धम्बोझी, नेपालगञ्ज, ९ आसार । बर्दियाको बारबर्दिया नगरपालिकाले हरित कृषि क्रान्ति ल्याउने गरी नीति तथा कार्यक्रम पारित गरेको छ ।
“हरित कृषि क्रान्तिका माध्यमबाट विकास र समृद्धि हुने नीति तथा कार्यक्रमले जोड दिएको छ”, नगर प्रमुख दुर्गा वहादुर थारुले भन्नुभयो, “पचास प्रतिशत अनुदानमा कृषकलाई मल, वीउ र कृषि उपकरण वितरण गर्ने नीति नगरपालिकाले लिएको छ ।”
नगरपालिकाको सातौं नगरसभाबाट पारित गरेको रु ७८ करोड ८२ लाख ५० हजार बजेटसहितको नीति तथा कार्यक्रमलाई सार्वजनिक गर्दै उहाँले कृषि उत्पादनलाई आधुनिकीकरण गर्न उन्नत जातको वीउ बिजन, कृषि औजार र सामग्रीहरु कृषक तथा कृषक समूहहरुलाई निःशुल्क तथा लागत साझेदारीमा वितरण गरी कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व बृद्धि गर्ने नीति लिएको बताउनुभयो ।
प्रमुख थारुले पशुजन्य उत्पादनमा जोड दिंदै किसानलाई उन्नत पशु स्वास्थ्य सेवा निःशुल्क तथा लागत सोझेदारीमा सेवा दिई दूग्ध र मासु उत्पादनमा थप लगानी गर्न प्रोत्साहन गरिनेछ भन्दै पशु पंक्षी पालनमा किसानलाई पशु बीमा गर्न प्रोत्साहन गर्ने नीति लिइने बताउनुभयो ।
बजारमा उच्च माग भएका र तत्काल बिक्री वितरण गरी आय आर्जन गर्न सकिने नगदेबालीमा कृषकको प्राथमिकता र आर्कषण बृद्धि गर्न तालीम, समूह खेती, अध्ययन भ्रमण र अनुसन्धान गर्न थप लगानी गर्ने नीति लिएको उल्लेख गर्दै उहाँले धर्म, संस्कृति, पर्यटन र विज्ञान तथा जैविक विविधता सहितको तालतलैया संरक्षणमा जोड दिने नीति लिएको बताउनुभयो ।