जनयुद्धप्रति मुख्य नेतृत्वले अपराध गर्योः मोहन वैद्य ‘किरण’- महासचिव, नेकपा (क्रान्तिकारी माओवादी )

जनयुद्धप्रति मुख्य नेतृत्वले अपराध गर्योः मोहन वैद्य ‘किरण’- महासचिव, नेकपा (क्रान्तिकारी माओवादी )

  • सोमवार, फाल्गुन ५, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

देशमा दश बर्षे जनयुद्ध शुरु भएको २५ बर्ष पुगेको छ । देश डगमगाउन सफल यो जनयुद्धले एउटा ठूलो सफलता पाउदै गर्दा यसलाई शान्ति सम्झौता मार्फत विसर्जन गरियो । र त्यसको मुख्य दोष प्रचण्डमाथि लाग्दै आएको छ । १७ हजार मानिसको रगत बग्नु, हजारौ वेपत्ता हुनु, हजारौ अंगभगं, घाईते र अपागं हुनु असाधारण रुपले भौतिक संरचनामा क्षति पुग्यो । तर त्यसबाट केवल माओवादीले उद्घोष गरेजस्तो जनवाद आएन , त्यस्तो व्यवस्था परिवर्तन आएन । केवल गणतन्त्र आयो , संघीयता र धर्मनिरपेक्षता आयो त्यसैलाई प्रचण्ड सहितका नेताले सपलता हो भनिरहेका छन् । जुनकुरासगँ जनयुद्धका अर्का प्रभावशाली नेता मोहन वैद्य ( किरण ) , नेत्रविक्रम चन्द – विप्लवहरु सहमत देखिदैनन् । यसै मेसोमा पत्रकार सिर्जना तिम्सिनाले जनयुद्धबाट देशले के पायो के गुमायो भन्ने बारेमा नेकपा (क्रान्तिकारी माओवादी ) का महासचिव मोहन वैद्य ‘किरण’ सगँ कुराकानी गरेकी छन् ।

तपाई १० बर्षे लामो शसस्त्र जनयुद्धको प्रभावशाली नेतृत्व हुनुहुन्थ्यो प्रचण्ड पछिको , अहिले त्यो जनयुद्धलाई फर्केर हेर्दा के देख्नु हुन्छ ? यसबाट देशले के पायो के गुमायो ?
दश बर्षको जनयुद्धलाई हेर्दा के लाग्छ भने त्यो एउटा नेपाली समाजमा र कम्युनिष्ट आन्दोलनमा पनि महान ऐतिहासिक परिघटना थियो । त्यसले विश्वलाई पनि क्रान्ति र रुपान्तरणको सन्देश दिदै अघि बढीरहेको थियो । फौजी दृष्टिले पनि जनमुक्ति सेनाको ठूलो दस्ता निर्माण गर्दै, देशका विभिन्न भागमा अस्थायी रुपमा आधार ईलाका र जनसत्ता निर्माण गर्दै अघि बढेको थियो । दोस्रो, पल्लिो कालखण्डमा आउदा पार्टी भित्रकै नेतृत्वले आन्दोलनप्रति गंभीर धोका दियो गद्धारी गर्यो । महान जनयुद्धलाई संसदवादको आहालमा लगेर डुबाए । देशभित्रका र बाहिरका प्रतिकृयावादी र क्रान्ति विरोधी शक्तिहरुसगँ आत्मसमर्पण गर्यो नेतृत्वले । यसले गर्दा जनयुद्ध विघटन हुन पुग्यो । तेस्रो कुरा जुन एउटा पार्टी भित्र नवसंसोधनवादी धारा देखा पर्यो त्यसका बिरुद्ध मौकैमा संघर्ष गरेर आन्दोलनलाई यो रुपमा धराशायी हुन नदिनका निम्ती क्रान्तिकारीधाराबाट जुन प्रयत्न गर्नु पर्ने थियो त्याहाँ पनि कमजोरी रह्यो र अहिले हामी यो अवस्थामा आएका छौं । जसले महान जनयुद्धमा जुन नेताहरुले प्रतिकृयावादका विरुद्ध र संसदबादका विरुद्ध संघर्ष गरिहेका थिए तीनै नेताहरु अहिले कम्युनिष्ट नामधारी सरकार बनाएर यो व्यवस्थालाई संरक्षण गर्न लागिरहेका छन् । देश र जनतालाई दिग्भ्रमित तुल्याईरहेका छन् ।
यति हुदाँ हुदै पनि यहाँ रहेको क्रान्तिकारी धाराले संसोधनवादका विरुद्ध माक्र्सवाद लेनिनवाद माओवादको आधारमा फेरी क्रान्तिको झण्डा उठाउदै नेपाली जनवादी क्रान्तिका कार्यभार पूरा गर्दै वैज्ञानिक समाजवाद साम्यवादमा जानु पर्छ भनेर लागिरहो छ ।

जनताको नजरबाट हेर्दा तपाई पनि नेतृत्व हो , प्रचण्ड पनि नेतृत्व हो अरु पनि थिए र प्रचण्डहरुले धोका दिए भने तपाईहरुले पनि केही गर्न सक्नु भएन , एक ढिक्का हुनु भएन भन्ने पनि छ नि ?
एउटा पाटो त यो हो कि गलत प्रवृति आउदा त्यसका विरुद्ध क्रान्तिकारी अरु नेतृत्वले संघर्ष गरेर लडेर जनयुद्धको प्रकृयालाई अघि बढाउनु पथ्र्यो । यसमा यो वा त्यो रुपमा निश्चित रुपमा कमजोरी भएको हो । यसलाई हामीले स्वीकार गर्नै पर्छ । तर कुरा के हो भने यस्तो होला भन्ने हामीलाई अन्तिम सम्म आउदाँ पनि लागेको थिएन । क्रान्तिकारीहरुमा पनि नेतृत्वप्रतिको भ्रम कायमै रह्यो । जुन बेला हामी जोड गरेर अघि बढ्यौ त्यो बेला स्थिति अन्तिम भईसकेको थियो आत्मसर्मणको प्रकृया । अब यसलाई क्रस गर्दै फेरी क्रान्तिकारी झण्डालाई अघि बढाउनु पर्छ भनेर लाग्यौ । तर हामीले हाम्रो कमजोरी महसुस गर्नै पर्छ ।

जनयुद्धको तयारीका क्रममा ५१ सालमा प्रचण्डले पेश गरेको सात बुदे प्रतिवद्धताको बुदा नं ३ मा एक पटक हतियार उठाए पछि त्यसलाई अन्त्य सम्म लैजाने दृढता विना शसस्त्र संघर्षको थालनी गर्नु सर्वहारावर्ग एवं आम जनताप्रति अपराध हुने कुरामा हामी दृढ छौं भनिएको छ । यो कुरा हेर्दा त जनताको निम्ती माओवादी नेतृत्वले गद्धारी वा अपराध गर्यो भन्न मिल्छ ?

त्यो सही हो । यो गद्धारी पनि हो अपराध पनि हो । तर के भने सबैलाई यो भन्नु भएन । जसले गद्धारी र अपराध गर्यो त्यो पक्षलाई भन्नु पर्छ । अर्को पक्षले सकेन त्यसलाई त्यही तरीकाले मुल्याङकन गर्यो । यस्तो खालको परिस्थितिहरु आउन सक्छन् । त्यस परिस्थितिसगँ जुध्नका निम्ति आवस्यक सतर्कता चाहिन्यो भन्ने कुरा अनूभुत गर्ने कुरा आयो । तर मुल नेतृत्वले अपराध गरेको हो । बदमासी गरेको हो ।

