काभ्रे, १७ असार । व्यावसायिक बाख्रापालनमा कृषकलाई आकर्षित र प्रोत्साहन गर्न काेराेना महामारीकै बीच नमोबुद्ध नगरपालिकाले परम्परागत बाख्रापालन गरिरहेका कृषकलाई बोयर जातको उन्नत बोका निःशुल्क वितरण गरेको छ ।
नश्ल सुधार गरेर उत्पादन बृद्धि गर्नका लागि ११ वटै वडाका एक-एक जना कृषकलाई नगरपालिकाले पहिलो पटक बोयर जातको बोका वितरण गरेको हो । एक कार्यक्रमकाे आयोजना गरी कृषकलाइ बाेयर वितरण गरिएकाे हाे ।
कृषकलाई बाेयर बाेका वितरण गर्दै मेयर टि.पी. शर्मा तिमल्सिनाले नगरपालिकाले कृषकलाई पहिलो चरणमा बोयर जातको बोका दिईएको बताउनुभयो ।
बाख्रापालन गरिरहेका कृषकलाई उन्नत जातका बोका वितरण गरेपछि कृषकको आम्दानी बढ्ने र मासुजन्य उत्पादनमा सुधार आउने नमोबुद्ध नगरपालिकाले अपेक्षा गरेको छ । नगरपालिकाले बोका चितवनको जगतपुरबाट झण्डै ११ लाख रुपैयाँमा खरिद गरेर ल्याएको र बीमा समेत गरेको प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईले बताउनुभयो ।

कृषकलाई दिईएका बोकाको तौल २८ देखि ३८ किलोसम्म छ । १८ महिनाभित्र थप ११ वटा बोयर बोकाका पाठा नगरपालिकालाई कृषकले दिने छन् । कृषकले दिएका पाठा दोस्रो चरणमा ११ वटै वडाका कृषकलाई वितरण गर्ने नमोबुद्ध नगरपालिकाले जनाएको छ ।