काठमाडौं, असार १९ ।
काठमाडौँ महानगरपालिकाका विभिन्न सात सार्वजनिक स्थानमा नागरिकले अब निशुल्क इन्टरनेटको सेवा लिन पाउने भएका छन् ।
करीब तीन महिना अघि महानगरपालिका र वल्र्ड लिङ्क कम्युनिकेशन प्रालिबीच भएको सम्झौतानुसार केही दिनअघि पशुपतिनाथ क्षेत्र, बालाजु उद्यान, शंखपार्क, स्वयम्भू, बौद्ध र हनुमानढोका दरबार क्षेत्रमा निःशुल्क इन्टरनेट जडान गरिएको हो ।
सार्वजनिक स्थानमा स्वदेशी तथा विदेशी नागरिकको चाप बढी हुने भएकाले उनीहरुलाई सुविधा दिनका लागि कामपाले यस किसिमको व्यवस्था गरेको जनाएको छ ।
हनुमान ढोका र बालाजुमा नागरिक बढी आउने जाने भएकाले ती स्थानमा यसअघि जडान गरिएका भन्दा धरै एमबीपीएस क्षमताको इण्टरनेट राख्नुपर्ने कामपाले जाकारी दिएको छ ।
अहिले जडान गरिएका सबै स्थानमा १० एमबीपीएस क्षमताको इन्टरनेट राखिएको छ । सबै स्थानमा गरी दैनिक २०० नागरिकले मात्र इण्टरनेट सुविधा प्रयोग गर्ने अनुमान महानगरपालिकाले गरेको थियो ।
महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पहिलो चरणमा सात ठाउँमा र पछि नागरिकको आवश्यकता हेरी अरु ठाउँमा पनि राखिने बताउनुभयो ।यसअघि महानगरपालिकाले रत्नपार्कबाट यस्तो सुविधा प्रदान गरिसकेको छ ।