देशभक्त जनगणतान्त्रिक मोर्चा ९देजमो० नेपाल स्थापना भएदेखि हालसम्मका मुख्यमुख्य कामहरुलाई कसरी औल्याउनु हुन्छ ?
झण्डै साढे दुई वर्षको कार्यकालमा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको नेतृत्वमा सम्पन्न भएका कार्यक्रमका विषयमा सबिस्तार बताउनु यो सानो अन्तर्वार्तामा संभव देखिँदैन । तथापि, राष्ट्रिय स्वतन्त्रता, जनजीविका तथा जन गणतन्त्रको निम्ति यसले उल्लेखनीयरुपमा चलाएका संघर्षहरुको संक्षिप्त चर्चा गर्नु सान्दर्भिक नै हुनेछ ।
जुनबेला देजमोको गठन भएको थियो, त्यतिबेला नेपाली समाजमा प्रतिक्रियावादको बिगबिगी थियो । जनतामा व्यापक निराशा थियो, पहिलेको क्रान्तिकारी आन्दोलनको ठुलो हिस्सा पलायन भएर पश्चगामी बाटोतिर अग्र्रसर भएको थियो । क्रान्तिकारी आन्दोलन शिथिल भएको थियो । त्यसको नाम निशान नै मेटाइदिने योजनामा सक्रिय थिए, देशी विदेशी प्रतिक्रियावादीहरु । नव प्रतिक्रियावादीहरु झन् यस काममा पूरै शक्तिका साथ लागेका थिए ।
त्यस अवस्थामा पनि हामीले पश्चगमनविरुद्ध आवाज उठायौं, सानातिना जुलुस र कोणसभाहरु गरयौं । निर्वाचनको क्रान्तिकारी उपयोग गरयौं । नव पतिक्रियावादी कित्तामा प्रवेश गरेका पार्टीले तिनै तहका चुनाव जितेपछि बनेका सरकारहरुद्वारा गरिएका राष्ट्रघात, कर बृद्धि, महँगी, तस्करी, भ्रष्टाचार, किशोरीहरुको बलात्कार र हत्याकांड आदिको विरोधमा कहिले कोणसभा, कहिले अन्य भाइचारा संगठनहरुसँग सहकार्य गर्दै रातो मार्च पास, कालो मार्चपास जस्ता संघर्षका रुपहरुलाई प्रयोग गर्दै अघि बढ्यौं ।
०७५ फागुन ७ देखि २१ सम्म सञ्चालित मेचीमहाकाली जनजागरण अभियान र ती सबैको उत्कर्षका रुपमा आयोजित चैत्र २४ गते देजमोको प्रथम राष्ट्रिय सम्मेलनको अवसरमा काठमाडौंमा आयोजित विशाल जन प्रदर्शन र जनसभाको कार्यक्रम यति प्रभावकारी साबित भयो कि यसले नेपालको राजनीतिलाई एउटा नयाँ र अगगामी कोर्सतिर अगाडि बढाउने ऐतिहासिक भूमिका खेल्न सफल भयो ।
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल स्थापना गरिइनुका खास कारणहरु के के हुन् ?
दश वर्षको जनयुद्ध, ०६२÷०६३ को ऐतिहासिक जन आन्दोलन, मधेश आन्दोलन, जनजाति आन्दोलन, महिला र दलित आन्दोलन आदिको परिणामस्वरुप हासिल भएका उपलब्धीहरु समाप्त पारिएर प्रतिक्रान्ति गरिएपछि त्यसले चौतर्फी रुपमा नकारात्मक प्रभाव पार्नु स्वभाविक थियो । यसलाई चिर्दै क्रान्तिकारी आन्दोलनलाई अघि बढाउनु र क्रान्तिका कार्यभारलाई पूरा गर्नु एउटा ऐतिहासिक आवश्यकता बन्न गयो । यसका निमित्त एउटा सशक्त क्रान्तिकारी संयुक्त मोर्चाको अनिवार्यता क्रान्तिकारी शक्तिले महशुस गर्यो । मुलतः यही ऐतिहासिक आवश्यकता पूरा गर्नका निमित्त देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको गठन भएको हो ।
देजमोभित्र रहेका राष्ट्रवादीदेखि क्रान्तिकारी शक्तिहरु परिचालनको विधि र प्रक्रिया कस्तो हुन्छ ?
देजमोसँग पूर्णरुपमा सहमत भएर कामगर्नेहरु यसका आफ्नै संगठनमा सम्मिलित हुन्छन् र उनीहरु जनवादी केन्द्रियताका आधारमा संगठनमा सक्रिय भएर काम गर्न सक्दछन् । आफ्नो संगठनलाई कायम राखेर संगठनले नै देजमोको सदस्यता लिएर काम गर्ने संगठनहरुका हकमा मूलतः जनवादी केन्द्रियता लागु गर्नुका साथै कतिपय विषयमा अलग ढंगले कामलाई अघि बढाउन मिल्ने व्यवस्था पनि गर्न सक्ने प्रावधान छ ।
देजमोले नयाँ जनवादी गणतन्त्र स्थापनाको कार्यक्रमलाई कसरी लिन्छ र ?
