काठमाडौँ मंसीर ४ । नेपालले पनि अब अन्य मुलुकहरुले बनाएको कोरोना बिरुद्धको भ्याक्सिन परीक्षण गर्ने भएको छ । सरकारले प्रस्ताव गरेको अध्यादेश राष््रपतिले स्वीकृत गरे पछि भ्याक्सिन परीक्षणका लागि कानुनी बाटो सहज भएको छ ।
औषधि ऐन २०३५ मा नयाँ औषधिको क्लिनिकल ट्रायल गर्न औषधि व्यवस्था विभागबाट अनुमति लिनुपर्ने व्यवस्था थियो ।
अध्यादेश मार्फत सरकारले कुनै पनि विदेशी मुलुकको सरकार वा सम्बन्धित नियामक निकायको अनुमतिबमोजिम क्लिनिकल ट्रायलमा रहेको खोप विकास गर्ने संस्था वा कम्पनीले त्यस्तो खोपको नेपालमा क्लिनिक ट्रायल गर्न चाहेमा अनुमति दिने व्यवस्था गरेको छ ।
नेपालमा यो भ्याक्सिनको परीक्षण गर्न कसैले पनि औपचारीक रुपमा प्रस्ताव यस अघि गरेका थिएनन् ।
अब भने कानुनी बाटो सहज भएकाले त्यस्तो प्रस्ताव आउन सक्ने अपेक्षा गरिएको छ ।
नेपालमा क्लिनिकल ट्रायल सफल भए औषधि वा खोप चाँडै भित्र्याउन सहज हुने स्वास्थ्य विज्ञहरुको भनाई छ ।
साथै अध्यादेशले खोप तथा औषधी महामारीका बेला सजिलै ल्याउन सकिने बाटो पनि खोलिदिएको छ । सन् २०२१ भित्र धेरै खोपहरुको विकास भईसक्ने लक्षण देखिएकाले कहाँ बाट कुन खोप ट्रायल गर्ने र कसरी खोप ल्याउने भन्ने बारे भने सामान्य गृहकार्य भए पनि सरकारले ठोस पहल लिईसकेको छैन । सचिव स्तरको समिति बनाएर काम भने अघि बढाईएको छ ।
रुस, चीन, अमेरीका र बेलायतले बनाएका खोपहरु नेपालमा संभावित परीक्षणको रुपमा आउन सक्ने अनुमान गरिएको छ ।