६ चैत, काठमाडौं ।
नेपाल टेलिकमले कोरोना भाइरसको संक्रमणको सतर्कताका लागि रिंगब्याक टोनमा सचेतना सन्देश दिन थालेको छ । कुनैपनि नम्बरबाट नेपाल टेकिलमको नम्बरमा सम्पर्क गर्दा कोरोनाको लक्षण र त्यसबाट कसरी सुरक्षित रहने भन्नेसहितको सन्देश दिन थालिएको हो ।
पटक-पटक सावुनपानीले हात धुन, व्यक्तीहरुसँग समाजिक दूरी कायम गर्न सन्देशमा भनिएको छ ।टेलिकमले ‘NT सूचनाको संसार’ सेवामार्फत कोरोना भाइरस (कोभिड–१९) बारे जानकारीमूलक उपयोगी सामग्री आफ्नो मोबाइलमार्फत ३२१०० नम्बर डायल गरी निशुल्क सुन्न सकिने व्यवस्था गरेको छ ।
टेलिकमले कोरोनाबाट बच्न अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका जानकारीसहितको रिंगब्याक टोन राखेको हो ।फोन नउठ्दासम्म यस्तो सन्देशसहितको सचेतना ब्याक टोन बज्नेछ ।उक्त नम्बरमा कल गरे पश्चात् कोरोना भाइरस (कोभिड–१९) के हो, यसका लक्षणहरु, फैलिने तरिका, उपचार विधि, संक्रमणबाट बच्न अपनाउनु पर्ने उपायहरु र अपनाउनु पर्ने सावधानी बारे विश्व स्वास्थ्य संगठनले जारी गरेका सूचकहरुका बारेमा जानकारी प्राप्त गर्न सकिन्छ । साथै यस सम्बन्धी थप जानकारी लिनका लागि नेपाल सरकारका हटलाइन नम्बरहरु समेत यहींबाट थाहा पाउन सकिन्छ ।
यसबाट सचेतना सन्देश एकैपटक आम रुपमा फैलाउन सहयोग पुग्ने कम्पनीले बताएको छ ।टेलिकमले गत असार महिना देखि नै ‘NT सूचनाको संसार’ सेवा कम्पनीका मोबाइल ग्राहकलाई उपलब्ध गराइरहेको छ । यो एक प्रकारको कल–इन सिष्टम हो, जसमा नेपाल टेलिकमको मोबाइलमार्फत ३२१०० मा कल गरेर ध्वनी निर्देशन पालना गरी नेपाली भाषामा कृषि, स्वास्थ्य, समाचार, मौसम, प्राकृतिक विपत् सम्बन्धी विभिन्न जानकारी निःशुल्क प्राप्त गर्न सकिन्छ ।