सेनाको ब्यारेकको तार बार काट्न नसके पछि अर्थात त्यही अल्झिएर सकिन्छ भनेर प्रचण्डले क्रान्तिको बाटो बदलेको भन्ने तर्क पनि अहिले प्रचण्डसगँै रहेका नेताहरुबाट सुनिन्छ । के यो साचो थियो ?
त्यो कुरा होईन किन भने क्रान्ति अप्ठ्यारो हुन्छ , जटिल हुन्छ भन्ने कुरा थाहै थियो त । फौजी दृष्टिकोणले यसको विष्लेषण गर्दा अलग्गै होला । यो त तुरुन्तै विद्रोह गर्ने , तत्कालै सत्ता कब्जा गर्ने , फाईट टु फिनिस गर्ने त थिएन नि त । दीर्घकालीन जनयुद्ध भनेकै त्यही हो नि त रणनीतिक रक्षा सन्तुलन र प्रत्याक्रमणका बीचबाट जान्छ । काडेतार बार थियो भने त्यसलाई कसरी फाल्ने भनेर सोच्ने मौका पनि त थियो । काडेतार बार थियो भनेर सुख पाइृन्छ ? त्यो भन्न मिल्दैन यो गलत कुरा हो ।
अब प्रचण्डहरुले नै पहिलेका ससोधनवादी प्रतिकृयावादी शक्ति एमालेसगँ मिलेर नयाँ पार्टी बनाएर अहिले शक्तिशाली सरकार बनाउन सफल भएका छन् । देशलाई सिधै समाजवादतिर लाने भनिरहेका छन् भने पछि अब तपाईहरु अलग्गै बसेर अर्को क्रान्ति होला त ?
पहिलो कुरा नामधारी नेकपाका नेताहरुको समाजवादको कुरा कस्तो समाजवाद ? प्रतिकृयावादी समाजवाद पनि हुन्छ, पूजीवादी समाजवाद पनि हुन्छ ,वैज्ञानिक समाजवाद हुन्छ । उहाहरुले सविधानमा छ भनेर हुदैन । त्यस्तो समाजवाद त भारतमा पनि छ । माक्र्सवादका आधारभूत मान्यताहरुलाई पुरै परित्याग गरेर पूजीवादी ससोधनवादी सत्ता र व्यवस्थालाई स्वीकार गरेर पुरानो राज्य सत्तासगँ पनि आत्मसमर्पण गरेर साम्राज्यवाद नवउदारवादले अवलम्वन गर्दै आएको अर्थतन्त्रलाई सिरानी हालेर त्यसैको निर्देशनमा अगाडी बढेर समाजवादमा जान्छु भनेको त काशी जाने कुतीको बाटो भने जस्तै हो । यो संभव छैन । उहाहरु साम्राज्यवादको , नवउदारबादको अंग बनिसकेको नवप्रतिकृयावादमा परिणत भईसकेको शक्तिले समाजवादको कुरा गर्ने भनेको प्रतिकृयावादी समाजवाद नै हो । त्यो असंभव कुरा हो । उहाँहरुको सबै गतिविधि हेर्दा कुरा क्लियर नै छ । त्यस्तो हुन्छ समाजवादी ?
अब जहासम्म हाम्रो कु्रा छ , हामीले सक्छौ । किन भने हरेक क्रान्ति , आन्दोलनमा पार्टीहरुको राजनीतिक बिचारधारा हुन्छ । सही बिचारधारा जरुरी छ । आजको समयमा ठीक ढंगले माक्र्सवाद लेनिनवाद माओवादको ठीक ढंगले अवलम्वन गर्नु पर्छ । त्यही अनुसारको कार्यदिशा बनाएर गए पछि फेरी क्रान्ति गर्न सकिन्छ । किन भने जनताका समस्याका समाधान भएका छैनन् , जनजीवीका , राष्ट्रियताको समस्या समधान हुन सकेको छैन । अहिले हेरौं कालापानी क्षेत्रलाई भारतले आफ्नो नक्सामा पार्दा पनि सरकार चुप छ । यत्रो सविधान बनायौ भनेर भने उनीहरुले सविधानमा निशान छापमै नेपालको भूमि गायब छ । अहिले सम्म सरकारले सिमानाको पूरा नक्सा सार्वजनिक गर्न सकेको छैन । अर्कोतिर अमेरीकी साम्राज्यवाले ईन्डो प्रशान्त रणनीति अन्तर्गत एमसीसी ल्याउदा पनि सरकार चुप छ । देशमा रोजगारी छैन , युवाहरु विदेशी राखेका छन् । यता ल्याउने भन्ने कुरा छैन , रोजगारीको कुरा छैन । अर्थतन्त्र धराशायी भईरहेको छ । राष्ट्रियता र जनजीवीकाको यीनै समस्या समधान गर्न फेरी हामी जनतालाई लिएर अघि बढ्छौ । नयाँ जनवादी क्रान्ति गर्दै वैज्ञानिक समाजवादमा जाने कुरा र जीत्ने कुरा निश्चित छ ।

