काठमाडौँ, २४ चैत । बल्खु र कालीमाटीको तरकारी बजारमा भएको भीडभाड कम गर्न काठमाडौँ महानगरपालिकाले विभिन्न ११ स्थानमा तरकारीका बिक्री कक्ष निर्धारण गरेको छ ।
कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि महानगरपालिकाले कलङ्की चोक, बाफल चोक, स्वयम्भू चोक, वनस्थली चोक, गङ्गबु चोक, वसुन्धरा चोक, गोपीकृष्ण हल चोक, तीनकुने चोक, लैनचौर, रत्नपार्क र कोटेश्वरचोकमा लकडाउन अवधिभरि वैकल्पिक तरकारी बजार सञ्चालनका लागि स्थान तय गरेको हो ।
महानगरपालिकाको कृषि विभाग प्रमुख हरिबहादुर भण्डारीका अनुसार पहिलो चरणमा ११ ठाउँबाट थोक बिक्रीका लागि स्थान उपलब्ध गराएको बताउनुभयो । “कालीमाटी तथा बल्खुको फलफूल बजारमा बढ्दो भीडभाड नियन्त्रण तथा व्यवस्थापन गर्न हामीले विभिन्न ११ स्थानबाट बिहान ८ः०० बजेसम्म बिक्री गर्ने व्यवस्थाका लागि स्थान उपलब्ध गराइएको छ”, उहाँले भन्नुभयो । प्रमुख भण्डारीका अनुसार ती स्थानबाट सबै खाले फलफूल र तरकारी उपलब्ध गराइने छ ।
काठमाडौँका प्रजिअ जनकराज दाहालको अध्यक्षतामा बसेको बैठकले भारतबाट नेपाल भित्रिने तरकारी तथा फलफूल नेपाल भित्रिँदा उक्त तरकारी तथा फलफूलसँग भारतीय नागरिक पनि नेपाल प्रवेश गर्ने हुँदा कोरोनाको सङ्क्रमण फैलन सक्ने सम्भावनालाई दृष्टिगत गर्दै भन्सार विन्दुमा नै भारतबाट नेपाल भित्रिने तरकारी तथा फलफूल आयातमा पूर्णरूपमा रोक लगाउन माथिल्लो निकायमा अनुरोध गर्ने साथै व्यवसायीले फलफूल तथा तरकारी भारतबाट आयात गर्न नपठाउने पनि निर्णय गरेको छ ।