नेपालको अर्थ सामाजिक अवस्था अहिले पनि अर्धसामन्ती र अर्ध, नव औपनिवेशिक नै छ । यद्यपि केही क्षेत्रमा पुँजीवादी विकास भए जस्तो देखिन्छ, तर त्यो राष्ट्रिय पुँजीवाद नभएर दलाल र नोकरशाही पुँजीवाद हो । यस अवस्थामा नेपाली समाजको अग्रगामी परिवर्तन नयाँ जनवादी क्रान्तिले मात्र गर्न सक्दछ । त्यसैले नेपाली क्रान्तिको अहिलेको चरण नयाँ जनवादी नै हो । दलाल पुँजीवादको केही विकास भयो भन्दैमा क्रान्तिको आधारभूत चरण नै बदलियो भन्नु गलत हो । त्यसैले देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले नेपालमा संघीय जनगणतन्त्रको स्थापनाका लागि संघर्ष गर्ने नीति अघि सारेको हो ।
आमूल परिवर्तनका सन्दर्भमा घरेलु तथा अन्तर्राष्ट्रिय अन्तरविरोधको पहिचान र परिचालन कसरी गर्न सकिएला ?
विद्यमान नेपाली समाजमा विभिन्न प्रकारका अन्तर्विरोधहरु कायम छन् । तीमध्ये भारतीय विस्तारवादद्वारा संरक्षित नेपालको दलाल, नोकरशाही पुँजीवाद र सामन्तवादसँग नेपाली जनताको अन्तर्विरोध नै आजको नेपाली समाजको प्रधान अन्तर्विरोध हो । त्यसैगरी अन्तर्राष्ट्रिय रुपमा पनि विभिन्न प्रकारका अन्तर्विरोध छन् । तीमध्ये साम्राज्यवाद र उत्पीडित राष्ट्रका बीचको अन्तर्विरोध नै आजको विश्व स्तरको प्रधान अन्तर्विरोध हो । नेपाली क्रान्तिले यी सबै प्रकारका प्रधान अन्तर्विरोधको समाधान गर्नेछ ।
नेपालमा स्थापना हुने जनवादी सत्ताको स्वरुप कस्तो होला र ?
तपाईंले भन्न खोज्नु भएको नयाँ जनवादी सत्ताको स्वरुप कस्तो होला भन्ने हो जस्तो लाग्दछ । नयाँ जनवादी सत्ता कस्तो हुन्छ भन्ने विषयलाई सार्वभौमिक र विशिष्ट दुबै दृष्टिले हेर्नुु पर्दछ । सर्वहारा वर्गको नेतृत्वमा मजदुर, किसान लगायत भूमिहीन किसानदेखि निम्न धनी किसान र मजदुरदेखि राष्ट्रिय पुँजीपति वर्ग सम्मको हितगर्ने व्यवस्था हो यो । यसका साथै यसले सबै उत्पीडित वर्ग, जाति, लिंग, क्षेत्रका जनताका हितमा काम गर्दछ । यो स्थिर व्यवस्था पनि होइन । यो निरन्तर गतिमा हुन्छ । नयाँ जनवादी सत्ताले समाजावादको आधार तयार गर्दछ र वैज्ञानिक समाजवाद हुँदै साम्यवादमा पुग्ने मार्ग प्रशस्त गर्दछ ।
जनवादी सत्ता प्राप्तिका लागि संघर्षको स्वरुप कस्तो खालको हुने आँकलन गर्नु भएको छ रु किन ?
नेपाली समाजको अर्थ सामाजिक अवस्थाको विकास, समाजमा विद्यमान् विभिन्न प्रकारका अन्तर्विरोध, विभिन्न राजनीतिक शक्तिहरुका बीचमा भएको शक्ति सन्तुलन आदि विषयहरुको सही किसिमको मुल्यांकन गरी संघर्षका विविध रुपहरुको प्रयोग गर्नु पर्ने आवश्यकता पर्दछ । ती संघर्ष वैधानिक, अबैधानिक, कानूनी, गैरकानूनी सबै प्रकारका हुन सक्दछन् । आखिरमा सत्ता हस्तान्तरणको प्रक्रियामा बल प्रयोगको भूमिका अनिवार्य हुन्छ ।
अब हुने क्रान्तिको सुनिश्चिितता कुनकुन कुरामा निर्भर रहला ?
कुनै पनि देशमा हुने क्रान्तिको मुख्य कार्यभार त्यहाँ विद्यमान प्रधान अन्तर्विरोधको समाधान गर्नु हो । नेपाली समाजमा विद्यमान प्रधान अन्तर्विरोधको स्थितिबारे माथि उल्लेख गरि सकिएको छ । क्रान्ति सम्पन्न हुनका लागि केही आधारभूत परिस्थिति तयार हुनु पर्दछ । त्यसका निमित्त आत्मगत परिस्थिति र वस्तुगत परिस्थिति तयार हुनु पर्दछ । हाम्रो जस्तो देशमा सामान्यतया वस्तुगत परिस्थिति तयार नै भएको हुन्छ, त्यसै अनुसारको आत्मगत स्थितिको तयारी हुनु पर्दछ । यसका साथै अन्तर्राष्ट्रिय परिस्थिति पनि अनुकुल भएमा क्रान्तिको सफलताको सुनिश्चितता हुन्छ ।
मार्क्सले वर्गीय समाजमा वर्गसंघर्षको संभावना जहिले पनि हुनसक्छ भन्नुभएको छ । नेपालमा तत्काल पनि वर्गसंघर्ष उठान गर्न सकिन्छ कि समयलाई पर्खनु पर्छ ?
समाजमा जब वर्गहरु हुन्छन्, त्यहाँ वर्ग संघर्ष पनि अनिवार्य हुन्छ । कहिले त्यो तीब्र हुन्छ, कहिले मन्द हुन्छ । यो नियम नेपाली समाजमा पनि लागु हुन्छ । वर्ग संघर्ष त सँधै रहिरहन्छ । यसको सर्वोच्च रुप भनेको क्रान्ति हो । त्यसकारण, वर्ग संघर्षकालागि समयलाई पखेर बस्ने भन्ने कुरै हुँदैन ।
मुलबाटोबाट