अजमेर महिला इन्जिनियरिङ कलेजमा अध्ययनरत चार जना छात्राले नयाँ हेल्मेटको आविश्कार गरेका छन् ।
राजस्थानमा रहेको अजमेरकी महिला इन्जिनियरिङ कलेजका विद्यार्थीहरु प्रियंका चौहान, प्रिया सुनारिया, नेहा शर्मा र प्रिया मित्तलले मोटरसाइकल र स्कुटर चालकलाई लक्षित गरी नयाँ हेलमेटको आविश्कार गरेका हुन् ।
उक्त हेल्मेट नलगाएसम्म दुई पांग्रे गाडी स्टार्ट नै हुँदैन । त्यति मात्र हैन मदिरा सेवन गरेको व्यक्तिले यदि त्यो हेल्मेट लगायो भने पनि गाडी स्टार्ट हुँदैन ।
यदि यो हेलमेटको प्रयोग गर्न शुरु गरियो भने सडक दुर्घटनामा कमी आउने उनीहरुको भनाई छ ।
यस हेलमेटमा एक विशेष प्रकारको सेन्सर लगाइएको छ जुन वाहनमा लगाइएको अर्को सेन्सरसँग कनेक्ट हुन्छ । हेलमेट लगाउनासाथ त्यो सेन्सर एक्टिभ हुन्छ । त्यसपछि मात्र आफ्नो वाहन स्टार्ट गर्न सकिन्छ ।
यस्तै मदिरा सेवन गरेकाहरुले लगाएमा पनि वाहन स्टार्ट हुँदैन । हेलमेटमा आरएम मोड्युलर सेन्सर जडान गरिएको छ जसबाट चालकले मदिरा सेवन गरे नगरेको सजिलै थाहा हुन्छ । यदि व्यक्तिले मदिरा सेवन गरेको छ भने हेलमेटमा जडान गरिएको मोड्युलरले पत्ता लगाउँछ र वाहन स्टार्ट हुँदैन ।
ती छात्राहरुले आफ्नो यो आविश्कारको डेमो अजमेर यातायात प्रहरी उपप्रमुख प्रिती चौधरीको अगाडि प्रदर्शन गरेका थिए ।
यो अवलोकन गरेपछि चौधरीले ति छात्राहरुलाई प्रशंसा पत्र दिएर सम्मान गर्दै उनले सरकारका उच्च अधिकारीहरुसँग यसको उपयोगबारे कुराकानी गर्ने आश्वासन समेत दिएको भारतीय सन्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
कुनै ठूलो कम्पनीमार्फत् यस प्रकारको हेलमेट उत्पादन गर्नका लागि म उच्च अधिकारीहरुसँग कुराकानी गर्ने छु उनले भनेकी छिन् ताकि यो बजारमा पुगोस् र सडक दुर्घटनामा पनि कमी आओस् ।