काठमाडौं २५ मंसिर ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कालोबजारी नियन्त्रण गर्न सरकार प्रतिबद्ध भएको बताउनु भएको छ । बजार अनुगमन व्यवस्थित गर्न मन्त्रालयले काम गरिरहेको उहाको दाबी छ ।
बजार व्यवस्थापन तथा उपभोक्ता हितका लागि संघ प्रदेश र स्थानीय तहको भूमिकाबारे उपभोक्ता हित संरक्षण मञ्चले आयोजना गरेको अन्तरक्रियामा बोल्दै मन्त्री भट्टले मन्त्रालयले व्यवसायीलाई जिम्मेवार बनाउने गरी काम गरिरहेको बताउनु भएको हो ।
उपभोक्ता हितमा काम गर्न आवश्यक कानुनको सबलीकरण गर्ने, सम्बन्धित विभागको क्षमता अभिवृद्धि गर्ने तथा बजार अवस्थाबारे आफै पनि सुक्ष्म ढंगले सूचना लिन मन्त्रालय लागि परेको मन्त्री भट्टले बताउनु भयो । छलफलमा बोल्दै बाणिज्य सचिव डा. बैकुण्ठ अर्यालले मन्त्रालयले चाडपर्वमा मात्रै हुने बजार अनुगमनको शैली बदल्ने उल्लेख गर्नुभएको छ ।
उत्पादकहरुलाई वस्तुको उत्पादन लेवलबारे थप उत्तरदायी बनाउन थप गृहकार्य थालेको पनि उहाले बताउनु भयो । बजार व्यवस्थापन र उपभोक्ता हित संरक्षण सम्बन्धमा बनेको ऐन तथा संघ र प्रदेशले बनाएको कानूनका अस्पष्टता अन्त्य गर्न मन्त्रालय तयार रहेको उहाको भनाइ छ ।