एजेन्सी ।
अमेरिकाको हवाईस्थित होनोलुलुका एक ३० वर्षीय युवक डारेन यंगलाई स्थान्ीय एक अदालतले आफ्नी प्रेमिकाको प्रशंसामा १ सय ४४ शब्द लेख्न आदेश दिएको छ ।
गत फेब्रुअरीमा अदालतले आफ्नी प्रेमिकालाई कुनै पनि साधनले सम्पर्कको प्रयास नगर्न आदेश दिएको थियो । डारेनले यसलाई गम्भीरतापूर्वक लिएनन् र दुई महिना पनि नबित्दै एकदिन तीन घन्टाको समयभित्र नैै उनले १ सय ४४ पटक फोन कल तथा मेसेज पठाए ।
आफूलाई फोन र मेसेज गरेर दिक्क पारेपछि डारेनकी पूर्व प्रेमिकाले डारेनविरुद्ध मुद्दा हालिन्, अदालतको अवहेलनामा । अदालतको आदेशको गम्भीर उल्लंघन गर्दै पूर्व प्रेमिकालाई पटक–पटक सम्पर्क गर्ने प्रयास गरेको मुद्दा परेपछि अदालतले पनि डारेनलाई सबक सिकाउने निधो गर्यो । अदालतको अवहेलनामा डारेनलाई १५७ दिनको जेल तथा २४ सय डलर जरिवाना तिराउने सजाय सुनाइयो ।
न्यायाधीशको रिस यत्तिमै शान्त भएन । पूर्व प्रेमिकाको प्रशंसामा एक सय ४४ पटक केही शब्द लेख्न डारेनलाई आदेश दिइयो । अझ रोचक त के भने त्यस्तो प्रशंसा हरेक पटक अलग–अलग होस् ।