प्रचण्डहरूले तपाईलाई जनसुत्रवादी भयो, दर्शन मात्र पढ्ने भयो गर्न केही सकेनन् भनेर आरोप लगाउने गरेका छन् नि ?
जडसुत्रवादको दुई किसिमको आरोप हुन्छ । साचो माक्र्सवादीले जडसुत्रवादको विरुद्ध लड्छ हामी पनि लड्छौं । यो आरोप उहाहरुले क्रान्तिकारी भएर लगाएको भए ठीकै हुन्थ्यो । आफू प्रतिकृयावादमा पतन हुने अनि हामीलाई जडसुत्रवादी भन्ने आरोप लगाउन सुहाउछ र ? क्रान्तिकारीले पो लगाउन सुहाउछ त भन्नुस् । म एउटा व्यक्तिको कुरा हैन । पार्टीको कुरा हो । नेतृत्वको पङिक्त छ कार्यकर्ता पनि छन् । कमजोरी हुन सक्छ । बैचारीक रुपमा कमजोरी हटाउदै जान सकिने कुरा भयो । तर उहाहरुले हामीलाई त्यस्तो आरोप लगाउन सक्दैन ।
ईमान्दारीपूर्वक जनता सामु बोल्ने हो भने १७ हजार मान्छेको रगत, हजारौं वेपत्ता , यातना, घाईते , अपागं भएको र असाधारण रुपले भौतिक संरचनाहरुको क्षति भएको त्यो युद्धले आधारभुत रुपमा सर्वहारा, मजदुर, किशानका लागि के शिक्षा दियो ?
क्रान्ति गर्दा क्षति हुन्छ । शहादत पनि प्राप्त गर्नु पर्ने हुन्छ । भौतिक संरचना पनि क्षति हुन्छ । तर त्यो क्षतिको परिणाम सकारात्मक ढंगले क्रान्ति अघि बढ्नु पर्यो त्यो सह्य हुन्छ । तर क्रान्ति पूरा नभएको अवस्थामा जुन क्षति भयो , त्यसले मुल्याकंनको माग गर्दछ । यत्रो मान्छेको रगत बग्यो तर खै के भयो ? रगत बग्ने र क्षति हुने कुरा त यो समाजमा व्यवस्थामा सधै भरी भईरहेकै छ । अझै पनि खान नपाएरै पनि मान्छे मरेकै छन् । भौतिक संरचनाको क्षति भूकम्प आउदा पनि त हुन्छ । त्यो बलिदान विना हामीले रुपान्तरण त हुन्न । यो शहादतको मुल्य खेर गएको छैन । यही शहादत , त्याग,बीरता र बलिदानको मुल्यमा राम्रो सगं अघि बढेर अघि बढ्नु पर्दछ ।

के क्रान्ति पूरा गर्ने भनेर हिमालयको काख अर्थात नेपालमा फेरी त्यस्तो शक्तिशाली युद्धको पुनः परिकल्पना गर्न सकिन्छ ?
के नेपाली जनता यही अवस्थामा बसिरहन चाहन्छन् त ? के नेपाली जनताले ओलीहरुकै सरकार सधैभरी देखिरहन चाहन्छन् त ? या फेरी काग्रेसको नेतृत्वमा अर्को सरकार बनाएर हेरिहन चाहन्छन् त ? जनता परिवर्तनशील छन् । संसदीय चक्र मन पराएका छैनन् । दुनिया परिवर्तनशील छ । हाम्रो आन्दोलनको प्रकृया पनि नयाँ परिवेश अनुसार नयाँ तरीकाले अघि बढ्छ । हामीले जनयुद्धको प्रकृयामा एक ढंगले अघि बढेका थियौं । तर अब फेरी उही प्रकृयाले दोहोरिदैन । नयाँ परिस्थितिमा नयाँ ढंगले जनताको समस्या बुझेर जनताको बीचमा गए पछि फेरी अघि बढ्छ । जनता पनि नयाँ परिस्थितिमा नयाँ ढंगले आउछन् । जनता विना हामी एक्लै सक्दैनौ नि क्रान्ति गर्न । कुनै पार्टीले क्रान्ति गर्छु भन्दैमा हुदैन ।
हिजो चौथो महाधिवेशनका बेला लामा जी, मोहन जी, हामीहरु थियौं । चौथो महाधिवेशन तीन टुक्रा भएको थियो र हामी मोटो मशाल थियौं । मोटो मशाललाई कसैले गन्दैन थिए । तर हामीले क्रान्ति गर्नु पर्छ भनेर हिम्मत गर्यौ । अहिलेको भन्दा पनि सानो थियो त्यतिखेरको पार्टी । कमजोर शक्तिले कसरी अघि बढ्न सकिदो रहेछ त भनेर भोगेर आएका छौ त । हामीले नीतिगत रुपमा गल्ती गरेनौ र जनताको साथ लियौ भने हामी अघि बढ्न सक्छौ । तर क्रान्ति उही तरीकाले हुदैन । तर क्रान्ति अनिवार्य , आवस्यक र संवभ छ ।

अब तपाईहरुको क्रान्तिको बाटो कस्तो हो त ?
अहिले हामी शक्तिको आर्जन गरीरहेका छौं । संगठन बनाउदै गईरहेका छौं । यही बेला सबै देखिहाल्छ भन्ने हैन । पूरानै तरीका, पुरानै कार्यदिशाले हुदैन । माक्र्स लेनिनले शसस्त्र जनविद्रोहको कार्यदिशा विकास गर्नु भयो । माओले दीर्घकालीन जनयुद्धको कार्यदिशा विकास गर्नु भयो । अरु देशमा त्याहाँका क्रान्तिकारी पार्टी र सर्वहारा बर्गले सोचिरहेका हुन्छन् । हामी पनि नयाँ कार्यदिशाको विकास गर्ने प्रकृयामा छौं । क्रान्तिको विकास हुन्छ ।

विप्लवले एकीकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवादमा जाने भनिरहेका छन् । अहिले राज्यले प्रतिवन्ध लगाएर केही नेता कार्यकर्ताको ज्यानै गएको छ भने १३ सय बढीलाई जेल हिरासतमा राखिएको छ । विप्लवको नेतृत्वको आन्दोलन र राज्यको दमनको नीतिलाई कसरी हेर्नु भएको छ ?
विप्लव जी हरुको नेकपामाथि राज्यले जो प्रतिवन्ध लगाएको छ । दमन गरीरहेको छ राज्यले त्यो एकदम गलत छ । कम्युनष्टि पार्टीलाई सात सालको परिवर्तन पछि पनि प्रतिवन्ध लगाईएको थियो । त्यो प्रतिकृयावादीको प्रतिवन्धको ईतिहासको घटना भयो । तर अहिले आउदा खेरि आफूलाई कम्युनिष्ट नै भन्नेले नाम पनि एउटै भएको पार्टीमाथि प्रतिवन्ध लगाउनु सिधा बदमासी हो । जनतन्त्र ध्वस्त भएको छ, कम्युनिष्ट भन्ने मान्यता पनि ध्वस्त पारे । यो जनघाती, तानाशाही,फासीवादी कदम हो । त्यसै गरी धरपकड गरेर थुप्रै नेता कार्यकर्ता जेलमा छन् त्यो गर्नु हुदैन । विप्लवको राजनीतिक पार्टी हो । वार्ता संवाद गर्नु पर्छ । यो राजनीतिक समस्या हो र यसको समाधान राजनीतिक तरीकाले गर्नु पर्छ ।
अर्कोतिर विप्लवजीहरुको पनि आफ्नो सिमा र कमजोरीहरु छन् । विप्लवको जुन कार्यदिशा हो त्यसमा पनि पुग्या छैन । एकीकृत जनक्रान्तिको कार्यदिशाले नेपालमा क्रान्ति हुदैन । यसको विकास हुनु पर्छ परिमार्जन गर्नु पर्छ । त्यो एक रहस्यमय छ । त्यसको आलोचना पनि हामीले गरेका छौं । सरकारले विप्लव शसस्त्र संघर्षमा गयो भन्ने ठानेको छ । विप्लवजीहरुको वक्तव्य हेर्यौ भने सेना विरुद्ध हैन, प्रहरी विरुद्ध पनि हैन भन्नु हुन्छ । दलाललाई मात्र हो भन्छन् । दलालको संरक्षण गर्ने सरकारलाई नहान्ने ? त्यसैले हामी के सुझाव दिन्छौं भने यसलाई विकास गर्नुस् ।

क्रान्ति गर्छु भन्ने तपाई, विप्लव अरु पनि त्यही दिशामा रहेकाहरुका बीचमा एकता हुने र अघि बढ्ने संभावना छ कि छैन ?
क्रान्तिकारीहरुलाई जोड्नु पर्छ । यताबाट विद्रोह गर्दै ओलीजीहरुको पार्टीमा गईरहेका छन् भन्ने पनि छ । अवसरवादीहरु जने भाग्ने पनि भईरहन्छ । उनीहरु सरकारमा ससदमा भएकाले शुभलाभ प्राप्त गर्न गईहाल्छन् । ओली जीहरु सधै सरकारमा त हुनुहुन्न । फेरी त्यस्ता मान्छेहरु अर्को सरकारी पार्टीमा जान्छन् । तर क्रान्तिकारीहरुले आफ्नो पक्तिलाई बलियो बनाउनु पर्छ । जनता कति छन् कति संगठनको स्रोत त जनता हो नि त ।
दोस्रो कुरा क्रान्तिकारी कम्युनिष्टहरुमा टुटफुट छ । त्यसलाई गोलवद्ध गर्ने दिशामा प्रयत्न गरीरहेका छौं । निश्चित रुपमा हामी सफल हुन्छौं ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
हामीले २४ वर्ष अघि जनयुद्ध शुरु गर्यौ । जनवाद समाजवाद साम्यवादमा पुग्ने हाम्रो लक्ष्य पूरा भएको छैन । त्यो लक्ष्य पूरा गर्न हामी दृढतापूर्वक अघि बढ्छौं । -रातो सुखानीबाट/तस्बिरः बाशुदेव

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी