खेर गयो ६० लाख केजी हरियो चियापत्ती

खेर गयो ६० लाख केजी हरियो चियापत्ती

  • शनिबार, बैशाख ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

झापामा करीब ६० लाख केजी हरियो चियापत्ति खेर गएको छ । चियाको ‘फस्ट फल्स’ टिप्ने बेलामा कोभिड–१९ को संक्रमण फैलिन नदिन सरकारले लकडान घोषणा गरेपछि यहाँका बगानमा उत्पादित उक्त परिमाणका हरियो चियापत्ति खेर गएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका चिया अधिकृत इन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

“चिया टिप्न नपाउँदा पत्ति हुर्किएर गएको छ”, उहाँले भन्नुभयो, “जसका कारण किसानले ठूलो नोक्सान बेहोर्नु परेको छ ।” साधारणतः प्रतिकेजी रू २० का दरले हिसाब गर्दा पनि किसानले रू १२ करोड बराबरको क्षति भएको उहाँको भनाइ छ । इलाम, पाँचथर, धनकुटालगायत पहाडी जिल्लामा समेत १० लाख केजी हरियो चियापत्ति नोक्सान भएको चिया अधिकृत अधिकारीले जानकारी दिनुभयो । “पहाडी जिल्लामा १० दिन अघिदेखि चिया टिप्न थालिएकाले धेरै नोक्सान हुन पाएन”, उहाँले भन्नुभयो । झापामा १२ हजार हेक्टरमा चिया खेती हुँदै आएको छ ।

साना किसान चिया व्यवसायी संघ झापाका अध्यक्ष पूर्ण कार्कीले अहिले सबैभन्दा धेरै साना चिया किसान मर्कामा परेको बताउनुभयो । “पाकेको बाली भित्र्याउने अवस्था छैन”, उहाँले भन्नुभयो, “त्यसमा अझ ज्यान जोगाउनुपर्ने छ ।” अहिलेको मुख्य चुनौती कोरोना भाइरस सङ्क्रमण फैलिन नदिनु भएकाले चियाको व्यवस्थापन पछि सरकारले किसानलाई राहत दिनुपर्नेमा जोड दिनुभयो । पत्ति हुर्किएर खेर जाने अवस्था आए पनि बगानमा काम लगाउन नसकिएको उहाँको भनाइ छ । “काम गर्नेलाई केही भयो भने त्यसको व्यवस्थापन कसरी गर्ने रु”, उहाँले भन्नुभयो, “त्यसैले अहिले के गर्ने, नगर्ने भन्ने विषयमा साना चिया किसान ठूलो समस्यामा छन् ।” झापामा तीन हजार साना चिया किसानले चिया खेती गर्दै आएका छन् ।

चिया उत्पादक संघका केन्द्रीय सल्लाहकार चण्डी पराजुलीले ‘फस्टफल्ड’ को हरियो चियापत्ति ९० प्रतिशत नोक्सान भइसकेको बतायनुभयो । “राम्रो दाममा बिक्री हुने राम्रो चिया पत्ति लगभग खेर गएको छ”, उहाँले भन्नुभयो, “केही बगानमा चिया काटेर फालिसकिएको छ, केहीमा काटिँँदैछ ।”

जिल्ला प्रशासन कार्यालय झापाको रोहवारमा चिया उत्पादक संघ र चिया मजदुर प्रतिनिधिबीच आइतबारदेखि बगान र कारखाना सञ्चालन गर्ने सहमति भएको छ । कामदारलाई मास्क, हातधन साबुन पानी, सामाजिक दुरी कायम गराएर सुरक्षित तवरबाट काम सुचारु गर्ने सहमति भएको पराजुलीले बताउनुभयो । अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश नम्बर १ का इञ्चार्ज भूपाल सापकोटाले कोरोना भाइरसको संक्रमणबाट बच्न तोकिएका स्वास्थ्य सम्बन्धी मापदण्ड पूरा गर्दै चिया बगान र कारखानाको काम नियमित गर्ने निर्णय भएको बताउनुभयो ।

बगान तथा प्रशोधन कारखाना सञ्चालनका क्रममा तोकिएको स्वास्थ्यसम्बन्धी मापदण्ड पूरा भएरनभएको विषयमा अनुगमन गर्न नेपाल चिया तथा कफी विकास बोर्डको संयोजकत्वमा अनुगमन समिति समेत गठन गरिएको छ । समितिमा चिया उत्पादक संघ, झापा उद्योग संघ र ट्रेड युनियनका प्रतिनिधि छन् ।

यसअघि स्थानीय प्रशासन चिया उद्योगी, मजदुर संघ–संगठनबीच भएको बैठकमा चिया बगानमा सिँचाइ गर्ने, विषादी छर्किने, नाला सफा गर्ने, ठूलो भएको चिया स्किपिङ गर्ने र कारखाना मर्मत गर्ने काम अघि बढाउने विषयमा सहमति भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी