विराटनगर, चैत २६ । लकडाउनका कारण बजारमा दुधको खपत घटेपछि विराटनगर दुध वितरण आयोजनाको पाउडर प्यान्ट २४ सैं घण्टा सञ्चालनमा ल्याएर किसानसँग संकलन गरेको दुधको पाउडर बनाउन थालेकेा छ ।
दुध विकास संस्थान, निजी डेरी, छुर्पी, चिज उद्योगहरुले दुधको पाउडर बनाउन थालेका हुन् ।
विराटनगर दुध वितरण आयोजनामा दुध विकास संस्थान अन्तर्गत हेटौंडा, जनकपुर र लुम्बिनीसम्मको दुध पाउडर बनाउनका लागि आउने गरेको आयोजनाका प्रमुख गणेशकुमार यादवले जानकारी दिनुभयो । आयोजना प्रमुख यादवले भन्नुभयो–प्रदेश १ लाई मिल्क होलिडे हुन नदिन कामका लागि निजी डेरी, उद्योग तथा संस्थानहरु अन्तर्गतको दुधको पाउडर उत्पादन गरिरहेका छौं ।
दुध खेर जान नदिनका लागि निजी डेरिसँग शुल्क लिएर पाउडर उत्पादन गरिने गरिएको । उत्पादन भएको पाउडरको बजार व्यवस्थापन निजी डेरी आफैंले गर्नेछन् । आयोजना प्रमुख यादवका अनुसार एक किलोग्राम पाउडर उत्पादन गरेको ११५ रुपिँया शुल्क निजी डेरीले बुझाउनु पर्नेछ ।
आयोजना अहिले दैनिक ५० हजार लिटर दुध संकलन हुँदै आएको छ । आयोजनामार्फत बजारमा दैनिक ८ हजारदेखि १० हजार लिटर दुध खपत हुँदै आएको छ । त्यस बाहेक संस्थान अन्तर्गतको दुध, निजी डेरी, उद्योगहरुको गरेर २५ देखि ३० हजार लिटर थप दुध संकलन हुँदै आएको छ ।
आयोेजनाले आफैंले संकलन गरेको दुधसहित अन्य उद्योगहरुको दुधबाट दैनिक ६ हजार किलोग्राम पाउडर उत्पादन गर्दै आएको प्रमुख यादवले जानकारी दिनुभयो । समग्रमा विराटनगरको यो आयोजनामा दैनिक ७२ देखि ७५ हजार लिटर दुध आउँछ, यादवले भन्नुभयो–दैनिक ४० देखि ४२ हजार लिटर दुधको पाउडर बनाउने काम भईरहेको छ ।
संस्थानमा निजी डेरिको ५ देखि ८ हजार लिटर, सप्तरीको महुलीको दुध संस्थाबाट ४ हजार लिटर, बुटबल दुध परियोजना (लुम्बिनी) बाट ६ देखि १० हजार लिटर, हेटौंडा दुध परियोजनाबाट १२ देखि २० हजार लिटरसम्म दुध पाउडर बनाउका लागि आउने गरेको छ ।
लक डाउनपछि पाउडर उत्पादन बढाउनु पर्ने बाध्यतासँगै आयोजनाको गोदाम समेत भरिदैं गएको छ । आयोजनाले दैनिक दुई हजार किलो घ्यू उत्पादन गरिरहेको छ । त्यस बाहेक एक हजार ५०० लिटर दही, एकहजार ५०० लिटर दुधको पनिर उत्पादन गरेर स्थानीय बजारमा बिक्री गर्दै आएको छ ।
विराटनगर, धरान, इटहरी, इनरुवा, विराटचौकसम्मको बजारलाई लक्षित गरेर दुधजन्य पदार्थको उत्पादन गरिदैं आएको छ । निजी डेरीहरु बन्द हुँदा यस्ता पदार्थहरुको अभाव भएका कारण उत्पादन भएको दुधजन्य वस्तु बिक्री भईरहेको आयोजना प्रमुख यादवको दावी छ ।
साविक भन्दा धेरै दुध संकलन गर्नुपर्ने बाध्यतामा रहेको आयोजनाले किसानसँग सरदर ४०–४२ रुपिँयामा गाईको दुध र ५०–५५ रुपिँयामा भैंसीको दुध खरिद गर्दै आएको छ । आयोजनाले स्ट्याण्डर्ड दुध प्रतिलिटर ६८ रुपिँया, क्रिम दुध ९२ रुपिँया, चिया दुध ६४ रुपिँयामा बिक्री गर्दै आएको छ । यसैगरी दही प्रतिलिटर ११० रुपिँया, पनिर ६ सय रुपिँयामा बिक्री हुँदै आएको छ ।
आयोजनाले किसानको दुधलाई खेर जान नदिनका लागि दैनिक ८० हजार कर्मचारीलाई सिफ्ट मिलाएर परिचालन गर्दै आएको छ । एक सिफ्टमा २५ कर्मचारी मात्रै कार्यलयमा उपस्थित हुने गरेका छन् । आयोजना मातहतका इलाम, पाँचथर, धनकुटा, तेह्रथुममा दैनिक ३० कर्मचारीले दुध संकलनको काम गर्दै आएका छन् ।
प्रदेश १ मा वार्षिक ५ लाख ६१ हजार १५० मेट्रिकटन दुध उत्पादन हुँने गरेको तथ्यांक छ । प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्यांक अनुसार ४८ लाख १८ हजार ८१५ जनसंख्यामा ४ लाख ३८ हजार ५१२ मेट्रिक टन दुध मात्रै खपत हुँदै आएको छ । एकजना व्यक्तिले वार्षिक ९१ लिटर दुध खानु स्वास्थ्यका हिसाबले लाभदायी मानिएको छ । प्रदेश १ मा वार्षिक १ लाख २२ हजार ६३८ मेट्रिकटन दुध खपत भन्दा बढी उत्पादन हुने गरेको तथ्यांकले देखाएको छ ।