हेटौडा, १ चैत ।
हेटौडा बजारबाट करिब ४ किलो मिटर पर । बीरगन्ज जाने रोड छाडेर जंगलभित्र छिर्दा भेटिन्छ निरौला दिब्य सेवा निकेतन बृदाश्रम । गेटभित्र छिर्दा देखिन्छन् तरकारीका टनेल र गमलामा फक्रदै गरेका काउलीका बोट । छेवैमा लैना गाई, बाछाहरु । अनी बृद्धबृद्धाहरु तरकारी बारीमा खोस्रिरहेका, कोहि कुटो बनाउदै अनी कोही घाँस काट्दै त कोहि वरिपरि टहल्दै ।
झट्ट हेर्दा यो घर बृद्धाश्रम हो भने पत्याउन कठिन पर्छ । जताततै हरियाली, तरकारीका बोटहरु, पशुपालन, अनी बृद्धबृद्र्धा आफ्नै धुनमा रमाईरहेका । ५६ बर्षदेखि १०१ बर्ष सम्मका बृद्धबृद्धा टमाटार, काउली धनीया, साग, सिमि आदी तरकारीसँग भलाकसारी गर्दै भेटिन्छन् । छेवैको गोठमा डुक्राईरहेका गाइलाई घाँस हाल्छन् । ती चाउरी परेका हातले स्याहर गरेका तरकारी टिपेर खान्छन्, गाईको शुद्ध दुध पिउछन् । नौलो तरकारी खान परे तेजराम निरौलालाई अर्डर गर्छन्, लौ न आज त पर्वल खान पर्यो ।
निरौला दिब्य सेवा निकेतन (बृद्धाश्रम)का केन्द्रीय अध्यक्ष हुन् । उनैले उक्त बृद्धाश्रमको रेखदेख गर्छन, सँगै अरु पनि छन् जसलाई तोकेरै बिभिन्न जिम्मेवारी दिईएको छ । वागमती प्रदेशको हेटौडा वडा नं १५ मा रहेको बेसहारा तथा असक्त बृद्धबृद्धाको बासस्थान सायद मुलुककै नमुना बृद्धबृद्धाको हो । जसले बुढ्यौलीले गाँजेर चाउरी परेका अनुहारमा सन्तुष्टीको हाँसो ल्याईदिएको छ, आफ्नो इच्छा अनुसार श्रम गर्न पाउने र ताजा तरकारी तथा दुध दहि उपलब्ध गराएको छ । यो खुशीमा साथ भने प्रदेश सरकारले पनि दिएको छ ।

८० फुट लामो र ३० फुट चौडाका तीन वटा टनेल । प्रत्येक टनेल १५ धुरमा बनेका छन् । ४० लाख ८८ हजार ६७ रुपैया लगानीमा टनेल निर्माण गरी तरकारी खेति सुरु गरिएको अध्यक्ष निरौला बताँउछन् । जसमा कन्दमुल तरकारी विकास केन्द्र सिन्धुलीको रु २५ लाख अनुदान र दिव्य सेवा निकेतन(बृद्धाश्रम)को १५ लाख ८८ हजार ६७ रुपैया लगानी छ । हेटौडा उपमहानगरपालीका १५ रातमाटे मकवानपुरमा रहेको यो बृद्धाश्रमले ९ वटा गाई पालेको छ । त्यही मलको प्रयोग तरकारी खेतिमा गर्ने गरिएको छ ।
सरकारकै नीति अनुसार यो बृद्धाश्रम सञ्चालन गर्ने उदेश्यले सरकारी अनुदानमा आधुनीक तरकारी खेती सुरु गरिएको निरौला बताउछन् । ८० बर्षे निरौला पेशाले आफै इन्जीनियर हुन् । उनलाई अझै आफूलाई बुढो भएको अनुभूति नभएको बताउछन् । उनी विना चस्मा किताव पत्रपत्रिका पढ्न सक्ने बताउछन् । उनी अहिले कुटो कोदालोसँग रमाउने गरेका छन् । २८ कट्ठा बृद्धाश्रमको जग्गा रहेकोमा १० कट्ठामा खेती गरिएको छ । जसमा गोलभेडा, बैगुन, फुल काउली, बन्दा, सिमि, धनीया, रायो लगायतका हरियो साग, मेथि, बैगुन लगायतका तरकारी लगाईएको छ ।

