काठमाडौं, असार १५ । आज असार १५ अर्थात राष्ट्रिय धान दिवस । यस दिन दही चिउरा खाने, धान रोपाई उल्लासका साथ गर्ने चलन रहेको छ ।
तर यस पटक एकातिर कोरोना महामारी र भर्खरै नेपाल प्रवेश गरेको सलहले कृषकलाई चिन्तत बनाएको छ ।
‘मुठी खाएर मुरी उब्जाउने’ महिनाका रुपका लिइने असार १५ का दिन आज चुनौतीका बीच पनि रोपाई गरिने छ ।
केही बर्ष अघि सम्म धान निर्यात गर्ने मुलुक अहिले धान आयात गर्ने भएको छ ।
नेपालको कृषि प्रणाली बैज्ञानिक बन्न नसक्नु र उत्पादनमुलक जमिन खण्डिकरण गरी घर घडेरीमा रुपान्तरण हुदै जादा धान उत्पादन कमी हुन थालेको हो ।
नेपालको पहाडी तथा ग्रामिण क्षेत्रका खेतबारी बैदेशिक रोजगारी र कमजोर उत्पादनका कारण बाझिँदै पनि गएका छन् ।
चालु आर्थिक वर्षको ११ महिनामा मात्र ३१ अर्बको चामल आयात गरिसकेको छ ।
नेपालको मनाङ र मुस्ताङ बाहेकका सबै जिल्लामा धान खेती हुने गर्दछ । नेपालमा मौसमको आधारमा चैते, बर्खे, घैया र बोरो धानको खेती हुँदै आएको छ । नेपालमा खेती गरिने कुल क्षेत्रफलको ४८ दशमलव ३ प्रतिशत जमिनमा धान खेती गरिन्छ ।
नेपालमा वि.सं २०६२ सालदेखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपामा मनाउन थालिएको हो । भोकमरीबाट मुक्तिका लागि संयुक्त राष्ट्रसंघले समेत सन् १९६६ लाई धानबाली बर्षका रूपमा मनाएको थियो ।
नेपालको कुल ग्राहस्थ उत्पादनमा ३८ देखि ४० प्रतिशत कृषि क्षेत्रको योगदान छ ।
नेपाल संसारकै सबैभन्दा उच्चस्थानमा धानखेती हुने देश हो । समुद्री सतहदेखि ७० मिटर उचाईमा अवस्थित झापाको केचनादेखि २ हजार ७ सय ८० मिटर उचाइको जुम्लाको छुमचौरमा पनि धान खेती गरिन्छ । यसरी जुम्लाको धान खेतीलाई विश्वकै सबैभन्दा उच्च स्थानमा गरिने धानखेती भनिन्छ ।
जुम्लाको मार्सी धान नेपालभरी नै कहलिएको धान हो । नेपालमा सबैभन्दा धेरै धान उत्पादन हुने नेपालमा सामान्यतया २५ डिग्री तापक्रमदेखि ३२ डिग्री सेन्टिग्रेड तापक्रम भएका स्थानमा धान खेती गरिन्छ ।
धान विश्वको प्रमुख बाली हो । यसको वैज्ञानिक नाम ओरिजा सेटिभा हो । खोज अनुसन्धान अनुसार धान सबैभन्दा पुरानो बालीमध्ये एक हो । यसको खेती हजारौं वर्ष पहिले नै गरिएको थियो ।
संसारको करिब ३ अर्ब ५० करोड मानिस अर्थात ६० प्रतिशत मानिसको मुख्य खाना चामलजन्य खाद्यान्नलाई नै मानिन्छ । एशियाली देशमा त ९० प्रतिशत बढी मानिस चामलजन्य खाद्यवस्तु खान्छन् ।