‘खाडी नपसौँ, झाडी पसौँ’ झाडीः पाल्पाका कृषकको अभियान

‘खाडी नपसौँ, झाडी पसौँ’ झाडीः पाल्पाका कृषकको अभियान

  • सोमवार, कार्तिक २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.1K
    SHARES

रामपुर, २४ कात्तिक । गाउँघरमा पाइने असुरो, तितेपाती, वनमारालगायतका वानस्पतिक वस्तुको सदुपयोग गर्न नजान्दा त्यसै खेर गइरहेका छन् । उता दिन प्रतिदिन हाम्रा खेतबारीमा रासायनिक मल र विषादीको प्रयोग बढ्दो छ ।

आफ्नै गाउँ ठाउँमा प्रशस्त वानस्पतिक वस्तु भए पनि प्रयोगमा बेवास्ता गर्दा रासायनिक मल, विषादीको प्रयोगले खेतबारीको उर्वराशक्ति नै नाश गरेको छ भने अर्कोतर्फ मानव स्वास्थ्यलाई नराम्रोसँग असर पारिरहेको छ ।

मानव स्वास्थ्य र खेतबारीको माटोको उर्वराशक्ति जोगाइराख्न पाल्पा रम्भा गाउँपालिका वडा नं १ हुँगी सघाहाका कृषक अहिले ‘खाडी नजाऔँ, झाडी ९जङ्गल० पसौँ’ भन्ने अभियानमा जुटेका छन् । खेतबारीमा रासायनिक मल तथा विषादीको प्रयोग बढ्दै जान थालेपछि यहाँका कृषकहरु घरेलु प्रबिधिबाट झाडस सफाई गरी मल उत्पादन शुरु गरेका हुन् । खेतबारीमा आवश्यक परेका बेला समयमा नै मल नपाइने र व्यापारीले पनि मल आपूर्तिको मौका छोपी कालोबजारीमा मल बिक्री गर्नेक्रम पनि उत्तिकै छ । दोब्बर, तेब्बर बढी मूल्य तिरेर रासायनिक मल खरिद गर्न कृषक बाध्य छन् ।

सघाहा गाउँका कृषकहरु मिलेर गत वर्षदेखि गाउँमा खेर गएका असुरो, तितेपाती, खिर्रो, वनमारालगायतका विभिन्न बोटविरुवाको प्रयोग गरी जैविक प्राङ्गारिक मल तथा विषादी बनाएर खेतबारीमा प्रयोग गर्ने गरेका छन् । ‘खाडी नजाऔँ झाडी पसौँ’ भन्ने अभियानका साथ वनजङ्गल, गाउँघर वरिपरिका झाडीलाई सफा गरी खेर गएका तितेपाती, असुरो, वनमारा, खिर्रो जस्ता वानस्पतिक पदार्थलाई मिश्रण गरी प्राङ्गारिक मल तथा झोल मल बनाउने गरिएको अगुवा कृषक ऋषिराम अर्यालले बताउनुभयो ।

“खेतीबारीमा रासायनिक मलको प्रयोगले माटोको उर्वराशक्ति नै कम हँुदै गएको छ, गाउँघरमै खेर गएका वानस्पतिजन्य वस्तुलाई कुहाएर जैविक प्राङ्गारिक मल बनाएर प्रयोग गरियो भने उत्पादन बढ्नेछ भने अर्कोतर्फ खेतबारीको माटो नबिग्रने भएकाले घरायसी प्रविधिबाट मल तयार गर्न थालेका छौँ”, उहाँले भन्नुभयो ।

घरायसी मल तथा विषादी खेतबारीमा प्रयोग गर्न थालिएपछि गाउँघरमा बाँदर आतङ्क पनि कम भएको उहाँको भनाइ छ । घरायसी प्रविधिबाट उत्पादन भएको मलको गन्धले खेतबारीमा बाँदर पसेर बालीनाली नोक्सान गर्ने कार्य हट्दै जान थालेको पाइएको छ ।

साथै धेरै उत्पादन लिन कृषकले मानव स्वास्थ्यलाई नै हानी पु¥याउने गरी बोटविरुवामा विषादीको प्रयोग गरिरहेका छन् । विषादी प्रयोगबाट उत्पादित कृषि उपजको सेवनले मानव स्वास्थ्यमा असर पारिरहेको जानकारी हँुदाहँुदै पनि विषादी प्रयोग गर्न भने कृषकले छाडेका छैनन् । यहाँका कृषक भने विषादी र रासायनिक मलको प्रयोग कम गर्नकै लागि यस अभियानमा जुटेर नमूना कार्य गरिरहेका छन् । उनीहरुले यो प्रविधिको प्रयोगले उत्पादनमा पनि फाइदा लिने योजना बनाएका छन् ।

कालीगण्डकी किनारको आडैमा रहेको लक्ष्मीनारायण धाम क्षेत्रमा रहेका झाडी सरसफाइ गरेर सोही ठाउँमा मल उत्पादन हुन थालेपछि लक्ष्मीनारायण धाम क्षेत्रको वातावरण सुन्दर र हराभरा बनेको छ । यहाँका कृषकले हाल एक रोपनी जग्गामा धान बालीका लागि युरिया मलको सट्टा २० देखि ३० लिटर झोल मल प्रयोग गर्ने गरेका छन् । सो जग्गामा पहिला धान बालीमा सात किलो युरिया मल साथमा अन्य डिएपीलगायतका मल पनि प्रयोग गर्ने गरेको कृषक बताउँछन् ।

कृषकहरु भन्छन्, “घरायसी प्रविधिबाट उत्पादित मलको प्रयोगले बाहिर बजारमा रासायनिक मल किन्ने खर्च बचत भयो भने बालीनाली राम्रो, खेतबारीको माटोको उर्वराशक्ति बढ्ने, गाउँघरमा खेर गएका झाडीजन्य पदार्थ सदुपयोगमा ल्याउन सकियो । रासायनिक मलको प्रयोगबाट मानव स्वास्थ्यमा परेको प्रभावलाई कमगर्ने कुरा त छँदैछ ।”

कृषकले उत्पादन गरेको मललाई ल्याब परीक्षण गरी गुणस्तरको मात्रा प्रमाणीकरण गरेर बजारमा लैजाने योजना बनाएको रम्भादेवी साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद पाठक बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “अघिल्लो वर्षको उत्पादन बालीनालीमा प्रयोग गर्दा असाध्यै राम्रो भएपछि कृषक आफैँ स्वतःफूर्तरुपमा उत्साहका साथ यस कार्यमा लागेका छन्, यस क्षेत्रमा रासानिक मल र विषादीको प्रयोग गर्ने क्रम पनि अहिले घट्दै गएको पाइएको छ ।”

गत वर्ष गाउँपालिकाले साना किसान कृषि सहकारी संस्थालाई पशु आहार र मलको परीक्षणका लागि रु १२ लाख रकम सहयोग गरेको थियो । सो रकमबाट अर्सेदी, सघाहा र अमिलटारी क्षेत्रका कृषकलाई जैविक प्राङ्गारिक मल तथा झोल मल उत्पादन कार्यमा आवश्यक पर्ने सामग्री खरिदमा खर्चिएको सहकारीका अध्यक्ष पाठकले बताउनुभयो ।

गत वर्ष असेर्दीमा दुई हजार २०० किलो, सघाहामा छ हजार २०० किलो र अमिलटारीमा एक हजार ८०० किलो मल उत्पादन गरिएको थियो । सो मल स्थानीयस्तरमा नै बिक्री गरियो । गतवर्षको सफल परीक्षणपश्चात् यस वर्ष भने सघाहा क्षेत्रका कृषक समूहमा जैविक मल उत्पादनमा कस्सिएका हुन् ।

समूहमा उत्पादन भएको वानस्पतिक वस्तुबाट जैविक प्राङ्गारिक मल र झोल मलको परीक्षण सफल भएपश्चात् अब निरन्तररुपमा रासायनिक मलको प्रयोगले उर्वराशक्ति नाश गर्ने तथा समयमा नै मल नपाइने समस्याका कारण कृषकले घरायसी मल बनाउन थालेका छन् ।

रासायनिक मलको सट्टा विभिन्न वनस्पति मिसाएर घरायसी मल तथा जैविक विषादी उत्पादन गरी खेतीबारीमा प्रयोग गर्न थालेपछि उत्पादन वृद्धि हुँदै गएको कृषक कुलराज रानाभाटको भनाइ छ ।

उहाँ भन्नुहुन्छ, “मैले बजारमा गएर रासायनिक मल र विषादी किन्न छाडेको धेरै वर्ष भइसक्यो, घरमै झारपात कुहाएर मल बनाउने गरेको छु, रासायनिक मलले क्षणिक समयलाई मात्र काम गर्ने हुँदा घरायसी मल उत्पादन गरेर प्रयोग गर्ने गरेपछि गाउँका अन्य कृषकले पनि घर घरमा सिको गर्न थालेका छन् ।”

उहाँले हालसालै तरकारी बालीमा प्रयोग गर्न करिब ६० लिटर झोल मल तयार पारेर राख्नुभएको छ । तरकारीमा रोग किरा लागेमा घरेलु प्रविधिबाट उत्पादित झोल मल छर्कने गरेको उहाँ बताउनुहुन्छ । उहाँ यस गाउँमा सबैभन्दा पहिलो घरेलु वस्तुबाट मल उत्पादन गर्ने पहिलो कृषक हुनुहुन्छ । उहाँकै सिकाइ र प्रेरणाले गर्दा गाउँका कृषकलाई जैविक मल उत्पादन गर्न सजिलो भएको छ ।

यहाँका १४० घरधुरीका कृषक बिहान खाना खाएपछि साँझ अबेरसम्म आलोपालो गरी अहिले कालीगण्डकीको किनारमा अवस्थित लक्ष्मीनारायण धाममा सामूहिकरुपमा मल उत्पादन कार्यमा जुटेका छन् । परीक्षणका रुपमा उत्पादन गरिएको मलबाट बालीनाली राम्रो भएपछि यो वर्ष कृषकहरु ठूलो परिमाणमा घरायसी मल उत्पादनमा आकर्षित भएका हुन् ।

यस वर्ष पहिलो चरणमा करिब ६० टन मल उत्पादन भइसकेको छ भने दोस्रो चरणको ४० टन जति मल उत्पादन हुदैछ । अगौटे आलुखेतीलाई मध्यनजर गर्दै मल उत्पादन कार्य भइरहेको स्थानीय छविलाल डुम्रे बताउनुहुन्छ ।

“पहिलो चरणमा उत्पादन भएको मल धान बालीमा प्रयोग गरियो भने दोस्रो चरणमा उत्पादित मल धान काटेर खेतमा लगाइने अगौटे आलु बालीका लागि प्रयोग गर्ने गरी तयारी अवस्थामा राखेका छौँ”, डुम्रेले भन्नुभयो ।

यो वर्ष युरिया मलको अभावका कारण यहाँका कृषकले जैविक प्राङ्गारिक मलबाट निस्केको झोल मल धान बालीमा प्रयोग गरेपछि धान खेती राम्रो हँुदै गएको कृषक रामचन्द्र रेग्मीले बताउनुभएको छ ।

समयमा नै मल नपाइने समस्याले कृषकलाई हैरानी खेप्नुपर्ने समस्या वर्षेनी आउँछ । यसरी घरायसी प्रविधिको प्रयोग गरी गाउँघरमा खेर गएका वानस्पतिक पदार्थलाई प्रयोग गरी मल उत्पादन गर्न थालेपछि स्वस्थ्य बाली उत्पादन अर्कोतर्फ रासायनिक मल तथा विषादीको प्रयोगले खेतबारीको माटो बिगार्ने समस्या कम हुँदै जाने रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारी बताउनुहुन्छ ।

उहाँले कृषकलाई यस कार्यमा उत्साह जगाउन र विषादीरहित बाली उत्पादनमा गाउँपालिकाको तर्फबाट सहयोगका कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।यहाँ अहिले घरेलु प्रविधिबाट मल उत्पादन हुन थालेपछि विभिन्न ठाउँका कृषकबाट माग आइरहेको छ । हाल जैविक प्राङ्गारिक मल प्रतिकिलो रु छ मा बिक्री हुने गरेको छ । धेरै ठाउँबाट माग आइरहेको र यस मलको प्रयोगले कृषि बाली उत्पादन राम्रो हुदै गएपछि कृषकमा उत्साह र जाँगर पनि बढ्दो छ । प्रारम्भिक चरणमा उत्पादन कम भएको हँुदा स्थानीयस्तरमा मात्र खपत भइरहेको छ । ल्याब परीक्षणपश्चात् कृषकले अन्यत्र बजारमा लैजाने सोच बनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी