सुदूरपश्चिममा धान उत्पादन वृद्धि हुने

सुदूरपश्चिममा धान उत्पादन वृद्धि हुने

  • शनिबार, अशोज २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

सुदूरपश्चिम , २४ असोज ।
सुदूरपश्चिम प्रदेशमा यस वर्ष बर्खे धानबाली उत्पादन वृद्धि हुने आँकलन गरिएको छ । धानबालीका लागि यस वर्ष पर्याप्त वर्षा भई अनुकूल मौसम देखिएकोले धान उत्पादन वृद्धि हुने अनुमान गरिएको हो । यद्यपि फड्के किरा र बाढी, पहिरो, डुवानको समस्या देखिएका कतिपय क्षेत्रमा भने उत्पादनमा ह्रास आउने अनुमान छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता एवं वरिष्ठ कृषि प्रसार अधिकृत गोकुलप्रसाद बोहराले गत वर्ष भन्दा धान उत्पादन केही बढ्ने अनुमान गरिए पनि यसको एकिन तथ्याङ्क आउन बाँकी रहेको बताउनुभयो । “कृषि प्राविधिकले धानबालीको उत्पादनको मापन गर्न ‘क्रफ कटिङ‘ कार्य गरिहेकोले उत्पादनको तथ्याङ्क आइसकेको छैन”, उहाँले भन्नुभयो, “बाढी, पहिरो, डुबानको समस्या र रोग किराको समस्या देखिएका क्षेत्रमा उत्पादन घट्ने देखिएपनि समग्रमा प्रदेशभरी पाँचदेखि दश प्रतिशत वृद्धि हुने अनुमान छ ।” बाली हुर्किने समयमा प्रयोग गर्नुपर्ने रासायनिक मलको अभावको समस्या कतिपय क्षेत्रका किसानले झेल्नुपरेको थियो ।

तराईका कैलाली र कञ्चनपुरमा खेती गर्ने सबै किसानले र पहाडका थोरै किसानले रासायनिक मल प्रयोग गर्ने गरेका छन् । उन्नत बीउबिजनको प्रयोग पछिल्ला वर्षमा बढ्दै जाँदा उत्पादकत्व पनि वृद्धि हुँदै गएको जनाइएको छ । क्षेत्रीय कृषि विकास निर्देशनालयको तथ्याङ्कअनुसार प्रदेशमा कूल एक लाख ८१ हजार ३९६ हेक्टर जग्गामा बर्खे धानखेती हुने गरेको छ । योमध्ये धान उत्पादनका मुख्य दुई जिल्ला कैलालीमा ७२ हजार ५०० हेक्टर र कञ्चनपुरमा ४८ हजार ४९० हेक्टर जग्गामा धानखेती हुन्छ ।

पहाडी क्षेत्रका डोटी, डडलेधुरा, बाजुरा, बैतडी, बझाङ, दार्चुला र डडेलधुरामा गरी झण्डै ६० हजार ४०६ हेक्टरमा धानखेती हुन्छ । प्रदेशमा बर्खे धानको वार्षिक उत्पादन पाँच लाख ८६ हजार ३५३ मेट्रिक टन र उत्पादकत्व तीन दशमलब २३ मेट्रिक टन प्रति हेक्टर रहेको छ । जिल्लागत रुपमा सबै भन्दा बढी धान उत्पादन कैलालीमा तीन लाख तीन हजार६९५ मेट्रिक टन हुने गरेको छ ।

कूल खेतीयोग्य जग्गा मध्ये झण्डै ५४ प्रतिशत जग्गामा सिँचाइको सुविधा भएकोमा बाँकी जग्गामा आकासको पानीका भरमा खेती हुने गरेको छ । खेत खनजोत गर्ने, बाली काट्ने र झार्ने जस्ता काममा आधुनिक कृषि औजारको प्रयोग बढ्न थालेपछि कृषकलाई धान खेती गर्न पहिलेको जस्तो असजिलो छैन । आधुनिक कृषि औजारको प्रयोगले खेती गर्दा समयको बचत हुनुका साथै परिश्रम समेत कम गर्नु पर्ने हुँदा पहिलेको भन्दा निकै सहज हुने गरेको कैलालीको गोदावरी नगरपालिकाका कृषक मदनराज भट्ट बताउनुहुन्छ । “कृषिको काममा आधुनिक कृषि मेसिनको प्रयोग बढ्दा निकै सहज भएको छ”, उहाँले भन्नुभयो, “समयमै मल, बीउबिजन, सिँचाइको नपाइनाले समस्या हुने गरेको छ ।” असार महिनामा रोपिएको धान पाकेपछि किसानलाई यतिवेला बाली काटेर भित्र्याउने चटारो छ । किसानको मुख्य आम्दानी स्रोतको रुपमा धानबाली रहेको छ । कृषकले आफूलाई आवश्यक पर्ने धान घरमा भण्डारण गरी बढी भएको धान स्थानीय व्यापारीलाई बिक्री गरेर खर्चको जोहो गर्ने गरेका छन् ।

प्रदेशका अधिकांश जिल्लामा चाड पर्वको समयमा नयाँ धानको चामल पिँधेर बनाइने पिठोबाट न्वागी, माणा, सिरौला, ढिक्रीजस्ता स्थानीय खानाका परिकार पकाएर खाने प्रचलन छ । धान, गहुँलगायतका बाली काट्नु अघि नयाँ बाला काटेर आ आफ्नो घरको दैलोमा र कूलदेवताको मन्दिरमा गोवरले टाँसेर पूजा गर्ने परम्परा पनि यो प्रदेशमा रहेको छ । गाइको गोबरले घरको दैलोमा टाँस्ने कामलाई ‘देली बालो’ लगाउने भनिन्छ । देली बालो लगाउँदा कूलदेवता खुशी हुने, अन्न उत्पादन बढ्ने र भण्डारण गरिएको बाली सुरक्षित हुने जनविश्वास छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी