दाना नपाउँदा कुखुरालाई घाँस !

दाना नपाउँदा कुखुरालाई घाँस !

  • शनिबार, चैत्र २९, २०७६
  • – झलनाथ खनाल

  • 10.1K
    SHARES

कैलालीको टीकापुर नगरपालिका–३ का कुखुरा व्यवसायी ठाकुरप्रसाद चौधरीले कुखुराको दानाका लागि घाँस तयार पार्दै हुनुहुन्थ्यो ।

सरकारले मुलुकभर लागू गरेको लकडाउनका कारण दाना उपलब्ध नहुँदा करिब एक हप्तादेखि चौधरीले फार्ममा रहेका करिब ५०० कुखुरालाई घाँसको दाना बनाएर खुवाउँदै आउनुभएको छ । चौधरी मात्र होइन, यहाँका अन्य कुखुरा व्यवसायीले पनि उहाँकै सिको गर्न थालेका छन् ।

चैतेदशैँ र नयाँ वर्ष लक्षित गरी कुखुरा फार्म शुरु गरेका कुखुरापालक किसानले बजारमा दाना नहुँदा घाँस खुवाएर कुखुरा पालिरहेका छन् । ठाकुरले पनि माघ महिनामा ८०० कुखुराका चल्ला फार्ममा हालेको बताउँदै फार्ममा भएका कुखुरा ६० दिनभन्दा बढीको भइसकेको बताउनुभयो । ४५ दिनभित्र कुखुरा उठाइसक्नुपर्ने भए पनि लकडाउनका कारण हालसम्म ५० कुखुरा बिक्री नभएको उहाँले बताउनुभयो ।

“साहुसँग कुखुराका लागि दाना मगाउँदा दाना छैन भन्ने प्रतिक्रिया आउँछ । दैनिक कम्तीमा एक क्विन्टल दाना चाहिन्छ”, चौधरीले भन्नुभयो, “हप्तामै एक क्विन्टल दाना पाउन सकिएको छैन, मेहेनतको फल प्राप्त गर्ने बेला हाम्रो बेजोग भयो । आजसम्म बारीमा घाँस भएका कारण बल्लतल्ल घाँस खुवाएर कुखुरालाई बचाएको छु ।” बजारमा दाना पाउन छोडेपछि चौधरीले पाँच केजी दाना, २० केजी घाँस र ५ केजी चामलको भुस मिलाएर कुखुरालाई दिने गरेको बताउनुभयो ।

त्यस्तै, सोही ठाउँका मङ्गल चौधरीका एक हजार कुखुरा फार्ममा छन् । लकडाउनका कारण कुखुरा बजारमा नजाँदा २०० भन्दा बढी कुखुरा मरिसकेको मङ्गलले बताउनुभयो । उहाँले लघुवित्तबाट ऋण लिएर कुखुरा व्यवसाय सञ्चालन गरेको बताउँदै यस्तै अवस्था रहे आफ्नो रु आठ लाख डुब्ने खतरा आएको छ भन्नुभयो । उहाँले प्रत्येक महिना लघुवित्तको किस्ता तिर्नुपर्ने भएको उल्लेख गर्दै लकडाउनका कारण समूह नबसेकाले मात्र आफूलाई केही सहज भएको तर समूह बस्दा पैसा कहाँबाट जोहो गर्ने चिन्ता बढ्दै गएको बताउनुभयो ।

“किस्ता पैसा नतिर्दासम्म समूह उठ्दैन । किस्ता तिर्नलाई पैसा छैन । भएको पैसा कुखुरा फार्ममा खर्च भइसकेको छ”, मङ्गलले भन्नुभयो, “साँझ–बिहान अत्यावश्यक सेवाका लागि खुल्ने पसलजस्तै फ्रेस हाउस पनि खोल्ने भए केही राहत हुन्थ्यो । यस्तै अवस्था रहे रोडमा जानुको विकल्प छैन ।”

कुखुरा व्यवसाय गर्दै १८ जनाको परिवार धान्दै आएका जानकी गाउँपालिका–७ का उत्तम चौधरीको बिलौना पनि यस्तै छ । फार्ममा उत्पादन भई बजारका लागि तयार भएको कुखुरा लकडाउनका कारण फार्ममै रहँदा परिवारलाई साँझ–बिहानको जोहो गर्न समस्या हुँदै आएको उहाँले बताउनुभयो । “मसँग ७५० कुखुरा थिए । दुई सय कुखुरा मरे भने एउटा पनि बिक्री गर्न पाएको छैन”, उत्तमले भन्नुभयो, “परिवारको सबै आस भरोसा यही कुखुरा फार्म थियो । अहिले राहत माग्न जाउँ व्यवसाय छ । स्थानीय सरकार दिँदैन । नजाउँ परिवार भोकभोकै मर्ने अवस्थामा पुगिसकेको छ ।”

उहाँले स्थानीय सरकारलाई फ्रेस हाउस दैनिक दुईदेखि चार घण्टासम्म खोल्ने व्यवस्था गरिदिएको भए आफूजस्ता सयौँ कुखुरा व्यवसायीले ठूलो राहत पाउने बताउनुभयो । हाल टीकापुर नगरपालिकाभित्र पाँचा पोल्ट्री सप्लायर्स छन् । सप्लायर्सले आफँै लगानी गरी व्यवसायीलाई कुखुरा पाल्ने व्यवस्था गरेको भए पनि बजारमा मासु खपत नहुँदा समस्या हुँदै आएको नयन पोल्ट्री एण्ड फिड सप्लायर्सका सञ्चालक दिलीप बुढाले बताउनुभयो । उहाँले हालको अवस्थामा नगरपालिकाभित्र रु ६० देखि ७० लाख मूल्य बराबरको कुखुरा तयारी अवस्थामा रहेको तर दैनिक रु एक लाख मूल्य बराबरको कुखुरा पनि बजारमा गएको छैन् भन्नुभयो ।

सप्लायर्सका सञ्चालक बुढाले कुखुराको दानाका लागि कम्पनीले नगदमा मात्र कारोवार गर्न थालेपछि आफूहरुसँग भएको लगानी नउठ्दा दाना आयात गर्न सक्ने अवस्थासमेत नरहेको बताउनुभयो । “कुखुरा व्यवसायीलाई राज्यले केही छुट दिन आवश्यक छ । अहिले पोल्ट्री व्यवसायीहरु दिनप्रतिदिन धरासायी बन्दै आएका छन्”, उहाँले भन्नुभयो, “यही अवस्था रहे पोल्ट्री व्यवसायी रोडमा आउनुपर्ने अवस्था देखिएको छ । कहीँकतैबाट पनि हामीलाई सहज गर्ने बाटो पाइएको छैन ।” उहाँले तत्काल केही व्यवसायीसँग बारीमा घाँस भएका कारण त्यसलाई दाना बनाएर कुखुरालाई बचाउने काम गर्दै आएको भए पनि त्यो उपाय पनि दीर्घकालीन नहुने र घाँस सबै व्यवसायीसँग नभएको बताउनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी