गर्भवती महिला बच्चा जन्माउन साईकल चडेर अस्पताल पुगिन् भनेको सुन्दा अचम्म लाग्न सक्छ, त्यो पनि मन्त्री । तर न्यूजिल्यान्डकी महिला मन्त्री जुली आन गेन्टर पहिलो बच्चा जन्माउने क्रममा प्रसूतिका लागि आफैंले साइकल चलाएर अस्पताल भर्ना भएकी छन् ।
साइकलप्रेमी ग्रीन पार्टीकी सांसद गेन्टरले साइकलबाट घरदेखि एक किलोमिटर टाढाको अकल्यान्ड सिटी अस्पतालसम्म यात्रा गरी प्रसूतिका लागि भर्ना भएकी हुन् ।
साइकलसहितको तस्वीर पोष्ट गर्दै सामाजिक सञ्जालमा उनले लखेकी छन्, ‘मेरा पति र म साइकलबाटै अस्पताल आएका थियौं, तर मलाई कुनै अप्ठ्यारो भएन,’ । गेन्टर अहिले ४२ हप्ताकी गर्भवती छिन् । उनले महिला मन्त्रीको कार्यभार मात्र नभई यातायात मन्त्रालयको समेत कार्यभार सम्हाली रहेकी छन् । उनी दिगो यात्राका अभियन्ता पनि हुन् ।
यो घटना गत जुनमा मात्र न्यूजील्यान्डकी प्रधानमन्त्री जासिन्डा आर्डेन प्रसूति बिदापछि नियमित काममा फर्केको केही हप्तापछि नै भएको छ । गत वर्ष निर्वा्चित आर्डेन पदमै रहँदा बच्चा जन्माउने विश्वमै दोस्रो वरिष्ठ कार्यकारी भएकी थिइन् । विगतमा सन् १९९० मा पाकिस्तानी पूर्व प्रधानमन्त्री बेनजिर भुट्टोले पदमै रहँदा बच्चा जन्माएकी थिइन् ।
