एजेन्सी ।
सामाजिक सञ्जाल फेसबुकका थुप्रै फाईदा पनि छन् र बेफाईदा पनि । यसको प्रयोग कसरी गर्ने भन्नेमा भर पर्छ । यतिबेला भारतभर भैसि र फेसबुकको चर्चा चुलिएको छ ।
त्यसको कारण भने अनौठो छ ।
केही दिनअघि भारतको उत्तरप्रदेशमा एक पूर्वमन्त्रीको भैँसी हराएको थियो । प्रहरीमा रिपोर्ट आएपछि धुमधाम खोजी भयो । दिन–रात प्रहरीले खोजेपछि केही दिनमै भैँसी भेटियो ।
तर, भैँसी नै हराएको र भेटिएको अर्को घटना बेग्लै छ । खबर भारतकै हो । एक व्यक्तिले आफ्नो हराएको भैँसी फेसबुकबाट पत्ता लगाएका छन् ।
पछिल्लो हप्ता भारतमा सामाजिक सञ्जालमा एउटा पोस्ट भाइरल नै भयो । हराएको भैँसी फेसबुकको माध्यमबाट भेटेको भन्दै ती व्यक्तिले भैँसीसहित खुसी मुद्रामा खिचेको फोटो पोस्ट गरेपछि भाइरल भएको हो ।
बैंगलोरदेखि २५ किलोमिटर दूरीमा रहेको होस्कोटेका नारायण स्वामीको भैँसी साँझको समयमा हराएको थियो । भैँसी हराएपछि उनले नजिकका गाउँसम्म पुगेर खोजतलास गरे । तर, भेटिएन । किनभने भैँसी चर्दै–चर्दै गाउँबाट १० किलोमिटर पर कोद्रहल्ली गाउँमा पुगिसकेको रहेछ ।
हराएको दुई दिनपछि नारायण स्वामीले फेसबुकमा आफ्नो भैँसीको फोटो देखे । कोद्रहल्लीका मोहन नामका व्यक्तिले फोटोसहित ‘यो भैँसी कसको हो ?’ लेखेर फेसबुकमा पोस्ट गरेका थिए । नारायण तत्काल फेसबुकमार्फत नै मोहनको सम्पर्कमा गए । हराएको दुई दिनपछि कोद्रहल्ली गएर नारायणले आफ्नो भैँसी फिर्ता ल्याए र फोटो खिचेर फेरि फेसबुकमा हाले । त्यसपछि फेसबुकमार्फत भैँसी भेटिएको चर्चा भारतभर फैलियो ।