केराखेतीप्रति किसानको बढ्दो आकर्षण, थोपा सिँचाइ प्रविधिद्वारा सहजता

केराखेतीप्रति किसानको बढ्दो आकर्षण, थोपा सिँचाइ प्रविधिद्वारा सहजता

  • मङ्लबार, अशोज ३०, २०७५
  • मिर्मिरे अनलाइन

  • 15.7K
    SHARES

भीमदत्तनगर, ३० असोज । झण्डै अढाई दशकअघि एक कठ्ठा जमीन भाडामा लिएर केरा खेती शुरु गरेका कञ्चनपुर भीमदत्तनगरपालिका–१० तिल्केनीका पूर्ण साउँद अहिले जिल्लामै सफल केरा उत्पादक किसानमा पर्दछ ।

नगदे बालीका रुपमा २०५२ सालबाट साउँदले केरा खेतीलाई निरन्तरता दिँदै आउनुभएको छ । “सजिलो र आम्दानीको राम्रो स्रोत बनेपछि केरा खेतीलाई नै व्यावसायिक बनाउदै लगेँ”, किसान साउँदले भन्नुभयो, “केरा खेतीबाट नाम र दाम दुबै पाउन सफल भएको छु ।”

एक कठ्ठाबाट केरा खेती थालेको उहाँले हाल १५ बिगाहा जमीनमा व्यावसायिक केरा खेती गरिरहनुभएको छ । “अहिले जमीन लिजमा लिएर पनि केरा खेती बढाउँदै लगेको छु”, साउँदले भन्नुभयो, “केरा खेती गर्ने विभिन्न प्रविधि र तरिकालाई पनि आत्मसात् गर्दा राम्रो परिणाम आएको छ ।”

उहाँले करीब पाँच बिगाहा जमीनमा थोपा सिँचाइ प्रणाली (इजरायली प्रविधि) र दश बिगहामा गरी १५ बिगहा जमीनमा केरा खेती गरिरहनुभएको छ । केरा खेतीबाट आफूले वैदेशिक रोजगारीको भन्दा राम्रो आम्दानी गरेको बताउँदै उहाँले खेती किसानमा ध्यान दिए घर छाड्नु नपर्ने धारणा राख्नुहुन्छ । केरा खेतीको खर्च कटाएर वार्षिक रु १० लाखदेखि १५ लाखसम्म आम्दानी भइरहेको साउँदको भनाइ छ ।

“केरा खेती गर्ने जिल्लाभरका किसान सङ्गठित भएर सहकारीसमेत सञ्चालनमा ल्याएका छौँ”, उहाँले भन्नुभयो, “सहकारीमा जिल्लाभरका ५५० जना केरा खेतीमा आबद्ध किसान छन् ।” कञ्चनपुरमा हाल ४०० हेक्टरमा केरा खेती हुँदै आएको छ ।

इजरायलको थोपा सिँचाइ प्रणालीबाट यहाँको भीमदत्तनगरपालिका, कृष्णपुर र पुनर्वास नगरपालिकामा किसानले केरा खेती शुरु गरेका छन् । त्यसैगरी भीमदत्तनगरपालिका–१० तिल्केनीकै किसान पार्वती साउँद पनि सफल केरा खेती गर्ने किसानमा आउँछिन् । २०५४ सालबाट केरा खेती थालेकी उनी धान, गहुँ खेती छाडेर केरा खेतीमा लागेको बताउँछन् ।

“धान, गहुँभन्दा त केरा खेतीमा बढी मुनाफा रहेछ”, उहाँले भन्नुभयो, “केरा बिक्रीबाटै घर खर्चका साथै छोरा÷छोरीका लागि अध्ययन खर्च जुटाउँदै छु ।” उहाँले केरा खेतीबाट भएको आम्दानीले छोरीलाई वैदेशिक अध्ययनका लागि डेनमार्क पठाएको पनि उहाँले स्मरण गर्नुभयो ।

केरा खेतीमा उहाँलाई श्रीमान्ले समेत सघाएका छन् । “दुवै जना खेतीमै लागेर खर्च चलाएका छौँ”, उहाँले भन्नुभयो, “मेहनतअनुसारको फल पाएकै छौँ ।” कृषिलगायतका सम्बन्धीत सरकारी निकायबाट विभिन्न उपकरणसँगै अनुदानसमेत मिलेकाले खेतीमा थप सहजता थपिएको पार्वती साउँदको भनाई छ ।

जिल्लामा केराको उत्पादन बढिरहेको छ तर बजारको समस्या यथावत रहेको गुनासो किसानको छ ।

थोपा सिँचाइ प्रविधिले सहजता ल्याइयो

व्यावसायिक केरा खेती होस् वा तरकारी खेती, थोपा सिँचाइ प्रणालीले कृषकलाई व्यवसायमा सहज बनाएको छ ।

थोपा सिँचाइ प्रविधि अर्थात् इजरायली प्रविधिले व्यवसायमा सहजता ल्याएको केरा कृषक पार्वती साउँद बताउँछिन् । “यो प्रविधिले समय र लगानी दुबैको बचत गरेको छ”, उहाँले भन्नुभयो, “केरा खेतीमा आबद्ध किसान उक्त प्रविधिबाट थप हौसिएका छन् ।”

कञ्चनपुरमा थोपा सिँचाइ प्रणाली शुरु भएको एक वर्ष मात्रै भएको छ । नेपालमा २०५५ सालदेखि थोपा सिँचाइ प्रविधि शुरु भएको थियो । उक्त प्रणालीमा प्लाष्टिक पाइपबाट बिरुवाको जरामा थोपाथोपा गरेर पानीको आवश्यकता पूरा गरिन्छ । यो प्रविधिले सतह सिँचाइको तुलनामा ८० प्रतिशत पानी बचत गर्छ । यसले थोरै पानीबाट धेरै सिँचाइ गर्न सकिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी