मोरङ , ५ भदौ ।
सोमबारदेखि प्रदेश नं का १६ जिल्लामा साल्ट ट्रेडिङ विराटनगरले युरिया मल वितरण गर्ने भएको छ । रासायनिक मलको हाहाकार भइरहेको बेलामा केही हदसम्म युरिया मलको अभावलाई टार्ने साल्ट ट्रेडिङ विराटनगरले मल वितरण गर्न लागेको प्रमुख राधेश्याम चौधरीले जानकारी दिनुभयो ।
प्रमुख चौधरीका अनुसार साल्ट ट्रेडिङ विराटनगरले २६० कृषि सहकारीमार्फत रासायनिक युरिया मल वितरण गर्ने बताए ।
कार्यालयमा आजै ३० मेट्रिक टन युरिया प्राप्त हुने र दुई दिनभित्र पाँच हजार ६०० मेट्रिक टन युरिया कार्यालयसम्म आइपुग्ने प्रमुख राधेश्याम चौधरीले जानकारी दिए । उनका अनुसार उच्च गुणस्तरको उक्त युरिया मल प्रतिबोरा मूल्य रु ७०० कायम भएको छ भने सहकारीले प्रति बोरामा १२ रुपैयाँ ५० पैसा छुट पाउने व्यवस्था गरिएको छ ।
विगतदेखि नुन, चिनी र रासायनिक मल किसानलाई उपलब्ध गराउँदै आएको यो कार्यालयले केही दिन पहिले छ हजार मेट्रिक टन युरिया मल किसानलाई उपलब्ध गराइसकेको कार्यालय प्रमुख चौधरीले जानकारी दिए ।
विगत दुई दशकको अवधिमा यसै वर्ष धान रोपाइँ पूर्वी क्षेत्रमा ९५ प्रतिशतभन्दा बढी अर्थात तीन लाख २२ हजारभन्दा बढी हेक्टर जमिनमा किसानले धान लगाएका छन् । धान रोपेको १३ दिनपछि किसानले खेतमा युरिया हाल्ने गर्दछन् ।
यस वर्ष मलको अभावमा किसानले युरिया मल हाल्न सकेका छैनन् । किसानले आफ्नै हिसाबले भारतबाट युरिया मल खरिद गरेर खेतमा हाल्ने गरेका छन् ।
भारतबाट खरिद गरिएको युरिया मलको गुणस्तर निकै निम्न रहेको कृषि विज्ञहरुको भनाइ छ ।
साल्ट ट्रेडिङले आफ्ना मातहतका झापाको विर्तामोड, सिरहाको लहान र सप्तरीको राजविराज तथा आफनै कार्यालयबाट मोरङ, सुनसरी, धनकुटा, भोजपुर, सङ्खुवासभा र तेह्रथुम जिल्लाका किसानलाई मल उपलब्ध गराउँदै आएको छ ।