बङ्गलादेशको रासायनिक मल बेलुकासम्म वीरगञ्ज आइपुग्ने

बङ्गलादेशको रासायनिक मल बेलुकासम्म वीरगञ्ज आइपुग्ने

  • सोमवार, फाल्गुन २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

नेपाल र बङ्गलादेश सरकार (सरकार–सरकारबीच, जिटुजी) सम्झौतानुसारको पहिलो खेपको रासायनिक मल आजसाँझसम्म नेपाल आइपुग्ने भएको छ । बङ्गलादेशबाट खरीद गरिएको ५० हजार मेट्रिकटन रासायनिक मलमध्येमा पहिलो लटमा दुई हजार ५०० टन मल नेपाल आइपुग्ने भएको हो ।

मल खरीदको जिम्मा पाएको कृषि सामग्री कम्पनीका अनुसार कोलकातामा ल्याइएको २२ हजार ५०० टन रासायनिक मलमध्येमा आज बेलुका वा मङ्गलबार बिहानसम्म दुई हजार ५०० टन मल नेपाल आइपुग्नेछ ।

कोलकाताबाट रेलका ४२ डब्बामा ल्याइएको मल ढिलोमा मंगलबार बिहानसम्म वीरगञ्ज आइपुग्ने कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार रेलमा ल्याइएको मल आज साँझसम्म वीरगञ्जमा आइपुग्नेछ भने ट्रकमा ल्याइएको मल बुधबारसम्म विराटनगरमा पुग्नेछ ।

गत बिहीबार कोलकाताबाट छ ट्रकमा २५० टन मल विराटनगरका लागि ल्याइएको उहाँले जानकारी दिनुभयो । यसैगरी आज पुनःरेलमा दुई हजार ५०० टन मल नेपालका लागि हिँडिसकेको छ ।

पहिलो लटमा रेल तथा ट्रकमार्फत आउने मल कृषि सामग्री कम्पनीको विराटनगर, वीरगन्ज र भैरहवामा रहेका गोदाममा राखिने कम्पनीले जनाएको छ । बङ्गलादेशसँग प्रतिमेट्रिक टन २५९.१९५ अमेरिकी डलरमा मल खरीदको सम्झौता भएको प्रबन्ध सञ्चालक भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार कम्पनीबाट रासायनिक मल खरीदको अन्तीम सम्झौतानुसार बङ्गलादेशसँग प्रतिमेट्रिक टन १८ डलर कममा सम्झौता भएको हो ।

जिटुजीमार्फत मल ल्याउन गत कात्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई स्वीकृति दिएको थियो । मन्त्रालयको निर्देशनअनुसार कम्पनीले मल खरीदको तयारी गरेको थियो ।

तयारीस्वरुप गत पुस २ गते जिटुजी प्रक्रियामार्फत मल खरीदका लागि कम्पनीका प्रबन्ध सञ्चालक भण्डारी र बङ्गलादेश केमिकल इन्ड्रस्ट्रिज कर्पोरेसनका अध्यक्ष महम्मद एमिन उल अहसनबीच सम्झौता भएको थियो । सम्झौता भएको साढे तीन महीनापछि पहिलो लटको मल नेपाल आइपुग्न लागेको हो ।

कम्पनीले बङ्गलादेशबाट ल्याइने रासायनिक मल ढुवानीका लागि गत असोजमा संयुक्त अरब इमिरेट्स (युएई) को जेन्ट्रेड एफजेडएफ कम्पनीलाई जिम्मा दिइसकेको छ ।

पर्याप्त मौज्दात

धान रोप्ने मौसममा रासायनिक मलको अभाव भए तापनि हाल पर्याप्तमात्रामा मलको मौज्दात रहेको छ । कम्पनी र साल्टट्रेडिङ कर्पाेरेशनसँग पर्याप्तमात्रामा रासायनिक मलको मौज्दात रहेको बताइएको छ ।

कृषि कम्पनीसँग हाल ४० हजार मेट्रिकटन डिएपी, सात हजार मेट्रिकटन पोटास र १० हजार मेट्रिकटन युरिया मल मौज्दातमा रहेको छ । चालू आवको बोलपत्रमार्फत साल्ट ट्रेडिङले खरीद गरेको मलसमेत पर्याप्तमात्रामा रहेको छ । शुरुआती चरणमा कृषि कम्पनीको मल बिक्रीवितरण हुनेछ भने कम्पनीको मौज्दात सकिँदै गएपछि साल्ट ट्रेडिङले खरीद गरेको मलको बिक्रीवितरण शुरु हुने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी