विराटनगर, चैत ४ । जुट मिल, चिनी उद्योग लगायतमा लगानी गर्दै आएको गोल्छा ग्रुपले पछिल्लो समय व्यवसायीक तरकारी उत्पादन सुरु गरेको छ ।
सुनसरीको बर्जुमा आधनिक खेति प्रणालीलाई अपनाउँदै गोल्छा ग्रुपले कृषि फार्म सन्चालनमा ल्याएको छ । जसको उत्पादन अहिले बजारसम्म पुग्न थालेको छ ।
अरिहन्त एग्री फार्म एन्ड रिसर्च सेन्टरले ग्रिन र नेट हाउसभित्रका टनेलमा थोपासिँचाइ प्रणालीबाट तरकारी खेती गरिरहेको छ । सेन्टरले उच्च मूल्यका र अफ सिजनका तरकारी उत्पादन गर्ने उद्देश्यसहित ग्रिन र नेट हाउसभित्र थोपासिँचाइको प्रवन्ध मिलाएको छ । खेतीबाट भेडे खोर्सानी (क्याप्सिकम), सृजना र करन जातका टमाटरको उत्पादन सुरु भएको हो । बर्षमा तीन पटक बाली लगाएर उठाउन सकिन्छ । अहिले त्यहाका उत्पादन बजारमा आउन थालिसकेको छन् ।
तीन वर्षअघि सुरु गरेको सेन्टरले हाल ८० बिघा जमिनमा खेती गरिरहेको छ । जसमध्ये ४० बिघामा उखु खेती छ । बाँकी १० बिघामा सुपाडी, १० बिघामा कागती, अमला, अम्बा, र १० बिघामा धान खेती गरिएको छ । यस वर्षदेखि मकै खेती पनि गरिने तयारीसहित तरकारी खेतिका लागि आधुनिक प्रणालीलाई अवलम्बन गरिएको छ ।

चालु सिजमा उखु प्रति बिघा ५ सय क्विन्टल र धान प्रति बिघा एक सय मन उत्पादन भएको थियो । परम्परागत खेती गरिरहेका छेउछाउका कृषकले उखु प्रति बिघा ३ सय क्विन्टल र धान प्रति बिघा ५० देखि ७० मन मात्रै फलाउँदै आएका छन् ।
तरकारीका लागि इजरायली प्रविधिबाट निर्मित टनेलमा सृजना जातको टमाटरको पातलो बोक्रोसहित फसल दिन थालिसकेको छ । यो छोटो अवधीसम्ममा उपभोग गरिसक्नुपर्ने हुन्छ । त्यहि टनेलमा करन जातको बाक्लो बोक्रो भएको टमाटर समेत उत्पादन सुरु गरिएको छ । यो १५ दिनसम्म खुल्ला हावामै टिक्न सक्ने सेन्टरका निर्देशक सोम अधिकारीले जानकारी दिनुभयो ।
ग्रिन र नेट हाउसभित्रको थोपा सिँचाइ खेतीमा लगाइएको बालीनाली हिउँद, तुषारो, कुहिरो, हावा, हुरी र असिनाजस्ता दैवीप्रकोपबाट प्रभावित हुँदैन । ग्रिन हाउसभित्र अनावश्यक ब्याक्टेरिया, कीटाणु र फङ्गसको प्रवेश हुन नसक्ने भएकोले बोटबिरुवालाई आवश्यक पर्ने तत्वले मात्रै प्रवेश पाउने निर्देशक अधिकारीको दावी छ ।

यस्तो ग्रिन हाउसका लागि इजरायलको विश्व प्रसिद्ध कम्पनी जेनेगरमा उत्पादन गरिएको धागो, डोरी, पाइप, प्लास्टिक नेट, आल्मुनियम नेट, मल्चिङ र डिप इरिगेसन पाइप प्रयोग गरिएको हो । ग्रिन हाउसको छानालाई दुई तहमा छाइएको छ । माथिल्लो भागमा प्लास्टिक र तल्लो भागमा अल्मुनियम नेट जडान गरिएको अधिकारीले जानकारी दिनुभयो । तापक्रम धेरै भएमा अल्मुनियम नेटले ग्रिन हाउस छोपिन्छ भने थोरै भएमा उघारिन्छ । यस प्रकारको नेटले ६ डिग्रीसम्म तापक्रम घटाउन सक्ने बताइएको छ ।
१३ कट्ठा जमिनमा ४० हजार वर्ग फिटको टनेल बनाएर परीक्षण सुरु गरेको सेन्टरले टनेल निर्माणका लागि ८० लाख रुपिँया खर्चेको छ । कृषि फारमलाई घेराबेरा गरिसकिएका कारण अब खर्च कम आम्दानी बढी हुने आशा राखिएको छ । ८० बिघा क्षेत्रफलमा यस्तै टनेलसहितको कृषि फारम विकास गर्ने लक्ष्य राखिएको छ ।

थोपा सिँचाइअन्तर्गत खेती गर्दा सम्पूर्ण जमिनमा सबैतिर सिँचाइ गरिँदैन, मल–विषादी र अन्य पोषक तत्त्व पनि जमिनभरि छरिँदैन । सिँचाइ, विषादी, मल, औषधि सबै पाइपबाट बिरुवाको जरासम्म थोपा–थोपा गरेर पठाउने प्रणाली विस्तार गरिएको छ । प्राविधिकका सल्लाह र सुझावमा बिरुवालाई चाहिने जति मात्र सिँचाइ, विषादी, मल र अन्य ओखती पाइपका माध्यमबाट पठाइने हुँदा यसलाई थोपा खेती भनिएको हो ।

एक वर्षमा ३ चक्र खेती गर्ने गरि टनेलका उत्पादनलाई बजारमा ल्याउने तयारी थालिएको छ । प्रदेशनम्बर १ कै नमुना खेतीका रूपमा यसलाई विकसित गर्न लागिएको निर्देशक अधिकारीले दाबी गर्नुभयो ।