विराटनगर, माघ २४ । विराटनगर भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको ६ महिनामा ७३ करोड ३० लाख मूल्य बराबरको चामल आयात भएको छ ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १६ हजार ८३३ टन अर्थात ७३ करोड ३० लाख मूल्य बराबरको चामल आयत भएको भन्सार कार्यालयको तथ्यांकले देखाएको छ ।
गत आर्थिक वर्षको यसै अवधीसम्ममा १ अर्ब ४ करोड ४८ लाख मूल्य बराबरको २५ हजार ९९० टन चामल आयात भएको थियो । यसैगरी अघिल्लो आर्थिक वर्ष २०७४÷२०७५ को पुस मसान्तसम्ममा ८९ करोड ९ लाख मूल्य बराबरको २२ हजार १७२ टन चामल आयात भएको देखिन्छ ।
यस बर्ष धानको पनि आयात परिणाम घटेको भन्सार कार्यालयका सूचना अधिकृत मणिराम पौड्यालले जानकारी दिनुभयो ।
चालु आर्थिक वर्षको छ महिनामा ३१ करोड ८९० लाख मूल्य बराबरको ९५५ टन आयात भएको छ । गत आर्थिक वर्षको यसै अवधीसम्ममा ७४ करोड ७९ लाख मूल्य बराबरको २७ हजार ७९० टन आयात भएको थियो ।
अघिल्लो आर्थिक वर्षको छ महिनामा ६५ करोड ४५ लाख बराबरको २४ हजार ४०५ टन धान आयात भएको थियो ।