धान खरिद गर्न खाद्यलाई भ्याईनभ्याईः लडियामा ल्याए सोहि दिन तौल, ट्र्याक्टरको पालो दुई दिनपछि

धान खरिद गर्न खाद्यलाई भ्याईनभ्याईः लडियामा ल्याए सोहि दिन तौल, ट्र्याक्टरको पालो दुई दिनपछि

  • शनिबार, मंसिर १४, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

– काशीराम शर्मा
बाँके, १४ मङ्सिर । सरकारले यस वर्ष समयमै धानको मूल्य निर्धारण गरेपछि नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई धान खरिद गर्न भ्याईनभ्याई भएको छ । धान बिक्री गर्ने किसानको पनि उत्तिकै घुइँचो छ ।
दैनिक धान बिक्रीका लागि आउने किसानले पालो पर्खिनुपर्ने अवस्था आएको छ भने निश्चित कोटा तोकेर खरिद खुला गरेको खाद्यमा किसानले ल्याएको धान व्यवस्थापन गर्न हम्मेहम्मे भएको छ । खाद्यले मोटो र मध्यम किसिमको धान खरिद गरिरहेको छ ।

खाद्यले ३५ हजार क्विन्टल धान खरिद गर्ने कोटा निर्धारण गरेर गत कात्तिक २७ गतेदेखि खरिद शुरु गरेको थियो । हालसम्म १० हजार क्विन्टल धान खरिद गरिएको खाद्यले जनाएको छ । यस वर्ष मोटो धानको रु दुई हजार ५३२÷८० पैसा र मध्यम धानको रु दुई हजार ६७३÷ १६ पैसा प्रतिक्विन्टल तोकिएको छ ।

यस वर्ष तोकिएको धानको मूल्य गत वर्षको भन्दा रु २०० ले बढी हो । धान बिक्रीका लागि खाद्य व्यवस्था तथा व्यापार लिमिटेड पुग्नुभएका किसान तीर्थराम कलवार सरकारले किसानको भावना बुझेर मूल्य निर्धारण गरेकाले आफूले उत्पादन गरेको धान खाद्यमा बिक्रीका लागि ल्याएको बताउनुभयो ।

उहाँसँगै भेटिनुभएका अर्का किसान शालिकराम कोरीले बाह्य व्यापारीको तुलनामा खाद्यले खरिद गर्ने धानको मूल्य किसानको हितमा भएकाले आफू बिक्रीका लागि आएको बताउनुभयो । चारवटा काँटाबाट तौल गरेर रातदिन खट्ने गरे पनि किसानले भने धान बिक्रीका लागि केही समय कुर्नैपर्ने बाध्यता देखिएको छ ।

व्यापारीले भन्दा सरकारले धानको मूल्य बढी निर्धारण गरेपछि धान बिक्री गर्ने किसानको घुइँचो लागेको छ । धान बिक्रीका लागि किसान राति १ः०० बजेदेखि संस्थान अगाडि लाइन लाग्ने गरेका छन् । डुडुवा गाउँपालिका–५ कम्दीका रामसेवक यादवले धान बिक्रीका लागि राति १ः०० बजेदेखि लाइनमा बसेको बताउनुभयो । उहाँले पालो छिटो पाइने आशामा बिहानैदेखि ट्र्याक्टरलाई लाइनमा बसालेको बताउनुभयो । ट्र्याक्टरमा धान ल्याएका किसानले दुई–तीन दिनपछि मात्र पालो पाउने गरेका छन् ।

संस्थानले मूल्य बढी दिएपछि गाउँमा धानको खरिद–बिक्री कम भएको छ । गाउँमा फाटफुटरूपमा खरिद–बिक्री भए पनि किसानले सिधै खाद्यमा ल्याएर धान बिक्री गरेको राप्तीसोनारी गाउँपालिका–६ फत्तेपुरका रामगोपाल चौधरीले बताउनुभयो । उहाँले अघिल्लो वर्षजस्तो यस वर्ष गाउँमा धानको खरिद–बिक्री नभएको बताउनुभयो ।

खाद्य व्यवस्था तथा व्यापार लिमिटेडका प्रमुख भरतराज खनियाले खरिद खुला गरेपछि धान बिक्री गर्ने किसानको चाप बढ्दै गएको बताउनुभयो । उहाँले दैनिक २५ जति ट्र्याक्टर र त्यही अनुपातमा लडियामा धान राखेर किसान आउने गरेका बताउनुभयो । खाद्यले धान खरिदका लागि तोकिएको कोटा पूरा गर्न दुई महिना लाग्ने अनुमान गरेको छ ।

यस वर्ष ३५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको खाद्यले गत वर्ष पहिलो चरणमा २५ हजार र पछि थप १० हजार गरी ३५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य सरकारबाट पाएकामा ३३ हजार क्विन्टल धान खरिद गरेको थियो । यस वर्ष सरकारले बजार मूल्यभन्दा बढी मूल्य दिएकाले खाद्य संस्थानलाई धान खरिद गर्न सहज भएको प्रमुख खनियाले बताउनुभयो ।

उहाँले गत वर्षभन्दा यस वर्ष छिट्टै लक्ष्य पूरा हुने बताउँदै भन्नुभयो, “गत वर्ष माघसम्म खरिद गर्नुपरेको थियो, यस वर्ष पुससम्म पूरा हुने अनुमान छ, गत वर्षभन्दा मूल्य बढेको छ नै यस वर्ष बजार मूल्यभन्दा सरकारले बढी मूल्य निर्धारण गरेको छ ।” दैनिक सरदर छ देखि आठ क्विन्टल धान तौल गर्न सकेको प्रमुख खनियाको भनाइ छ ।

उहाँले चार ठाउँमा तौल गर्ने व्यवस्था मिलाए पनि प्रतिदिन एक ठाउँबाट २५० क्विन्टल मात्र तौल गर्न सकिएको बताउनुभयो । उहाँले तौल गर्ने ठाउँ नहुँदा सर्वसाधारण किसानलाई मर्का परेको पनि स्वीकार गर्नुभयो । मजदूर र तौल गर्ने ठाउँ अभाव भएको उहाँको भनाइ छ ।

एउटा काँटाले दैनिक ४०० क्विन्टल तौल गर्नुपर्ने भए पनि कम तौल भइरहेको बताउँदै उहाँले लडियामा ल्याएका किसानलाई पहिलो प्राथमिकता दिने गरिएको बताउनुभयो । “लडिया तान्ने गोरु र राँगा भोकाउने भएकाले लडियामा ल्याएको धान सकभर सोही दिन तौल गरेर पठाउँछौँ”, प्रमुख खनियाले भन्नुभयो, “ट्र्याक्टरको पालो कम्तीमा दुई दिनपछि आउँछ ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी