यस वर्ष सुन्तलाको उत्पादनमा वृद्धि: घट्यो बजार

यस वर्ष सुन्तलाको उत्पादनमा वृद्धि: घट्यो बजार

  • बिहिबार, पुस ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

वालिङ, ८ पुस । स्याङ्जामा यस वर्ष सुन्तलाको उत्पादनमा वृद्धि हुनेभएको छ । गत वर्ष नौ हजार ९०० मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यस वर्ष दश हजार ५०० मेट्रिक टन उत्पादन हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सुन्तला सुपरजोन स्याङ्जाका प्रमुख माधव लम्सालले बताउनुभयो । सुन्तला सुपरजोन क्षेत्रमा गत वर्षको तुलनामा यसवर्ष ६०० मेट्रिक टन बढी सुन्तला उत्पादन हुने अनुमान छ ।

स्याङ्जामा सुन्तला सुपरजोनअन्तर्गत एकहजार ३४८ हेक्टर क्षेत्रफलमा सुन्तला बगैँचा रहेको छ । जसमध्ये ८०८ हेक्टर क्षेत्रफलमा रहेको बगैँचाले उत्पादन दिने गरेको छ भने ५४० हेक्टर क्षेत्रफलमा सुन्तलाका बिरुवा लगाइएको प्रमुख लम्सालले बताउनुभयो । सुपरजोनअन्तर्गत यसवर्ष ३० हेक्टर क्षेत्रफल वृद्धि गरी सुन्तलाका बिरुवा लगाउने लक्ष्य कार्यालयको रहेको प्रमुख लम्सालको भनाइ थियो । “गतवर्ष सुन्तला बिक्रीबाट सुपरजोन क्षेत्रभित्र मात्रै रु ३५ करोड आम्दानी भएको थियो, यसवर्ष कति हुन्छ, यकिन छैन ।” प्रमुख लम्सालले भन्नुभयो, “यसवर्ष कोभिड–१९ सङ्क्रमणका कारण सुन्तलाले बजार नपाउँदा किसान चिन्तित हुनुहुन्छ ।”

हालसम्म सुपरजोन लागू भएका क्षेत्रभित्र उत्पादन भएका सुन्तलामध्ये १५ प्रतिशत मात्रै बिक्री भएको तथ्याङ्क कार्यालयसँग छ । “स्याङ्जामा उत्पादन भएको सुन्तलालाई प्याकेजिङ र ग्रेडिङ गरेर चीन लैजाने सम्झौता भएको तर कोभिडका कारण निरीक्षणका लागि चीनबाट टोली नआएकाले प्रक्रिया अगाडि बढ्न सकेको छैन” प्रमुख लम्सालको भनाइ थियो ।

विगत वर्षमा आन्तरिकरुपमा सुन्तला बिक्री हुने गरेकोमा यसवर्ष कोभिड– १९ का कारण सुन्तलाको बिक्री घटेको हो । पोखरा–सुनौली जोड्ने सिद्धार्थ राजमार्गको दायाँबायाँ बाटोबाटै धेरैजसो सुन्तलाको खपत हुने गरेकोमा यस वर्ष सवारी साधन कम सञ्चालन हुनु, सुन्तलाले चिसो हुने र कोभिडको जोखिम बढ्ने भन्ने गलत बुझाइका कारण पनि सुन्तला कम मात्रामा खपत भएको उहाँको भनाइ छ ।

स्याङ्जाका एघार पालिकामध्ये पुतलीबजार, भीरकोट, वालिङ नगरपालिका र अर्जुनचौपारी गाउँपालिकामा सुन्तला सुपरजोन क्षेत्र घोषणा भई कार्यान्वयनमा रहेको छ । पुतलीबजारका १, २, ३, ७, १०, ११, १३, १४ वालिङको ४ नं वडा, भीरकोटको १,२,३,६,७,८ नं. वडा तथा अर्जुनचौपारी गाउँपालिकाको १, २ वडा सुन्तलाका पकेट क्षेत्र हुन् । सुन्तला सुपरजोन लागू भएका क्षेत्रमा किसान समूह ११५, निजी फार्म ७५ र सहकारी १३ वटा गरी कूल २०३ संस्था सूचिकृत भएका छन् । जसमा तीन हजार २५९ सदस्य आबद्ध रहेका छन् ।

औद्योगिक ग्रामको डिपिआर सम्पन्न

वालिङमा निर्माण हुने औद्योगिक ग्रामको डिपिआर सकिएको छ । वालिङ १० बैंडीमा निर्माणाधीन अवस्थामा रहेको औद्योगिक ग्राम सम्पन्न गर्नका लागि कूल रु २७ करोड ९५ लाख १३ हजार ९१२ लागत लाग्ने नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

केन्द्रीय सरकारले अगाडि बढाएको एक पालिका एक औद्योगिक ग्राम नीतिअनुसार वालिङ नगरपालिकाले नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारको संयुक्त लगानीमा औद्योगिक ग्राम निर्माणकार्य अगाडि बढाएको नगरप्रमुख खाँणले बताउनुभयो । “औद्योगिक ग्राम निर्माणमा तीन वटै सरकारको संयुक्त लगानी हुन्छ”, उहाँले भन्नुभयो, “यसको स्वामित्व स्थानीय तहमै रहने र व्यवस्थापन पनि स्थानीय तहले नै गर्नेछ ।”

औद्योगिक ग्रामको डिपिआर तयार भइसकेको र हाल आँधीखोला नियन्त्रणका लागि तटबन्ध तथा ग्रामसम्म पुग्नका लागि पहुँचमार्ग निर्माण गरिएको उहाँको भनाइ छ । विशेष गरेर स्थानीय उत्पादन, स्थानीय कच्चापदार्थको प्रयोग गरी सञ्चालन गरिने साना तथा मझौला उद्योग यहाँ सञ्चालन हुने उहाँले बताउनुभयो । उद्योग एकै ठाउँमा सञ्चालनमा आउने भएकाले पनि व्यवस्थापनका लागि सहज हुने भएको हो ।

पहिलो चरणअन्तर्गत केन्द्र सरकारको रु ९२ लाख, गण्डकी प्रदेश सरकारको रुल ३० लाख र बाँकी वालिङ नगरपालिकाको लागत सहभागितामा आर्थिक वर्ष २०७६÷७७ मा नदी नियन्त्रणका लागि रु एक करोड ४८ लाख ३३ हजारको लागतमा ठेक्का सम्झौता भई काम भइरहेको नगरपालिकाका इञ्जिनीयर ध्रुव रेग्मीले बताउनुभयो ।

औद्योगिक ग्रामले स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्ने र उद्योगी व्यवसायीलाई राहत मिल्ने विश्वास इञ्जिनीयर रेग्मीको छ । नगरपालिकाले वालिङभित्रका वडा नं १० बैंडी, वडा नं १ को बौवा, वडा नं ११ को पञ्चमूल, वडा नं १२ को धनमूढा, वडा नं १३ को बाह्रबिसे र वडा नं १४ को तिवारी पसल गरी पाँच स्थानमा औद्योगिक ग्राम निर्माणका लागि जग्गा छनोट गरेको र पहिलो चरणमा बैंडीमा काम थालिएको नगरपालिकाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी