काठमाडौँ , २२ भदौ ।
नेपालमा कोरोना संक्रमण छ कि छैन भनेर पत्ता लगाउन अब एन्टिजिन परीक्षण गरिने भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
एन्टिजिनमार्फत शरिरमा भाइरसको मात्रा कति छ भनेर पत्ता लगाउन सकिने मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले बताए ।
स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, क्वारेन्टाइनमा भएका व्यक्ति र शंका लागेर चाँडै परीक्षण गर्नुपरेको अवस्थामा एन्टिजिनको प्रयोग गरिने बताइएको छ ।
यो परिक्षण एक हजार भन्दा कम मुल्यमा हुन सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
निषेधाज्ञा जारी गरेपनि कोरोना संक्रमित नघटेपछि तत्काल परीक्षण गरी नतिजा हेर्न एन्टिजिन परीक्षण गर्ने निर्णय भएको हो ।
आइतबार नै सात हजार थान एन्टिजिन किट जापानी कम्पनीले हस्तान्तरण गरेको छ ।
समुदायमा संक्रमित खोज्ने कार्यलाई तीव्रता दिन आरडिटी मार्फत रगतमा एन्टिबडी हेरिन्छ, तर एन्टिजिन किटबाट भने शरीरमा भाइरसको मात्रा कति छ भनेर हेरिन्छ ।
एन्टिजिन किटको प्रयोग गरेका देशमा प्रभावकारिता ९० प्रतिशतभन्दा माथि देखिएको स्वास्थ्य मन्त्रालयको दावी छ । एन्टिजिन हेर्न खकार र नाकबाटै स्वाब संकलन गरिन्छ । तर, यसका लागि परीक्षण पिपिआर मेसिनमा हाल्नुपर्दैन, छुट्टै किट हुन्छ ।
किटमा स्वाब हालेर घोलेको २० मिनेटभित्र नतिजा देखाउँछ । चिकित्सकहरूका अनुसार एउटा मात्रै धर्का देखाएमा त्यसलाई कोरोना नभएको मानिन्छ भने दुईवटा धर्का देखाएको खण्डमा पोजेटिभ भएको मानिन्छ ।