उनी भन्छन्, हामीलाई प्राविधिकको कमी छ, तर हामी आफैले सिकेर त्यसलाई व्यावहारमा उतार्ने कामको परिणाम हो यी बारीका तरकारीहरु ।
आश्रममा रहेकी शुभलक्ष्मी वाईवाले खेतीपातिको सबै अनुगमन र व्यावस्थापन गर्ने गरेकी छिन् । तराकारी खेतीका लागि आवश्यक कामदार खोज्नेदेखि रेखदेख सबै आफै गर्छिन् ।भने तरकारीका बीउ लिने, औजारहरु लगायत बजारको सबै जिम्मा दिदि सुनिता वाइजीको छ ।
गमलामा राेपिएकाे काउली गाेडमेल गर्दै ।
बृद्धाश्रममा अहिले २४ जना बृद्धबृद्धा छन् । उनीहरुको उपचारका लागि आश्रममै स्वास्थ्य चौकी पनि छ । यहाँ धर्म र जातीमा बिभेद छैन । बृद्धबृद्धा, कामदार र हस्पिटलको कर्मचारी गरी ३४ जना छन् ।
निरौला भन्छन्, ‘बिहानैबाट उठेर व्याम गर्ने, बारीमा गएर तरकारीको स्याहारमा लाग्छन्, कोहि पूजाआजामा लाग्छन् ।’ आश्रममा नै शिवको मन्दिर, बुद्धको चैत्य, ससस्वती को मन्दीरहरु छन् । यहाँ आफ्नो धर्म अनुसार पूजाआजा गर्ने गर्दछन्, केहि गाईको स्याहरमा पनि लाग्छन् । उनले थपे
आश्रम प्रांगणमा आराम गरेर बसिरहेका आमाहरु ।
तरकारी खेति सुरु गरेको एक बर्ष जति भयो। तीन वटा टनेलबाट तीन बाली उठाईसकेको छ । सुरुमा टमाटर, काउली, बन्दा लगाईएको थियो । अरु तरकारी आफैले प्रयोग गर्ने र टमाटर भने बजारमा बिक्रि गरिएको छ । एक सिजनमा टमाटर बेचेर ५० हजार आम्दानी भएको पनि निरौलाले सुनाए । तरकारीमा गाईको गोबर र प्राङगारीक मलको मात्रै प्रयोग गर्ने गरिएको छ । टमाटर बाहेक अरु सागसब्जि सबै आफै प्रयोग गर्दा ७० प्रतिशत बढी बारीकै तरकारीले धानेको छ ।
म बृद्ध भए भनेर सरकारले नै जबरजस्ती बृद्ध बनाईदिन्छ र भन्छ, त बुढो भईस अब भत्ता दिन्छु घरमा बस भन्छ ।तर त्यसरी म बुढो भ एभनेर केहि काम नगरी बस्दा रोग लाग्छ, ब्रेनको अल्जाईमर हुन्छ, व्यायाम नहुने हुँदा ८० बर्ष नपुग्दै मृत्यु हुन्छ । उनले भने, हामी २४ सै घण्टा सक्नेजति काम गर्छौ, कुदीरहेका हुन्छौ त्यसैले बुढो भएके अनुभव नै हुन्न म पनि ८० बर्ष कटिसके यहाँ त १०१ बर्षका बृद्ध आमा समेत मजाले हिडिँरहनु भएको छ ।
गाईलाई घास तयार गर्दै कपाली ।
टनेलमा तरकारी खेती गर्दा बिभिन्न रोग तथा समस्या देखिने पनि उनले बताए । बिशेष गरी टमाटरमा माथिबाट पात सुकेर जाने रोग लाग्ने रहेछ । त्यसलाई तत्काल बोट नै हटाईहाल्नु पर्ने नत्र भाईरल भएमा पुरै बारीको टमाटर नस्ट हुने रहेछ । यस्तै टमाटरमा पङगस हुने रहेछ । त्यसलाई पनि तत्काल नहेरेमा अन्य बिरुवाको जरामा पनि सरेर मर्ने हुन्छ ।
टनेल भित्र बिरुवा रोप्नु अघि ड्याङ बनाएर सिचाईका लागि पाईप बिच्छ्याउने अनी प्लास्टिक राखेर बिरुवा रोप्ने गरिन्छ तर बृद्धाश्रमले भने प्लास्टीक नराखि तरकारी रोपेको छ ।
ड्याङमा प्लास्टिक राख्दाको फाईदा र बेफाईदा दुबै छन् । प्लास्टिकले छोपेर राख्दा सिचाईका क्रममा पानी जमेमा तरकारी(टमाटर)को जरा कुहिएर फँगस हुने चान्स बढी हुन्छ । अर्को झारपात नउम्रिने श्रमशत्ति पनि जोगाउँछ । गोडमेल गरिरहनु पर्दैन तर सधै गोडमेल गर्नु नपर्नेहुँदा जरामा रोग लाग्यो कि लागेन भनेर देख्न भने सकिदैन ।
काउलीको बिरुवा रोप्दा दुई फिटको फरकमा रोप्नुपर्ने बताईन्छ । टनेलमा रोपिएको विरुवाको दुरी नाप गर्दै ।
हामी भने प्लाष्टिक नराखी टमाटर सहित सबै तरकारी रोपेका छौ, यहाँ बस्ने सबैले आफ्नो ईच्छामा सकेको काम गर्ने हुँदा स्याहर राम्रो छ ।
हाम्रो जहिलेसम्म हातगोडा चल्छ त्यतिबेला सम्म हामीले सकेको काम गर्नुपर्छ । बुढाबुढी भनेका ज्ञानका खेती हुन् । बुढाबुढीले ध्यान दिएर मेहनत गर्छ । सकेको काम गर्दा बुढो भको पनि अनुभव नहुने र स्वस्थ भईराखिन्छ , निरौला भन्छन् ।
टिस्टुङका गुढाधर कपाली ४ सालदेखि आश्रममा बस्छन् । बिहानै उठ्यो भुसा पखाल्यो, घाँस काट्यो, गाईलाई दियो, दुध दोयो । यसरी नै बित्छ उनको दिनचर्या । भन्छन्, यहाँ बसेर काम गर्नुपर्छ भन्ने छैन, आफुले सकेको काम गर्ने बस्ने हो । नसके आराम गरेर बस्दा नि हुन्छ ।
आश्रममा भारतको दार्जेलिङ देखि नेपालका बिभिन्न जिल्लाका बृद्धबृद्धा छन् । सबै आफुले सक्ने श्रम गर्छन, श्रमसँगै रमाउछन् । उनीहरु भन्छन्, हामीलाई यहाँ आफ्नै घरमा बसेजस्तो छ । केहि दुख छैन ।
आश्रममा भेटिएकी १ सय १ बर्षकी आमा भन्छिन्, श्रीमान् र सन्तान बिते । अनी यहाँ बसेको छु । यसो बाहिर निस्केर घुम्छु, तरकारीहरु हेर्छु । काम गर्न सके गर्ने हो नत्र बसिरहने हो ।
बृद्धाश्रममा भेटिएकी १०१ बर्षकी आमाको दिनचर्याबारे कुराकानी गर्दै पत्रकार सिर्जना तिम्सिना।
आश्रममा पुग्दा कोही भाडा धोई रहेको, कोही लुगा धुनमा ब्यस्त तर कोहि तरकारी बारीमा अनी केही गाईलाई खुवाउन भुसा धुदै गरेको भेटिन्थे । त्याँहा पुग्ने जोकोहीलाई लाग्छ यहाँका बुढा भईसकेका बा आमाहरु आश्रममा हैन आफ्नै घरमा छन् ।
खेती , श्रम ,जीवन र सामुहिक बसोबासको यो सौहार्दपूर्ण र मैत्रीपूर्ण व्यवहारले बृद्धाश्रमको जोसुकै आनन्दले बसेको देखिन्छ । श्रम मानव जीवनको अमुल्य पाटा हो, साथै सामाजिक र सामुहिक जीवन शैलीको यो आश्रमले धेरैको मन अड्याउने गरेको देखिन्छ ।
(आश्रमको स्थलगत अवलोकन पछि )
तस्बीर/भिडियाे हेर्नुहाेस् ।

