सुदूरपश्चिम, १ साउन । सुदूरपश्चिम प्रदेशका कैलाली, डोटी र दार्चुला जिल्लामा आजबाट कृषि ज्ञान केन्द्रका कार्यालय स्थापना गरी सेवा विस्तार गरिएको छ ।
यसैगरी कैलाली, डोटी, दार्चुला र अछाम जिल्लामा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय पनि स्थापना गरी सेवा विस्तार भएको छ ।
सङ्घीयता कार्यान्वयनका क्रममा नेपाल सरकारले दिएको खाकानुसार प्रदेशको कञ्चनपुर, डडेल्धुरा, बैतडी, अछाम, बझाङ र बाजुरा जिल्लामा कृषि ज्ञान केन्द्र र बझाङ, बाजुरा, बैतडी, डडेल्धुरा र कञ्चनपुर जिल्लामा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय स्थापन भई सेवा प्रवाह भइरहेकोमा थप जिल्लामा यी कार्यालय स्थापना गरिएको हो ।
आजदेखि थप जिल्लामा कार्यालय स्थापना भएसँगै प्रदेशका सबै जिल्लामा कृषि र भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सेवा विस्तार भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको सिफारिसमा प्रदेश सरकारले गरेको निर्णयबमोजिम थप जिल्लामा कृषि र भेटेनरीका कार्यालय स्थापना गरी सेवा विस्तार गरिएको मन्त्रालयका प्रवक्ता खगेन्द्रप्रसाद शर्माले बताउनुभयो । ‘‘अर्को व्यवस्था नभएसम्म अहिले यो अस्थायी व्यवस्था हो”, उहाँले भन्नुभयो, स्थायी सङ्गठन संरचना बनाउनका लागि प्रदेश सरकारको पहलमा अध्ययन पनि भइरहेको छ ।”
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ९स्टाफ कलेज०ले सुदूरपश्चिम प्रदेशको सङ्गठन संरचनाबारे हाल अध्ययन गरिरहेको जनाइएको छ । एक जिल्लावाट अर्को जिल्लामा गएर सेवा लिनुपर्ने कृषकहरुको समस्यालाई मध्यनजर गरी सेवा प्रवाहलाई सहज बनाउन थप जिल्लामा यी कार्यालय स्थापना गरिएको हो ।
मन्त्रालयको पशुपन्छी महाशाखाका प्रमुख डा हेमराज अवस्थीले कर्मचारीको मौजुदा दरबन्दीबाट नै नयाँ थपिएका कार्यालय सञ्चालन गरेर सेवा विस्तार गरिएको बताउनुभयो । उहाँले भन्नुभयो ‘‘आर्थिक मितव्ययिताका साथै न्यूनतम् व्यवस्थापन खर्च हुने गरी कार्यालय सञ्चालनमा आउन लागेका हुन् ।”
देश सङ्घीय संरचनामा जानुअघि प्रदेशका सबै नौ जिल्लामा रहेका तत्कालीन ‘जिल्ला कृषि विकास कार्यालय‘ र ‘जिल्ला पशु सेवा कार्यालय‘ र मातहतका संरचनामार्फत कृषकहरुमा सेवा प्रवाह हुँदै आएको थियो ।
सङ्घीयता पछि जिल्ला कृषि विकास कार्यालयको नाम परिवर्तन गरी कृषि ज्ञान केन्द्र र जिल्ला पशु सेवा कार्यालयको नाम परिवर्तन गरी भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र राखिएको छ । सङ्घीयता पछि सञ्चालनमा आएका कार्यालयको प्रारुप भने पहिलेको भन्दा फरक रहेको छ ।
कर्णाली प्रदेश सरकारले पनि यसअघि नै सबै जिल्लामा कृषि ज्ञान केन्द्र र भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय स्थापना गरिसकेको जनाइएको छ ।