विश्वभर कोरोनाको संक्रमण फैलिरहेको छ । नेपालमा पनि एक जनामा संक्रमणको पुष्टी भएको छ । विश्वभरका समचार तरंगहरुले नेपाली समाजमा त्यत्रो ठूलो रुप र महामारी नलिए पनि मनोवैज्ञानिक आतंक भने बढेको देखिन्छ । सरकारले पनि लकडाउन गरेको छ । यसले समाजमा पारको मनोवैज्ञानिक अवस्थाको बारेमा अल्का अस्पतालमा कार्यरत नशा तथा मानसिक रोग बिशेषज्ञ डा. प्रदीप पाण्डेसगँ गरिएको कुराकानीः
कोरोनाको कारण मनोवैज्ञानिक त्रास कस्तो पाउनु भएको छ ?
मनोवैज्ञानिक त्रास बढिरहेको छ बिस्तारै । मेन्टल स्टेबल भएका जति पनि विरामीहरु छन् । उनीहरुमा कोरोनाको कारणले झन बढी संक्रमण भएको देखिन्छ । निन्द्रा नलाग्ने, कोरोनाको याद आउने , के हुने हो ? देशै सकिने हो कि ? नेपाली सबै मर्ने हो कि भनेर सोच्ने गरेका कारण मनोवैज्ञानिक त्रास बढेको नै देखिन्छ ।
अहिले तपाईहरुसम्म आईपुग्ने बिरामीहरु कस्ता कस्ता लक्षणका छन् ?
मुख्य समस्या चाहीँ कोरोनाको बारेमा धेरै सोचेर टाउको दुख्यो भन्ने,भारी भयो भन्ने , थकानको महसुस हुने, अनिन्द्रा, घरमै बस्दा ईरिटेसन बढ्ने , कतिपयले अझ यस्तो समस्याबाट मुक्त हुन भनेर रक्सी चुरोटको सहारा लिने, कन्सन्ट्रेसन पावर कम हुने,एउटै चिज दोहोर्याएर गर्ने खालको बानी जसलाई ओसीडी भन्छौ त्यो पनि देखिन्छ । जस्तो नेपाल सरकारले हात धुनुस् भनेको छ । अनि आधा आधा घण्टामा हात धुने समस्या देखिएको छ । साथै बच्चाहरुलाई घण्टा घण्टामा नुहाईदिने, सरकारले भनेको कुरामा घरकै सदस्यहरुबीच कसैले पालना गर्ने कसैले नगर्ने र झगडा गर्ने जस्ता समस्याहरु पनि देखिएका छन् । धेरै त्यही कुरा सोचिरहदाँ सपनामा आफूलाई कोरोना लागेको देख्ने अनि झसंग भएर उठ्ने जस्ता समस्याहरु छन् ।
कुनै व्यक्तिले कोरोना भयो कि के हो भनेर फिल गर्दा शरीरमा पनि परिवर्तन भएको देखिन्छ कतिपयमा यसलाई कसरी लिन सकिन्छ ?
यसको लागि सही सूचना एकदम जरुरी हुन्छ । नेपालमा वा भनौ विश्वमै मौसमका कारणले फ्लु , रुघाखोकी लाग्छ । त्यसलाई अहिले कोरोना लाग्यो भनेर महसुस गर्ने चलन बढेको छ । मौसम जुन हिशाबले परिवर्तन हुनु पर्ने हो भएको छैन । त्यसले सामान्य रुघाखोकी लाग्छ । यो कमन जस्तै छ । तर यसैलाई कोरोनासगँ जोड्न हुदैन ।
तर बुझ्नु पर्ने कुरा के हो भने तपाईलाई कोरोना हुनका लागि कम्तीमा एक सय २ डिग्री ज्वरो आउनु पर्ने हुन्छ । अथवा विदेशीहरुसगँको सम्पर्कमा आएको भए हुन सक्छ, वा अर्को ब्यक्ति जसलाई कोरोना लागेको छ उसगँको तपाईको सम्पर्क छ भने कोरोना कोरोना भएको हुन सक्छ । हुनतः यसलाई कसरी थाहा पाउने भन्ने पत्ता लगाउन निकै गाह्रो छ । त्यसैले सबै भन्दा राम्रो उपाय भनेको आफूलाई घरैमा क्वारेन्टाईन गरेर राख्नु भयो भने रुघाखोकी र सामान्य ज्वरो आए पनि आत्तिन पर्दैन । तर बाहिर निस्किरहनु भयो भने र विभिन्न मान्छेसगँ सम्पर्कमा जानु भयो भने भन्न सकिदैन ।
सरकारको अहिले सम्मको रिपोर्टलाई आधार मान्ने हो भने एउटा मात्रै मान्छेमा कोरोनाको लक्षण देखिएको छ । त्यो पनि क्वारेन्टाईनमा छ । त्यस कारणले अहिलेको धेरै लक्षण रुघाखोकीको लक्षण हो डराईहाल्नु पर्दैन ।
घरैमा क्वारेन्टाईन जुन भनिएको छ, कसरी घरको क्वारेन्टाईन भनेको कस्तो होला ?
सस्पेक्टेड केस र डाईग्नोस केसमा चाहीँ घरमा अरु सदस्यसगँ बसेर हुदैन । अस्पतालमै बस्नु पर्दछ । क्वारेन्टाईन कम कम्युनिकेसन होस् भनेर व्यवस्थापन गरिने हो । आफ्नो घरमा बस्ने त्यसबाट बाहिर ननिस्की रहनु लाई घरैमा बस्ने क्वारेन्टाईन भनिएको हो । अहिले सरकारले भनेको चाहँी जहाँ छौ त्यही बस भनेको हो ।
यो किन भने कोरोना आफैमा जटिल हैन , तर यसको फैलावट चाहीँ संवेदनशील छ । यसैलाई रोक्नका लागि होम क्वारेन्टाईनको कुरा आएको हो । किन भने तीव्र फैलावट भयो भने मानौं एक लाख जनामा पुग्यो भने चार पाँच हजार मान्छे त मर्न सक्छ नि । तसर्थ घरमा बस्ने बाहिर ननिस्कने , फैलन वा संक्रमण हुन सक्छ भनेर सरकारले भनेको हो यो सही समयमा भनिएको छ ।
हिजो एउटा बिरामी भेटिएको र टेकुमा भर्ना गरिएको सुनेर पनि कतिपय मान्छे आत्तिएको देखियो , यस्तो अवस्थामा के गर्ने ?
सरकारले जुन स्टेप लियो । सही समयमा हाम्रै सुरक्षाको लागि हो । यसले नागरिकको जीवन सुरक्षामा मद्धत पुर्याउछ । आत्तिएर वा त्रासको वातावरण सृजना गर्ने भन्दा पनि घरमै बसेर सरकारले भनेका नियमहरु लागू गरेर अनुशासित भएर बस्यौँ भने आफूलाई स्वस्थ्य , सृजनशील बनाएर राख्यौ भने दुई तीन हप्ता पछि सबै कुरा सामान्य हुन सक्छ फेरी ।
आत्तिने वा डराउने मानिसहरुका लागि परामर्शको लागि कुनै व्यवस्था छ कि छैन ?
सरकारले साईक्लोजिकल केसमै भनेर ठोस कुनै तयारी गरेको छैन । तर समस्याग्रस्त व्यक्तिहरुलाई यसको उपचार केन्द्रमै जानु पर्ने हुन्छ । यो अर्को कुरा मिडिया र सञ्जालहरुमा यसको समाचार आधिकारीक वा अनाधिकृत रुपमा समेत समाचार निरन्तर आईदिदाँ मानिसमा बढी त्रास बढेको जस्तो लाग्छ । मिडियाहरुले पनि सही र आधिकारीक श्रोतबाट समाचार दिने हो भने पनि यसमा कमी ल्याउन सकिन्छ । कसको इृन्फरमेसन लिने कसको नलिने ? निकै चूनौती छ । कोरोनाबाट धेरै आत्तिनु पर्दैन , यो लाग्ने वित्तिकै मरिदैन पनि तर सतर्कता चाहँी अपनाउनु पर्दछ । चौबिसै घण्टा कोरोना सुन्दा सुन्दै यसले दिमागमा अकुपाई गर्यो । केटाकेटी पढाउने,एक्सरसाईज गर्ने, केटाकेटी पढाउने आदि काम गरौं । बिहान देखि बेलुकासम्म त्यही कोरोना मात्रै टिभीमा , एफएममा, फेसबुकमा, ट्वीटरमा त्यसो भए पछि हामीले सचेत हुनु पर्छ । एक लाख मान्छे त कोरोनाबाट निको भएको भनेर विश्व श्वास्थ्य संगठनले भनिनै सकेको छ , भने पछि ध्यान दिऔं , नडराऔं , नआत्तिऔं ।