएपछि स्वास्थ्यमन्त्री त्रिपाठीले डा. रावललाई मंन्त्रालयमै बोलाई कार्यवाहक उपकुलपतिको जिम्मेवारी दिएका हुन् । स्थानीय, त्यसमाथि युवा भएकाले डा. रावलले प्रतिष्ठानको नेतृत्व संहाल्न सक्छन् भन्ने कर्णालीबासीको भावना रहेपनि केही सिनियरहरुले जुनियरलाई नेतृत्व दिनुहुन्न भनेर ‘वितण्डा’ मच्चाउन खोजिरहेको प्रतिष्ठानका एक युवा कर्मचारीले भने ।
कर्णालीबासी जनताको चाहना पनि स्थानीय युवा नेतृत्व प्रतिष्ठानमा आउनुपर्छ भन्ने छ । विगतमा राजनीतिक नियुक्ति लिएर काठमाडौंबाट गएकाहरुले कर्णालीको नाममा ‘लूटतन्त्र र कमाउतन्त्र’ मच्चाएको पाएपछि आम कर्णालीबासीहरु प्रतिष्ठानमा स्थानीय व्यक्ति नै आउनुपर्ने धारणा राख्छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली राज्यका जुनसुकै निकायमा नयाँ पुस्ताहरुलाई अवसर दिनुपर्छ भन्ने मान्यताका साथ अगाडी बढेको अवस्थामा शिक्षा, स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा आफुलाई बरिष्ठ भन्नेहरुले ‘लिगेसी’ बोक्दा समस्या भइरहेको छ । ‘चार–चार वर्ष पदमा रहँदा सिन्को नभाँच्ने, विधि र पद्दतिलाई मिचेर काम गर्ने, प्राज्ञिक संस्थालाई भर्ती केन्द्र बनाउनेहरुले कर्णाली, पाटन, पोखरा जस्ता स्वास्थ्य सेवामा दुरगामी काम गर्ने संस्थालाई चलायमान बनाउनै सक्दैनन् । स्वास्थ्य र शिक्षा जस्तो क्षेत्रमा नयाँ पुस्तालाई अवसर दिनुपर्छ ।’ सरोकारवालाको भनाई छ ।
अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राध्यापक तहकै उपकुलपति नियुक्ति गरिनुपर्छ भनेर विगतमा विवादमा आएका प्राध्यापकहरुले ‘हौवा’ फिँजाइरहेका छन् । प्रतिष्ठानको नियममा सह–प्रध्यापक समेत उपकुलपति हुन पाउने व्यवस्था भएपनि केही ‘बरिष्ठ’हरुले त्यसलाई परिवर्तन गर्नुपर्ने भन्दै आफुलाई उपकुलपतिको दावेदार बनाएका छन् । जुन सरासर गलत हो ।
‘बरिष्ठ भएकै आधारमा क्षमता नभएकालाई निर्णायक तहमा कहिलेसम्म पुर्याउने ? योग्यता भएकाहरुले कहिले अवसर पाउने ?’ स्थानीय युवाहरुको स्वर छ ।
प्रतिष्ठानमा प्राध्यापक डाक्टरका रुपमा अहिले प्रा.डा. तरुण पौडेल, प्रा.डा. रेशम बहादुर राना, प्रा.डा. डम्बर खड्का, प्रा.डा. भोलाराम श्रेष्ठ, प्रा.डा. गणेश थापा, प्रा.डा. केशर ढकाल, प्रा.डा. राम उप्रेती, प्रा.डा. विजय अर्याल, प्रा.डा. शेषानन्द संजेल, प्रा.डा. सुदेश कायस्थ, प्रा.डा. सुनु दुलाल, प्रा.डा. दिनेश बास्तोला र प्रा.डा. भरतमणि पोखरेल रहेका छन् ।
यी मध्ये डा. तरुण पौडेल प्रतिष्ठानमा मेहनती र इमान्दार प्राध्यापक डाक्टरका रुपमा परिचित छन् । उनी आफ्नो योग्यता र विशेषज्ञता भन्दा बाहीर हल्ला र गफका पछि नलागी काम गर्छन् ।
डा. डम्बर खड्का, डा. गणेश थापा, डा. केशर ढकाल सुर्खेत प्रदेश अस्पतालका कार्यरत चिकित्सक हुन् । उनीहरुलाई अहिलेसम्म चिकित्सा सेवा आयोगले कर्णाली प्रतिष्ठानको प्राध्यापक मानेको छैन । योग्यताका हिसाबले प्रतिष्ठानको नेतृत्व दिन असक्षम हैनन् ।
प्रतिष्ठानको डीन रहेका डा. रेशम रानाको विषयमा पटक–पटक विवाद आइरहेको हुन्छ । उनी जुम्ला नगई महिनौं काठमाडौँ बसेर चलखेल गरेर युएसआइडी, निक साइमन्स र कास तिनै वटा श्रोतबाट अबैधानिक तलब खाने गर्छन् । डा. राना आफुलाई सिनियर प्राध्यापक भन्छन् तर, उनी २ वटा मात्र अनुसन्धान गरेर प्राध्यापक भएका हुन् । जतिबेला डा. रानालाई निबर्तमान उपकुलपतिले प्रतिष्ठानको डीन बनाए त्यहाँका शिक्षक, कर्मचारी, विद्यार्थीले राजिनामा माग गर्दै महिनौंसम्म आन्दोलन गरेका थिए ।
प्रतिष्ठानका प्रा.डा.द्वय विजय अर्याल र सेशानन्द सञ्जेल विज्ञता र प्राज्ञिक काममै बढि राख्छन् । उनीहरु पनि कर्णालीलाई देशकै नमूना प्रतिष्ठान बनाउने हो भने युवा नेतृत्व नै आउनुपर्छ भन्ने मान्यता राख्छन् ।
कर्णालीको उपकुलपति हुन्छु भनेर सबैभन्दा बढि लविङ गर्नेमा प्रा.डा. रामप्रसाद उप्रेती छन् । डा. उप्रेतीलाई विज्ञको रुपमा कानून विपरित काम गरेको भन्दै चिकित्सा शिक्षासम्बन्धी न्यायिक जाँचबुझ आयोगले ३ वर्ष प्रतिबन्ध लगाई कारवाही गर्न सिफारिश गरेको थियो ।
उनी डा. गोविन्द केसीका घनघोर विरोधी पनि हुन् । तत्कालिन समयमा सरकारले डा. गोविन्द केसीसँग सम्झौतामा कार्की आयोगले सिफारिश गरेका ४२ जना मध्येका एक हुन् ।
आइओम अन्र्तगत काम गर्ने कसैले पनि निजी संस्थामा काम गर्न नपाउने प्रावधान विपरित डा. उप्रेती आइओएमसँग अनुमति नलिई अवकाश हुनु ६ महिना अगाडी नै झापाको विएण्डसी मेडिकल कलेजको प्रिन्सिपल भएका थिए ।
प्रा.डा. भोला श्रेष्ठ डा. रेशम रानाका अघिपछि कुद्नु वाहेक केही गर्न सक्ने क्षमताका छैनन् । प्रतिष्ठानलाई कसरी अगाडी बढाउने सन्दर्भमा उनीसँग कार्यक्षमता अभाव छ ।
डा. सुबेश कायस्थ धनगडीका नाम चलेका चिकित्सक हुन् उनी प्रतिष्ठान सँग सम्बन्धित छैनन् । प्रतिष्ठानसँग सम्बन्धीत नभएपछि त्यहाँको वस्तुस्थिति र आवश्यक्ता के हो त्यहि बुझ्न उनलाई वर्षौं लाग्छ । अर्का, डा. सुनु दुलाल जुम्लामा विरलै बस्छन् । डा. दिनेश बास्तोला प्रतिष्ठानसँग जोडिएको करिब २ महिना मात्र भएको छ । विषयगत रुपमा उनी योग्य होलान् तर, उनीसँग प्रतिष्ठानलाई दिर्घकालिन रुपमा कसरी अगाडी बढाउने अनुभव र योजना छैन ।
जहिले पनि केन्द्रीकृत मानसिकतामा बाहिरबाट पदाधिकारी ल्याउने होभने संस्था बन्न नसक्ने अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका महासचिव दलबहादुर जिसीको भनाई छ । बाहिरबाट आएकालाई एक वर्ष प्रतिष्ठान बुझ्नै लाग्ने बताउँदै उनले योग्यता भएका स्थानीयहरुलाई पालो दिनुपर्ने अडान लिएका छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका नाममा ब्रम्हलूट गर्ने, जुम्लाका नाममा काठमाडौंमै रमाउने प्रवृत्ति रोकिनुपर्ने उनको माग छ । ‘कमसेकम कर्णाली प्रतिष्ठानसँगै राज्यबाट पिछडिएको सिंगो कर्णालीलाई माया गर्ने, बढी समयदिन सक्ने, राम्रो छवी भएको व्यक्ति आउनुपर्छ ।’ महासचिव जिसीले भने ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पदाधिकारी नियुक्तिको हकमा प्रतिष्ठान ऐन २०६८ को दफा २०,२१,२२,२३ र २४ बमोजिम उपकुलपति, शिक्षाध्यक्ष, डीन, रजिष्ट्रार र अस्पताल निर्देशक हुन योग्यता तोकिएको छ । जसअनुसार उपकुलपति हुन चिकित्साशाष्त्र विषयमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरी सह–प्राध्यापक वा मन्त्रालय सम्बद्ध निकायमा कम्तीमा दशौं तह वा सो सरह पदमा काम गरेको हुनु पर्नेछ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान मात्र हैन सरकारले देशका विभिन्न स्थानहरुमा स्थापना गरेका स्वास्थ्य प्रतिष्ठानमा राजनीतिक नियुक्ति हुने गर्दछ । केन्द्र सरकार अन्र्तगत कर्णाली जस्तै आठ वटा स्वास्थ्य प्रतिष्ठानहरु छन् जहाँ उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार, अस्पताल निर्देशक जस्ता पदहरुमा राजनीतिक नियुक्ति गर्ने प्रचलन छ । राजनीतिक नियुक्ति आफैंमा गलत त हैन तर, कस्ता व्यक्तिलाई जिम्मेवारी दिने प्रष्ट खोलिनु आवश्यक छ । शक्ति र भक्तिमात्र हेरेर प्राध्यापक डाक्टर भएकै आधारमा विगतमा कारवाहीमा परेका, कामभन्दा कुरा बढी गर्ने, राजनीतिक पूर्वाग्रह राख्नेलाई सार्वजनिक संस्थाको नेतृत्व दिनु चैं गलत हो ।