असोज १२ काठमाडौँ । कोरोनाबाट बच्न साबुन पानीले नियमित हात धुने या स्यानीटाईजर प्रयोग गर्ने भन्ने अपीलका कारण धेरै मानिसले स्यानीटाईजर प्रयोग गरीरहेका छन् । यसै अवधिमा विभिन्न कम्पनीहरु स्यानीटाईजर उत्पादन र विक्री वितरणमा सक्रिय भईरहेका छन् ।
तर थुप्रै कम्पनीहरुले बजारमा मापदण्ड विपरीतका विषाक्त केमिकल प्रयोग गरेर बेचिरहेका छन् । त्यसैले बजारमा पाईने जस्तो सुकै स्यानिटाईजर प्रयोग पनि घातक हुने देखिएको छ । यस्ता स्यानीटाईजर कतिपय स्वदेशमै उत्पादित या भारतबाट आयातित समेत रहेका छन् ।
औषधि व्यवस्था विभागले थप ९ कम्पनीका ह्यान्ड स्यानिटाइजरको बिक्री वितरणमा रोक लगाएको छ । विषाक्त रसायन मेथानोल समावेश भएको तथा मापदण्डविपरीतका रसायन मिसिएको पाइएकाले विभागले ती स्यानिटाइजरमा प्रतिबन्ध लगाएको बताएको छ ।
विभागले रसायन समावेश भएका ह्यान्ड स्यानिटाइजरले मानव स्वास्थ्यमा गम्भीर नकारात्मक असर पार्ने हुँदा सर्वसाधारणलाई प्रयोग गर्न र नगराउन आग्रह गरेको छ । यस्तै यी स्यानिटाइजरको उत्पादन तथा बिक्रीवितरण रोक्न पनि विभागले सूचना जारी गरेको छ ।
प्रतिबन्ध लगाइएका स्यानिटाइजरमा भारत उत्तराखण्डको सिभिका कस्मेस्युटिकल्स कम्पनीको हर्बल ट्री ह्यान्ड स्यान्टिाइजर, पर्साको आर केमिकल इन्डस्ट्रीको क्लिन ह्यान्ड स्यानिटाइजर र बनेपाको कुमकुम हर्बल इन्डस्ट्रीको कुमकुम ह्यान्ड स्यानिटाइजरका रहेका छन् ।
त्यसैगरी ओम आरोग्य हेल्थकेयर प्रालिको इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर, काठमाडौंको साधना सप्लायर्सको साधना इन्सट्यान्ट ह्यान्ड स्यानिटाइजर र काठमाडौंको कालिका सोप एन्ड केमिकल्स प्रालिको ड्रोन ह्यान्ड स्यानिटाइजरको ९ पहेँलो रंग० र रंग नमिसाइएको रहेका छन् ।
यसअघि पनि सरकारले ९ वटा कम्पनीको ह्याण्ड स्यानिटाईजर उत्पादन र विक्री वितरणमा रोक लगाएको थियो ।