बुद्धशान्ति । पछिल्लो केही महिना यता कोरोना भाइरसका कारण देशभर लकडाउनको चिन्ता भइरहेको बेलो बुद्धशान्ति गाउँपालिकाका किसानलाई भने आफ्नै खेतीको चिन्ताले सताएको छ ।
हिउंदे बालीको रुपमा फस्टाइरहेको मकै खेती फौजी किराले सखाप पार्न थालेपछि किसान चिन्तित भएका हुन । भर्खर भुई छोड्दै गरेको तथा धानचमरा आउन सुरुभएका मकैहरुमा समेत फौजीकिराको संक्रमण देखिएपछि यहाँका किसानलाई लकडाउनभन्दा खेतीको चिन्ताले बढि सताएको हो ।
दस कठ्ठा जमिनमा लगाएको मकै फौजी किराले सखाप पारेको भन्दै बुद्धशान्ती ६ बाबरीटार कि किसान चम्पा खतिवडाले चिन्ता व्यक्त गरिन् । मकैमा यस्तो किरा पहिलो पटक लागेको भन्दै उनले बारीमा गएर किरा टिप्दै कुखुरालाई दिने गरेको बताइन । किरा लागेको बोट काटेर र किरा टिपेर साध्ये नभएपछि मकैमा विषादी छर्कन बाध्य भएको उनले सुनाइन् ।
बुद्धशान्ती मूल कृषक समूह वडा न. ५ का अध्यक्ष धन बहादुर श्रेष्ठले मकैमा फौजी किरा पहिलो पटक लागेको भन्दै मकैमा बीस नै छर्कनु पर्ने अवस्था आफ्नो कृषि क्षेत्रको २० बर्षको अनुभबमा पहिलो पटक भएको बताए । बुद्धशान्ती गाउँपालिका भरी नै यो समस्या रहेकाले यसको नियन्त्रणको लागी गाउँपालिकाले विषादी दिएको र धेरै किरा लागेको किसानलाई त्यो बिसादी दिई सकेको उनले जानकारी दिए ।

फौजी किरा टिप्दै बुद्धशान्ति ६ की एक किसान विशेष गरी मकैको गुबामा यो किराले आक्रमण गर्ने भएकाले बिषादि नहाने सखापनै पार्ने बुद्धशान्ती मुल कृषक समूह वडा न. ६ का अध्यक्ष प्रेम न्यौपानेले बताए । गाउँपालिकाले सबै वडाका कृषि समूहलाइ इमामेक्टिममेन्जेट नामक औसधि निशुल्क दिएता पनि सबै किसान लाई पर्याप्त नभएको उनले गुनासो गरे । त्यस्तै बुद्धशान्ति १ स्थित होक्सेका किसान दमोदर ढुंगानाको खेतीमा पनि फौजी किराले संक्रमण गर्न थालेको छ । ‘यस अघि लगाएको धानवाली पनि फड्के किराले सखाप पारेको थियो अहिले मकैमा पनि नयाँ रोग फौजी किराले संक्रमण गर्न थालेको छ’ उनले दुख व्यक्त गरे ।
गाउँपालिका स्थित कृषि शाखालाई यसको बारेमा जानकारी गराउँदा विषादी लिएर जान अनुरोध गरेको उनले बताए । फौजी किराका बारेमा बुद्धशान्ति गाउँपालिका स्थित कृषि शाखाका प्रमुख कृष्ण ढुंगेल संग कुरा गर्दा बुद्धशान्तिको करिब ७०० हेक्टर बढिमा यसले क्षती गरेको बताए । फौजी किरा बुद्धशान्तिमा वडा नं २ स्थित जयपुरबाट करिब १० दिन अघि देखि सुरु भएको र हाल सम्पूर्ण वडाहरुमा फैलिइ सकेको उनले बताए ।
फौजी किराका नियन्त्रणकोलागी कृषि मन्त्रालयले वितरण गरेको विषादी बुद्धशान्तिको कृषि शाखाले निःशुल्क रुपमा वितरण गर्दै आएको उनले बताए । हालसम्म बुद्धशान्तिमा करिब ३०० भन्दा बढि कृषकहरुले औषधी लगिसकेको र फौजी किराको संक्रमण भएमा तुरुन्त कृषि शाखामा समन्वय गरी निशुल्क रुपमा औषधी लैजान उनले अनुरोध गरे । औषधी प्रयोग गरेको ठाउँहरुको मकैमा पहिलाको भन्दा धेरै सुधार हुँदै गएकोले फौजी किराको संक्रमण हुन थालेको देखिएमा तुरुन्त औषधी छर्कन उनले अनुरोध गरेका छन् ।
नेपाल एक कृषि प्रधान देश हो । तर परम्परागत तरिकाले खेती प्रणाली अपनाइरहँदा धान, मकै जस्ता यहाँका मुख्य नगदेबालीहरुमा विभिन्न किरा तथा रोगको संक्रमण हुन थालेको छ । गत वर्ष बुद्धशान्तिमा मात्र करिब १ करोड भन्दा बढिको धान फड्के किराको संक्रमण बाट नष्ट भएको थियो । स्थानीय तहले यस्को क्षतीपुर्ती दिने भनिएता पनि हाल सम्म कुनै किसानले क्षतीपूर्ती पाएका छैनन् । आधुनिक बीऊ बिजनको प्रयोग तथा जेटिएहरुको समन्वमा खेती गरे मात्र नेपाल कृषि पेशाबाट संवृद्ध हुन सक्छ ।